लमजुङ जिल्ला अदालतद्वारा गत आवमा ११८ प्रतिशत मुद्दा फर्स्योट

लमजुङ जिल्ला अदालतद्वारा गत आवमा ११८ प्रतिशत मुद्दा फर्स्योट

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन ४ गते शुक्रबार ०८:४६

उक्त अवसरमा पत्रकारहरूका जिज्ञासाको समेत जवाफ दिनु हुँदै समापन मन्तव्यमा जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले अन्त्यन्तै सौहार्दपूर्ण वातावरणको बसाई रह्यो भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले आमनागरिकलाई सुसूचित गर्ने कार्यमा चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतप्रति आभारी रहेको उल्लेख गर्नु हुँदै सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

जिल्ला अदालतमा रहेको तथ्यांक अनुसार अन्य मुद्दाको तुलनामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दाको बृद्ध दर उच्च

बेसीशहर– लमजुङ जिल्ला अदालतद्वारा गत आवमा ११८ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । गत आव २०८०÷८१ को अवधिमा लक्ष्यको तुलनामा सो अनुपातमा मुद्दा फर्स्योट भएको अदालतद्वारा आफ्नै कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटका अवसरमा साउन ४ गते बताइएको हो ।
लमजुङ जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सो अदालतका स्रेस्तेदार भेषराज पौडेलले आवको अवधिभरको प्रगति विवरण एक कार्यपत्रमार्फत प्रस्तुत गर्नु भएको हो । त्यसअघि उहाँले आफूहरू तेस्रो अंग र पत्रकारहरू चौथो अंग भएको र दुवैको हतियार कलम भएको उल्लेख गर्नु भयो । आफूहरू दुई अंगको वाचडग भएको र पत्रकारहरू आफ्नो अर्थात तेस्रोअंगको रुपमा रहेको न्यायालयको समेत वाचडग रहेको भन्दै आफ्नो प्रस्तुति राख्नु भएको थियो ।
उहाँका अनुसार गत आवको कुल अवधिमा जिम्मेवारी सरी आएका मुद्दाको संख्या २७३, नयाँ दर्ता भएका मुद्दाको संख्या ६०७ रहेको छ । उहाँले भन्नुभयो, ‘गत अवको अवधिमा अनुमानित मुद्दाको संख्या ८८० हुने अनुमान गरिएको थियो भने वार्षिक फर्स्योट लक्ष्य ५७४ रहेकोमा ७६९ मुद्दा फर्स्योट भई लक्ष्यको तुलनामा ११८.२९ प्रतिशत प्रगति हासिल गर्न अदालत सफल भएको हो ।’
उहाँले दुई वर्ष अवधि नाघेका मुद्दाको संख्या मात्र दुई रहेको जानकारी दिदै जिम्मेवारीबाट आएका मुद्दा २७३ मध्ये २३७ फर्स्योट भई ३६ वटा बाँकी छन् भन्नुभयो । त्यस्तै, नयाँ दर्ता भएका मुद्दाको संख्या ७५१ रहेको र तीमध्ये ४४२ फर्स्योट भई ३०९ बाँकी रहेको उहाँले जानकारी दिनुभयो । मुद्दाको यथार्थ लागतमा गत आवमा कुल एक हजार २४ रहेको र तीमध्ये ६७९ वटा फर्स्योट भई ६३.३० प्रगति हासिल गरिएको उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले मासिक लक्ष्य प्रगति विवरण समेत प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला अदालतमा तीन प्रकृतिका सुरु मुद्दा, पुनरावेदन र रिट दर्ता हुने गरेको जानकारी दिदै स्रेस्तेदार पौडेलले विशेष प्रकृतिका निवेदन ७० रहेको, तिनको लक्ष्य ५८ रहेकोमा प्रगति पनि ७० रहेको बताउनु भयो । त्यस्तै, अन्य निवेदन प्रतिवेदन २४० रहेको, वार्षिक लक्ष्य ४८४ रहेकोमा २२५ फर्स्योट भएको जानकारी दिनुभयो ।
