सुन्दरबजार (लमजुङ)– लमजुङमा गरीबीसँग जुध्न नसक्दा एक महिलाले आत्महत्याको बाटो रोजेको खुलासा भएको छ । सुन्दरबजार नगरपालिका– ६, खत्रीठाँटी स्थित अप्रेमी टोल प्रहरीका अनुसार कुडुलेकी करिब ४२ (प्रहरीका अनुसार ३६) वर्षीया चार छोरीकी आमा अप्सरा विकले आफ्नो घर नजिकैको धायराको रुखमा झुण्डिएर असार २९ गते आत्महत्या गरेकी हुन् ।
विहानदेखि हराएकी उनलाई दिउँसो करिब ४ बजेतिर घर नजिकै प्रहरीका अनुसार पाँच सय मिटरको दुरीमा रहेको रुखमा झुण्डिएको अवस्थामा गाउँलेहरुले फेला पारे पछि प्रहरीलाई खबर गरिएको थियो । उनको शव उठाइसकेपछि यो प्रतिनिधि उनको घरमा पुगेको थियो ।
अन्तरङ्गलाई प्राप्त जानकारी अनुसार चार छोरीकी आमा अप्सराका श्रीमान् रुपबहादुर (प्रहरीका अनुसार गोथे) विकको मानसिक सन्तुलन खल्बलिएर मासिक १०– १२ हजार रुपैयाँको औषधि खानु पर्ने स्थिति उत्पन्न भएको रहेछ । चार छोरीमध्ये जेठीले १२ पुरा गरेकी, माहिली १२ पढ्दै गरेकी, साहिली कक्षा– ७ मा र कान्छी छोरी दुई वर्र्षीय भएकी हुँदा स्कूल जाने बेला हुँदै गरेकी रहिछन् ।
अप्सराको सानो घर भएता पनि आफ्नो परीवारका लागि खान पुग्ने गरी उब्जनी हुने जग्गा जमिन नभएको, भएको जग्गाबाट हुने उत्पादनले छ महिना पनि राम्रोसँग परिवारलाई खान नपुग्ने स्थिति रहेछ । आफू स्वस्थ्य भएको बेलामा रुपबहादुरले आरनको काम(फलामका भाडा बनाउने) गरी श्रीमती छोरीहरुलाई पाल्ने र छोरीलाई पढाउने काम गरेका रहेछन् । करिब दुई वर्ष अघि विरामी परेका उनलाई करिब छ महिना सुधार केन्द्रमा समेत राखेर उपचार गर्दा पनि खासै उपलब्धि भएको नपाएपछि श्रीमानलाई घरमै ल्याएर राख्ने काम भएको रहेछ ।
श्रीमान्लाई कुनबेलामा रोगले असर गर्छ भन्ने एकिन नहुने, असर गरेको बेलामा श्रीमान्को होस नै हराउने र उनले अघि परेका कसैलाई पनि नचिन्ने र जे पायो त्यसैले आक्रमण गर्ने गरेको उनका छिमेकीहरू बताउँछन् ।
‘सास छउञ्जेल आश’ भनेझैं यस्तो अवस्थाका श्रीमान्लाई उपचार नगरी टुलुटुलु हेरेर बस्न सक्ने अवस्था अप्सराको थिएन । उनले न त छोरीहरूलाई स्कूल जानबाट रोक्न सक्ने अवस्था देखिन्, न त उनीहरुलाई भोकै राख्न सक्ने आँट थियो । कमाउन आफै जाउँ भने पनि श्रीमान्को स्वाहार कस्ले गर्ने ? जस्ता समस्याले जकडिदै आएकी उनले अन्ततः गरीबीको त्यस्तो पीडा झेल्न नसकेपछि आत्महत्याको बाटो रोजेको उनका छिमेकीहरुले बताएका छन् ।
लमजुङमा गरीबीकै पीडा सहन गर्न नसकी आत्महत्याको बाटो रोज्ने अप्सरा सम्भवतः पहिलो महिला हुन् ।
प्रहरीले मृतक अप्सराको शव जिल्ला सदरमुकाम स्थित लमजुङ अस्पतालमा ल्याएर पोष्टमार्टम सहितको आवश्यक कार्य पुरा गरी परिवारलाई असार ३० गते बुझाई सकेको जनाएको छ ।
प्रकाशित मिति २०८१ असार ३०, आईतवार २२:३२ गते