चितवन– चितवनको नारायणगढ– मुग्लिन सडकखण्डमा पहिरोले वितण्डा मच्चाएको छ । पहिरोमा परेर दुईवटा यात्रु बस पुरिएको वा बगेको हो भन्ने खोजीकार्य जारी छ । बसमा रहेका केही यात्रुहरू बेपत्ता रहेको असार २८ गते विहान प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको लेदोसहितको पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसेर बगाई बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान गरिएको घटनास्थलमा पुग्नु भएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूली नदिमा खसेका थिए । उहाँले भन्नुभयो ‘काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।’
गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेको प्रारम्भिक जानकारी आएको प्रजिअ यादवले जानकारी दिनु भयो । उहाँका अनुसार आफूहरू घटनास्थलमा रहेको तर पानी परिरहेका कारण उद्धारको काममा बाधा परेको छ । सक्दो उद्धार कार्यमा जोड दिइएको छ ।
उद्धार टोलीले पहिरो पन्छाउन सुरु गरिएको प्रत्यक्षदर्शीले बताए ।
तर जिल्ला प्रहरी कार्यालय चितवनले यात्रुको संख्या र बेपत्ता कति छन् भन्ने खुल्न नसकेको बताएको छ ।
सो स्थानमा उद्धारका लागि ७५ जनाको प्रहरी टोली खटीई खोजतलास भइरहेकोजिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका– २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको आशंका प्रहरीको छ ।
प्रकाशित मिति २०८१ असार २८, शुक्रबार ०७:०५ गते