फैसला कार्यान्वयको लगततर्फ जिम्मेवारी सरेको जरीवानामा चार करोड, ९६ लाख, ६७ हजार ३२४ रुपैया रहेको मध्येमा २६ लाख ७८ हजार १७० रुपैयाँ फर्स्यौट भएको छ भने नयाँतर्फको लगत एक करोड, १८ लाख १० हजार ३५० रुपैया रहेकोमा २९ लाख १६ हजार ९५० रुपैयाँ फर्स्यौट भई ९.११ प्रतिशतमात्र प्रगति भएको उल्लेख गर्नुभयो । सो रकममा पाँच करोड ५७ लाख, ८२ हजार ५५३ रुपैयाँ बाकी रहेको छ स्रेस्तेदार पौडेलको भनाइ छ ।
त्यस्तै, फर्स्यौट गर्नु पर्ने कैदका दिन ३१३ वर्ष, चार महिना, चार दिन पुरानो जिम्मेवारीको रहेकोमा आठ वर्ष सात महिना २ दिनमात्र फर्स्यौट हुन सकेको छ भने नयाँतर्फ १७२ वर्ष ९ महिना १४ दिन लगत रहेकोमा १५६ वर्ष आठ महिना १८ दिन फर्स्यौट भएको उहाँले बताउनु भयो । उहाँका अनुसार कैदतर्फ ३४ प्रतिशत प्रगति हासिल भएको छ । यसैगरी, कार्यान्वयनका निवेदनतर्फ पुराना अर्थात जिम्मेवारी सरेका ५७ मध्ये ५२ फर्स्यौट भएको, नयाँतर्फ १२१ मध्ये ५४ मात्र फर्स्यौट भई ५९.५५ प्रतिशत प्रगति भएको ७२ बाँकी रहेको उल्लेख गर्नुभयो ।
यसैगरी, क्षतिपूर्तितर्फ पुरानो लगत ४३ लाख ३१ हजार ९१४ रुपैया रहेकोमा त्यो रकम फर्स्योट शून्य रहेको छ । नयाँतर्फ भने १९ लाख २८ हजार २११ रुपैयाँमा ७५ हजार रुपैया फर्स्यौट हुन आएको छ स्रेस्तेदार पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिपूर्तिको रकम दुई लाख ७५ हजार बाँकी रहेको छ ।
त्यस्तै, संख्याको आधारमा मेलमिलापको मुद्दा न्यून देखिएता पनि अन्य जिल्लाको तुलनामा राम्रो प्रगति भएको प्रदेशको समीक्षा बैठकमा समेत भनिएको जानकारी दिनु हुँदै स्रेस्तेदार पौडेलले १७६ मुद्दा मेलमिलापमा पठाइएकोमा २९ अर्थात १६.४८ प्रतिशत मात्र सफल भएको र २३ वटा चालु रहेका छन् भने १२४ वटा असफल भएको बताउनु भयो । गत आवमा २८ वटा मुद्दा मेलमिलाप गरिएको समेत जानकारी दिनुभयो ।
सम्बन्ध विच्छेद र जबरजस्ती करणी :
जिल्ला अदालतमा रहेको तथ्यांक अनुसार अन्य मुद्दाको तुलनामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दाको बृद्ध दर उच्च रहेको छ । गत आवमा लमजुङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका २२२ वटा मुद्दा गत आवमा नयाँ दर्ता भएका थिए । ६२ वटा जिम्मेवारी सरेका थिए स्रेस्तेदार पौडेलले बताउनु भयो । उहाँका अनुसार तीमध्ये २४७ वटा फर्स्यौट भई ३७ वटा बाँकी रहेको, वैवाहिक सम्बन्ध अन्त्य गर्नेमा पुराना १० मात्र रहेकोमा वितेको वर्ष १६५ वटा नयाँ दर्ता भएकोमा १३९ फैसला भई ३६ वटा बाँकी रहेका छन् ।
त्यस्तै, जबरजस्ती करणीका मुद्दा आठ वटा पुराना रहेकोमा १९ वटा थप भई २७ वटा पुगेकोमा ९ वटा मात्र फैसला भएको र १८ बाकी रहेका छन् । करणी उद्योगका जिम्मेवारी सरेका र गत आवमा पनि ३÷३ वटै रहेको र तीमध्ये चारवटा फर्स्योट भई दुईवटा बाँकी रहेको बताउनु भयो ।
उक्त अवसरमा पत्रकारहरूका जिज्ञासाको समेत जवाफ दिनु हुँदै समापन मन्तव्यमा जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले अन्त्यन्तै सौहार्दपूर्ण वातावरणको बसाई रह्यो भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले आमनागरिकलाई सुसूचित गर्ने कार्यमा चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतप्रति आभारी रहेको उल्लेख गर्नु हुँदै सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
पत्रकार महासंघका जिल्लाध्यक्ष परमेश्वर अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सञ्चालन जिल्ला अदालतका नासु नवराज जोशीले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ श्रावण ४, शुक्रबार २०:४६ गते
हजुरको प्रतिक्रिया