सुन्दरबजार(लमजुङ)– अप्सरा विकको काजकिरिया खर्चका लागि जुट्न थाले सहयोगी हातहरू जुट्न थालेका छन् । सो प्रयोजनका लागि सुन्दरबजार नगरपालिका– ९ फेदीकुना टोल निवासी हाल कतारमा कार्यरत वरिष्ठ समाजसेवी कर्ण तामाङले १५ हजार रुपैयाँ सहयोग साउन ३ गते प्रदान गर्नु भएको छ ।
सुन्दरबजार चेम्बर अफ कमर्सको समन्वयमा उक्त खर्च संकलन भएको हो । सुन्दरबजार नगरपालिका– ६ खत्रीठाँटी बस्ने ३६ वर्षीया चार छोरीकी आमा अप्सरा बिकको काजकिरिया गर्न खर्चको अभाव भन्ने अन्तरङ्ग न्यूज डटकममा समाचार आएको रहेछ । अप्सराको किरियाकर्मका लागि सुन्दरबजार चेम्बर अफ कमर्शले पनि सहयोग गर्ने उद्देश्यले ‘आर्थिक संकलन अभियान’ शुरु गरेको समेत जानकारी पाएको हुँदा सो कार्यका लागि आफूले सहयोग गरेको सुन्दरबजार नगरपालिका– ९ फेदीकुना टोल निवासी हाल कतारमा कार्यरत वरिष्ठ समाजसेवी कर्ण तामाङले फोनबाट बताउनु भएको छ ।
उहाँका अनुसार आफ्ना बुबा स्वर्गीय लालबहादुर तामाङ समेत समाजसेवाका कार्यमा हुरुक्क हुने गरेको सानैदेखि देख्दै आएको हुँदा बुबा र दाजु समाजसेवी स्वर्गीय भिमबहादुर तमाङको स्मृतिमा आफू र आफ्नी सहधर्मिणी सोफी देवकोटाबाट सो रकम प्रदान गरिएको हो ।
हाल वैदेशिक रोजगारीको क्रममा कतारमा रहनु भएका कर्ण तामाङले आफ्नी ८४ बर्षीय आमा पानमति तामाङ र दिदी बिष्णुमाया तामाङमार्फत सो रकम चेम्बरका अध्यक्ष बिष्णुकुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच आज हस्तान्तरण गर्नु भएको हो ।
स्मरणीय छ, वरिष्ठ समाजसेवी स्व. लालबहादुर तमाङ र आमा पानमति तमाङका परोपकारी मनका धनी कान्छा छोरा कर्ण तामाङले कोरानाकालको लकडाउन अवधिमा पनि सुन्दरबजार नगरपालिका– ६ र ९ का विपन्न ज्यालादारी र खाना धौ धौ परेका ७१ परिवारलाई एक लाख ३३ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्नु भएको थियोे ।
यसैगरी, उहाँले सुन्दरबजार नगरपालिका– ७ का सोमबहदुर गुरुङलाई ब्रेन ट्युमरको शल्यक्रियाका लागि २५ हजार रुपैयाँ प्रदान गर्नुका साथै सुन्दरबजार नगरपालिका– ६ निवासी आइतिमाया तमाङको क्यान्सर उपचारका लागि २५ हजार रुपैयाँ सहयोग गर्नुका साथै सुन्दरबजार नगरपालिका– ७ तार्कुटार निवासी बिमला कुमालको उपचारको लागि पनि १५ हजार ५५ रुपैया सहयोग गर्नु भएको थियोे ।
आफ्नो गाउँ क्षेत्रमा उहाँले विभिन्न समयमा शिक्षा स्वास्थ क्षेत्रमा पनि व्यक्तिगत रुपमा सहयोग गर्नु भएको छ । यसरी समाजसेवा गर्दा आफूलाई आत्म सन्तुष्टि प्राप्त हुने बताउँदै कठिन अवस्थामा सहयोग गर्नु नै मानवीय धर्म भएको उहाँले फोनबाट बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘यस्तै मानवीय सेवा कार्यमा जुट्नका लागि अन्य मनकारी महानुभवलाई समेत अनुरोध गर्नु भएको छ ।’
सुन्दरबजार चेम्बरले शुरु गरेको यसकार्यका लागि सहयोग गर्नु हुने समाजसेवी कर्ण तामाङ पहिलो व्यक्ति भएको जानकारी दिदै चेम्बरका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले उहाँलाई विशेष धन्यवाद ज्ञापन गर्नुु भएको छ । उहाँले यसरी संकलन हुने रकम पारदर्शी तरिकाले जम्मा गरी सम्बन्धित परिवारलाई पत्रकारहरू तथा स्थानीय समाजसेवीहरूको रोहबरमा हस्तान्तरण गर्ने योजना रहेको चेम्बरका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।
सो रकम हस्तान्तरणका अवसरमा सुन्दरबजार चेम्बर अफ कमर्सका महासचिव देवीप्रसाद अधिकारी, सुन्दरबजार चेम्बर अफ कमर्स भोटेओडारका अध्यक्ष सरोज श्रेष्ठको समेत उपस्थिति थियोे ।
प्रकाशित मिति २०८१ श्रावण ३, बिहीबार १९:०० गते