सुन्दरबजार(लमजुङ)– गरीबीको पीडा झेल्न नसकेर आत्महत्याको बाटो रोजेकी ३६ वर्षीया चार छोरीकी आमा अप्सरा विकको काजकिरियामै समस्या उत्पन्न भएपछि त्यसको गर्जो टार्नका लागि दाताहरूका मनकारी हातहरू अग्रसर भइरहेका छन् । यसै क्रममा सुन्दरबजार नगरपालिका– ७ तार्कुटारमा स्थायी घर भै हाल सिड्नी अष्ट्रेलियामा रहनु हुने वरिष्ठ समाजसेवी सविन मिश्रले २० हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ ।
सो रकम सुन्दरबजार चेम्बर अफ कमर्शको सक्रियतामा संकलन भएको हो । अन्तरङ्ग न्यूजडटकममा प्रकाशित ‘गरीबीको पीडासँग जुध्न नसकी आत्महत्याको बाटो रोजेकी अप्सराको काजकिरियामा समस्या’ शीर्षक समाचार पढेरपछि आफूले आफ्नो गाउँघरमा परेको त्यस्तो पीडामा मल्हम लगाउनका लागि स्वर्गीय अप्सरा विकको काजकिरियाका लागि सो रकम आफ्ना ससुरा सुन्दरबजार– ७ तार्कुटार निवासी पुस्कल ढुंगानामार्फत सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठलाई हस्तान्तरण गर्न लगाएको मिश्रले फोनबाट जानकारी दिनु भएको छ । उहाँका अनुसार आफ्नो देश, गाउँघरबाट धेरै टाढा हुनु परेको भए पनि गाउँको दुःखसुखमा सँगै हुन मन लागेको हुँदा सानो सहयोग गरेको हुँ । उहाँले भन्नुभयो, ‘तपाईको सञ्चारमाध्यममार्फ ‘अप्सराको काजकिरियाका लागि आर्थिक संकलन अभियान’ चेम्बरअफ कमर्शले शुरु गरेको जानकारी पाएपछि सहयोग गरेको हुँ ।’ यसरी समाजसेवा गर्दा आफूलाई आत्म सन्तुष्टि प्राप्त हुने बताउाु हुँदै कठिन अवस्थामा परेका मानिसलाई सहयोग गर्नुनै मानवीय धर्म भएको उहाँले उल्लेख गर्नु भयो । उहाँले यस्ता मानवीय सेवाका सीत उवाएर घैला भर्ने कार्यमा जुट्नका लागि अन्य मनकारी दाता महानुभवलाई समेत अनुरोध गर्छु भन्नु भएको छ ।
यसअघि पनि दाता सविन मिश्रले विष्णुकुमार श्रेष्ठमार्फत सञ्चालन भएका कमल तामाङ बचाउ अभियान, सोमबहादुर गुरुङ बचाउ अभियान, बिमला कुमाल बचाउ अभियान, आइतीमाया तामाङ बचाउ अभियान लगायत सुन्दरबजार अस्पताल, तार्कुटार, लमजुङ एवम् आदर्शबाल मावि बरेटारका विभिन्न अभियानमा समेत सहयोग गर्दै आउनु भएको चेम्बर अफ कमर्शका अध्यक्ष विष्णकुमार श्रेष्ठले जानकारी दिनुभयोे । उहाँका अनुसार आफ्ना वरिष्ठ समाजसेवी बुबा स्वर्गीय सिताराम मिश्र र आमास्वर्गीय सुशीला मिश्रको स्मृतिमा उहाँले सो रकम प्रदान गर्नु भएको हो । श्रेष्ठले भन्नुभयो, ‘मनकारी दाता मिश्र परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आरोग्यपूर्ण जीवनसहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’
सुन्दरबजार चेम्बरले शुरु गरेको यो पछिल्लो परोपकारी कार्यका लागि सहयोग गर्नु हुने समाजसेवी सविन मिश्र दोश्रो व्यक्तित्व भएको जानकारी दिदै चेम्बरका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले उहाँहरू दुवैलाई विशेष धन्यवाद ज्ञापन गर्छुु भन्नुभएको छ ।
प्रकाशित मिति २०८१ श्रावण ६, आईतवार २२:१४ गते