त्रिशुलीमा बेपत्ता बसको पर्दा र बच्चाको कपडा भेटियो, बस भेटिएनन्

त्रिशुलीमा बेपत्ता बसको पर्दा र बच्चाको कपडा भेटियो, बस भेटिएनन्

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार २९ गते शुक्रबार ०८:५२

बेपत्ता यात्रु तथा बसको खोजीमा १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना परिचालन भएको चितवन प्रशासनले जनाएको छ ।

वेपत्ता बसका खोजी कार्य अब भोलि असार २९ गते विहानबाट सुरु हुने भएको छ ।

नारायणगढ(चितवन)– नारायणगढ– मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका– २९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । तर उद्धारको क्रममा बसको पर्दा र बच्चाको कपडा असार २९ गते साँझ भेटिएको छ ।
गोताखोरहरूको टोलीले बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हुक लगाएर खोज्ने क्रममा ती समग्री फेला गरेको हो ।
उक्त पर्दा वीरगञ्जबाट काठमाडौ आउँदै गरेको गाडीको भएको बसका मालिकले बताएका हुन् । बेपत्ता यात्रु तथा बसको खोजीमा १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना परिचालन भएको चितवन प्रशासनले जनाएको छ ।
आज बिहान करिब ३ बजे लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई नारायणगढ– मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका– २९ सिमलतालमा बगाएको थियो ।
तीन जना यात्रु पौडी खेलेर किनारामा निस्किएका छन् । उनीहरूले नै प्रहरीलाई दुर्घटनाको खबर गरेका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।
त्रिशुलीमा खसेका बस चुम्बकले खोज्दा पनि फेला परेनन् ः
पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता लाग्न नसकेको हो ।
नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलले बताउनु भयो । उहाँको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ । उहाँका अनुसार बगाएर तल पु¥याएको हुनसक्ने आशंकमा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिए पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य भइरहेको छ ।’
उहाँले थप भन्नुभयो, ‘बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने आशंका पनि छ तर अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था छैन ।’
चुम्बकद्वारा खोजी कार्य सुरु ः
त्रिशुली नदीमा पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था नभएको हुँदा चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीको भनाइ छ । साथै हुक लगाएर पनि खोजी गरिएको छ । सशस्त्र प्रहरी लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको छ ।
‘म त पौडिएर बाहिर आएँ, छोरा, छोरी र नातिनातिना हराए’
काठमाडौंमा नातिनातिनाको उपचार गरेर छोरीसहित बसमा फर्किंदै हुनुहुँदो रहेछ । उहाँले २ वर्षीय नातिलाई आफ्नै काखमै थिए, म र छोरी एउटा सिटमा र १० वर्षका छोरा र नातिनी अर्को सिटमा थिए ।
मुग्लिन कटेपछि पानी पर्न सुरु भएको हो । उहाँका अनुसार धेरै जसो यात्रु निदाइरहेका थिए, केही बसमा देखाएको चलचित्र हेरिरहेका थिए । विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरिएकाले निकै लामो जाम भइसकेको थियो । त्यसैले बसको गति सुस्त सुस्त थियो ।
०००१ ख २४९५ नम्बरको गणपति डिलक्स पनि त्यही जाममा थियो ।
गौर जाँदै गरेको गणपति डिलक्स बसका २७ यात्रुहरूको नाम ः
यसैबीच, गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ ।
काठमाडौंको नयाँ बसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बस किशोर कुमार चौधरीले हाँकेको काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारले बताउनु भयो । उहाँका अनुसार बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना र दुई जना बीच बाटोबाट चढेका समेत ३१ जना थिए ।
बसको चलानीमा यात्रुहरुको पूरा विवरण अर्थात नाम र ठेगाना लेखिएको छैन ।
जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ । जोरपाटीबाट चढेका यात्रुहरुको नाम पनि उल्लेख छैन । चलानीमा नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम मात्र पूरा लेखेको देखिन्छ ।
यसैगरी नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ ।
नन्दुको नामबाट ५ जनाको सिट बुक भएको देखिन्छ । यसैगरी शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ ।
गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँका अनुसार यद्यपि यात्रुहरूको एकिन विवरण भने थाहा हुन सकेको छैन ।
काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ ।
गणपती डिलक्स बसमा आएका तीन जनाले हामफालेर आफ्नो ज्यान जोगाएका छन् । उनीहरूमा रौतहटको वृन्दावन नगरपालिकाको सिसवा धमौराका जोगिश्वर यादव र देवाही गोनाहीका दुई जना छन् । उनीहरूलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ उपचारका लागि नारायणगढ पुर्याइएको छ । यादवले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताउनु भयो । उहाँका अनुसार अन्य दुई जनाले पनि त्यसैगरी ज्यान जोगाउन सफल भएका छन् ।
उहाँले भन्नुभयो, ‘मसँगै क्याबिनमा चार जना पनि थियौं ।’ आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको उहाँको भनाइ छ । यादवले भन्नुभयो, ‘सामानको के कुरा ज्यान जोगिनु ठूलो कुरा हो’ भन्दै मन बुझाउनु भएको भिडियो क्रिप हामीलाई प्राप्त भएको छ ।
वेपत्ता बसका खोजी कार्य अब भोलि असार २९ गते विहानबाट सुरु हुने भएको छ ।

प्रकाशित मिति २०८१ असार २८, शुक्रबार २०:५२ गते
हजुरको प्रतिक्रिया