१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार, खरो संवोधन

१८ महिनापछि ढल्यो प्रचण्ड नेतृत्वको सरकार, खरो संवोधन

एजेन्सी

@antaranganews

२०८१ असार २९ गते शुक्रबार ०७:४८

पुष्पकमल दाहाल प्रचण्ड निवर्तमान प्रधानमन्त्री भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाड्नु भएको छ ।
उहाँले प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिलाई भेटेपछि बालुवाटार छाड्नु भएको हो ।

प्रचण्डको १ घण्टा २२ मिनेट लामो भाषण, विश्वासको मत माग्दै प्रचण्डद्वारा कांग्रेस– एमालेमा नैतिकताको खोजी

काठमाडौँ– अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार असार २८ गते ढलेको हो ।
असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नु भएको थियो । उहाँले एकै कार्यकालमा आज पाँचौँ पटक विश्वासको मत लिएर नयाँ इतिहास समेत रच्नु भएको छ ।
आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मग्दै गर्दा संसदमा कुल २५८ सांसदको उपस्थिति रहेकामा पक्षमा ६३ मतमात्रै प¥यो । यस्तै विपक्षमा १९४ मत र एक सांसद तटस्थ रहन पुगे ।
यसअघि चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि अब प्रतिपक्षकोे भूमिका हुने भएको छ ।

प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
उहाँले प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गर्न सफल हुनु भएको थियो । त्यो बेलामा दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए । त्यसको झन्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनु भएको थियो ।
त्यसबेला उहाँलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको मत आजजस्तै तटस्थ रहेको थियो ।
यसैगरी, २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत लिनु भएको हो । त्यसबेला प्रतिनिधिसभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गरे भने एक मत तटस्थमा पर्यो ।
त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबिच चौथोपटक विश्वासको मत लिनु भएको हो । त्यसबेला उहाँको पक्षमा एक सय ५७ सांसदले मत दिए भने एकजना सांसदले तटस्थता मै रमाएका थिए ।
संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्रीले आज संसदमा विश्वसको मतको माग गर्नु भएको हो । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

प्रचण्डको १ घण्टा २२ मिनेट लामो भाषण, विश्वासको मत माग्दै प्रचण्डद्वारा कांग्रेस– एमालेमा नैतिकताको खोजीविश्वासको मत माग्दै प्रचण्डद्वारा कांग्रेस– एमालेमा नैतिकताको खोजी :
प्रचण्डले विश्वासको मत माग्ने क्रममा संसदमा १ घण्टा २२ मिनेट लामो र खरो संवोधन ठोक्नु भयो । सो क्रममा उहाँले कांग्रेस– एमालेमा नैतिकताको खोजी समेत गर्नु भएको थियो ।
प्रचण्डको आक्रोश र चेतावनीयुक्त सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नौ एक घण्टा २० मिनेट लामो सम्बोधनको क्रममा देशका माफिया शक्ति एमाले र कांग्रेसलाई मिलाउन सफल भएको दावी गर्नु भयो । उहाँले भन्नभयो, ‘हिजो कानुनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो, भुटानी शरणार्थीको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठुलै समूह डरायो । बाँसबारी देखि बालमन्दिर सम्मका जग्गा खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थाल्यो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । तपाईँहरूलाई अनौठो लाग्ला त्यो समूहले आफ्नो शक्ति देखायो ।’ राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डले आग्रह गर्नु भयो ।
लुकेर राष्ट्रिय सहमति हुँदैन :
प्रचण्डले दुई दलबिच लुकेर भएको सहमति राष्ट्रिय सहमति नहुने दावी गर्दै भन्नुभयो, ‘दुई दल आफैँ मिलेको हैन, तपाईंहरूलाई कसैले मिलाएको हो । किन मिलाएको हो, घाम जतिकै छर्लङ्ग छ । सिधै कांग्रेस एमाले मिल्न लागेको भनेर राष्ट्रिय सहमतिको झुटको बर्को ओढी राख्नुभएको छ । आफ्नो पङ्क्ति र जनतालाई गुमराह गर्ने कोसिस भइरहेको छ । राष्ट्रिय सहमति लुकेर हुँदैन । राष्ट्रिय सहमति सदनमा भएका सबै दलहरूलाई राखेर बिचार विमर्श गरेर मात्र हुन सक्छ ।’
उहाँले कांग्रेस एमालेबिच असार १७ गते राती सहमति भएर हस्ताक्षर भए पनि १८ गते एमाले अध्यक्ष केपी ओलीले सहमति भएकै छैन भनेर झुट बोलेको स्मरण गर्नुभयो । त्यसबारे आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सोद्धा देउवाले म झुट बोल्दिन भन्दै सहमति भएको बताउनु भएको उल्लेख गर्दै ओलीमा ढाँट छलको सीमा नभएको बताउनुभयो ।
पदमुक्त भएसँगै बालुवाटार छाडेर खुमलटारमा प्रचण्ड :
यसैबीच, पुष्पकमल दाहाल प्रचण्ड निवर्तमान प्रधानमन्त्री भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाड्नु भएको छ ।
उहाँले प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिलाई भेटेपछि बालुवाटार छाड्नु भएको हो ।

प्रकाशित मिति २०८१ असार २८, शुक्रबार १९:४८ गते
हजुरको प्रतिक्रिया