त्रिशूलीमा बेपत्ता बस र यात्रुहरूको वाटर ड्रोन मार्फत खोजी जारी

त्रिशूलीमा बेपत्ता बस र यात्रुहरूको वाटर ड्रोन मार्फत खोजी जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ३० गते शनिवार ११:३१

गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । दुवै बसमा सवार यात्रुहरूमध्ये कम्तीमा ५५ जनाको अवस्था अज्ञात छ ।

पीडित परिवारजनले खोजी कार्यमा तिब्रता दिन आग्रह गरेका छन् । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।

नारयाणगढ– मुग्लिङ– नारयणगढ सडक खण्डको भरतपुर महानगरपालिका– २९, सिमलतालमा पहिरोका कारण यात्रुसहित हिजो विहानदेखि त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आज २९ गते विहानबाट पुनः सुरु भएको छ । हिजो साँझ स्थगित भएको खोजीकार्य आज बिहान ८ बजेबाट पुनः सुरु भएको चितवन प्रशासन कार्यालयले बताएको छ ।
सम्भावित सबै स्थानमा खोजी गरिने तयारी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँका अनुसार सक्दो रुपमा सबै सामर्थ्य र विधि लगाएर खोजी गरिने तयारी छ । उहाँले भन्नुभयो, ‘त्रिशुली नदीमा धमिलो पानी आउनु, उच्च वहाबका कारण समस्या भइरहेको छ ।
ती दुई बस र यात्रु खोज्न हिजो सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो । आज पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको छ ।
¥याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पु¥याउने सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताउनु भएको छ । उहाँका अनुसार हराएका बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोर सहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौजको परिचालन गरिएको छ । साथमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित छन् ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस सिमलतालमा पहिरोसँगै खसेर बेपत्ता भएका थिए । पीडित परिवारजनले खोजी कार्यमा तिब्रता दिन आग्रह गरेका छन् ।
काठमाडौंबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौंतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले बताउनु भयो । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।
गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए । दुवै बसमा सवार यात्रुहरूमध्ये कम्तीमा ५५ जनाको अवस्था अज्ञात छ ।

प्रकाशित मिति २०८१ असार २९, शनिबार ११:३१ गते
हजुरको प्रतिक्रिया