
सप्तरी– एक वर्ष अघि राजविराज स्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.मा भएको २ करोड भन्दा बढी घोटाला प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले जनप्रतिनीधी समेत रहेका राजविराज– ३ का प्रतिष्ठित औषधी व्यवसायी ३० वर्षीय सिद्र्धाथ तातेडलाई साउन ३ गते पक्राउ गरिएको हो ।
तातेड कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को सञ्चालक समितिका सचिव हुन । तातेड राजविराज नगरपालिका– ३ का निर्वाचित वडा सदस्यसमेत हुनुका साथै राजविराज जेसिजको पूर्वअध्यक्ष समेत हुन् ।
तातेडलाई उनको घरबाटै पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भोलिपल्ट उनलाई सप्तरी जिल्ला अदालतमा पेश गरिएकोमा उनीविरुद्ध सहकारीको रकम ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमती प्राप्त भएको छ ।
उक्त सहकारीको सञ्चालक समिति उपर बचतकर्ताको एक करोड ३३ लाख २० हजार ८ सय २३ तथा संस्थाको ८८ लाख १७ हजार ६ सय ७७ गरी कुल २ करोड २१ लाख ३८ हजार ५ सय रुपैया घोटाला गरेको आरोप सहितको उजुरी परेको प्रहरीले जनाएको छ ।
७ सदस्यीय संचालक समिति मध्ये बेचन यादव र अन्य ५ जना सञ्चालक सदस्य भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले बताउनु भयो । उहाँका अनुसार २०८० साउन १९ गते बचतकर्ताको रकम फिर्ता नगरी संस्थाका सातै जना संचालक सम्पर्क विहीन भएको भन्दै संस्थाका उपाध्यक्ष सहित ४६ जना बचतकर्ताले उनीहरू विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
सञ्चालक र कर्मचारी अचानक सम्पर्क विहीन भएको र लामो समयसम्म संस्थामा तालाबन्दी भएको देखेपछि बचत फिर्ताका लागी पहल गर्न माग गर्दै बचत कर्ताहरू प्रहरी शरणमा पुगेका थिए । उहाँले भन्नुभयो, ‘अनुसन्धानको क्रममा अदालतबाट सञ्चालक समितिका सबै सातै जना विरुद्ध पक्राउ पुर्जी जारी भएपछि तातेडलाई पक्राउ गरिएको र अन्य फरार आरोपितहरूको खोजी कार्य भइरहेको छ ।’
बचतकर्ताको बचत कुम्ल्याएर सहकारी संस्था र रेमिट्यान्स कारोबार गर्ने आइएमइका संचालक फरार भएको यो नयाँ घटना भने होइन । यस अघि पनि यस्ता ३–४ वटा घटना भइसकेका छन् । त्यस्तो संस्थामा सयौं बचतकर्ताको करोडौ रुपैया डुबेको छ ।
यस अघि विदेशबाट आईएमइ मार्फत पठाइएको विभिन्न ग्राहकको गरी १ करोड ७६ लाख रुपैया लिएर आईएमइ सञ्चालक राजविराजका चर्चित ब्यापारी दाजुभाइ सुनिल सिन्धी र सञ्जय सिन्धी पनि फरार रहेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार अघिल्लो वर्ष शाखा नै बन्द गरी फरार भएका सिन्धी दाजु÷भाइ भारतमा लुकेर बसेका हुन सक्ने अनुमान गरिएको छ । सिन्धी दाजुभाइको समेत खोजी कार्य तिब्र बनाइएको प्रहरीले दावी गरेको छ ।
प्रकाशित मिति २०८२ भाद्र १५, आईतवार ११:५६ गते