काठमाडौं– गत वर्ष ३० दिनसम्म सार्वजनिक कार्यक्रमका नदेखिएपछि हटाइएका चिनियाँ विदेश मन्त्री छिन काङलाई कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यबाट पनि हटाएको छ । सुरूमा उनी स्वास्थ्यका कारण नदेखिएका भनिएको थियो तर एक महिनापछि कुनै पनि कारण नदेखाई उनलाई विदेश मन्त्रीबाट बर्खास्त गरिएको थियो ।
कम्युनिष्ट शासन भएको चीनमा शक्तिशाली पदबाट हटाइएका नेताहरूलाई भ्रष्टाचार वा अरू कुनै अभियोग लगाई जेल हाल्ने गरिन्छ । ‘तर भाषा हेर्दा उनीमाथि फौजदारी अभियोग भने चलाइएको छैन जस्तो बुझिन्छ,’ हङकङबाट प्रकाशित हुने साउथ चाइन मर्निङ पोस्टले लेखेको छ । अहिले उनलाई केन्द्रीय सदस्यबाट पनि हटाइएको हो ।
राष्ट्रपति सी जिनपिङसँग निकट मानिएका छिनले छिटो–छिटो प्रगति गरेर ५७ वर्षकै उमेरमा २०२२ को अन्त्यमा विदेश मन्त्री बनेका थिए । उनी पहिले जस्तो छुच्चो नभए पनि पश्चिमाले धेरै चासो राख्ने तिब्बत, सिन्जियाङ, हङकङ र ताइवान लगायतका मुद्दामा चीनको कुरा बलियो रूपमा राखेका थिए । उनको कामबाट खुसी भएर १७ महिनामै सीले उनलाई विदेश मन्त्रीमा बढुवा गरेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीले यौनजन्य विचलनलाई ‘जीवनशैलीमा समस्या’ भन्ने गर्छ । उनको विवाह–इतर सम्बन्धका कारण उनलाई विदेश मन्त्रीबाट हटाइएको चर्चा त्यति बेला चलेको थियो । उनलाई विदेश मन्त्रीबाट हटाइए पनि पार्टीको पदबाट भने हटाइएको थिएन ।
छिनलाई हटाउनेबारे जुलाइको सुरूमा भएको पोलिटब्युरो बैठकमा सल्लाह भएको साउथ चाइन मर्निङ पोस्टले सरकारी सिसिटिभीको हवाला दिँदै लेखेको छ ।
अहिले चलिरहेको केन्द्रीय समितिको चार–दिने तेस्रो प्लेनरी सत्रले सो निर्णयलाई पारित गरेको हो ।
पार्टीका वरिष्ठ नेताहरूलाई भने ‘जीवनशैलीमा समस्या’ का कारण हटाइएको भनेर ब्रिफिङ गरिएको थियो भनेर पश्चिमा मिडियाले लेखेका थिए ।
उनले सी राष्ट्रपति बनेपछिका विदेश भम्रणको सबै चाँजोपाँजो मिलाउन प्रमुख भूमिका खेल्थे। कोरोना महामारी र व्यापार युद्धले अमेरिकासँगको सम्बन्ध नाजुक बनेका बेला सीले उनलाई २०२१ जुलाईमा राजदूत बनाएर अमेरिका पठाएका थिए । त्यसअघि अमेरिका लगायत पश्चिमा राष्ट्रको कटु आलोचना गर्ने उनले अमेरिकामा राजदूत हुँदा भने त्यसो नगरेर बरू दुई देशको सम्बन्ध सुधार्न प्रयास गरेका थिए ।
गत वर्ष जुन २५ मा रूसी उपविदेश मन्त्री आन्द्रे रूदेन्कोसँग बेइजिङमा भेटवार्ता गरेपछि उनी सार्वजनिक रूपमा हप्तौंसम्म देखिएका थिएनन् ।
(नोट– विभिन्न ः अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा ।)
प्रकाशित मिति २०८१ श्रावण ४, शुक्रबार ०९:५६ गते