बेसीशहर– लमजुङमा गत असार ११ गते राती गएको पहिरोका कारण टुहुरो बनेका ११ वर्षीय बालकलाई प्लस टुसम्म पढाउने प्रवन्ध गरिएको छ । सदरमुकाम स्थित युनिभर्सल एकेडेमीले निराज गुरुङलाई निःशुल्क पढाइदिने भएको साउन ६ गते पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
ग्रामीण पर्यटनका अभियन्ता प्रेम घलेको नेतृत्वमा सो सहयोग जुटेको पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । उनी सो विद्यालयमा कक्षा– ५ मा आजैदेखि पढ्ने भएको सो विद्यालयका प्रिन्सिपल विमल अधिकारीले पत्रकारहरूलाई बताउनु भयो ।
लमजुङको क्ब्होलासोंथर गाउँपालिका– ३ को बगुम गाउँका निराज गुरुङ त्यो परिवारको एक्ला जीवित सदस्य हुन् । सो राती आएको पहिरोले घर बगाउँदा हजुरबा रुद्रमान गुरुङ, आमा पञ्चकुमारी गुरुङ र बहिनी निष्मा गुरुङ पहिरोमा परी निधन भएपछि उनी टुहुरो बनेका हुन् । सो रातमा उनी छिमेकीमा रहेका साथीको घरमा सुत्न गएको हुँदा बाच्न सफल भएको सो वडाका अध्यक्ष आशवीर गुरुङले जानकारी दिनुभयो ।

निराजका बाबु कुमबहादुर गुरुङको तीन वर्ष अघि गाउँमै रहेको विद्युत पोलमा विद्युत सट भई लागेको करेन्ट लागेर निधन भएको थियो ।
बाजे, आमा र बहिनीलाई पहिरोले बगाएर निधन भएपछि टुहुरो बनेका निराज गुरुङलाई यहाँ स्थित युनिभर्सल एकेडेमीले निःशुल्क पढाउने भएको हो ।
क्ब्होलासोंथर गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् लमजुङमा ग्रामीण पर्यटनका परिकल्पनाकार तथा अभियन्ता समेत रहेका प्रेम घलेको अनुरोधमा निराजलाई आफ्नो विद्यालयमा प्लसटु सम्म निःशुल्क पढाउने प्रवन्ध गरिएको सो विद्यालयका प्रिन्सिपल विमल अधिकारीले पत्रकारहरूलाई बताए । ती बालकलाई अभियन्ता समेत रहेका प्रेम घलेले सो विद्यालयका अध्यक्ष मोहन थापा, प्रिन्सिपल अधिकारी सहतिका पदाधिकारीको जिम्म लगाएका थिए ।

त्यसका लागि बेसीशहर नगरपालिका– ७ मा रहेको युनिभर्सल एकेडेमीले आजकै दिनदेखि उनले सो विद्यालयमा रहेकै विषय पढ्न चाहेमा प्सल टुसम्म र नचाहेमा कक्षा– १० सम्म विद्यालयमा लाग्ने सबैप्रकारका फि, किताव स्टेशनरी आदि निःशुल्क रुपमा उपलब्ध गराउने सो विद्यालयका प्रिन्सिपल विमल अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उनको छात्रावासमा लाग्ने खर्चमा पनि ५० प्रतिशत छुट गरिने छ ।’ उनले आजकै दिनदेखि हाम्रो विद्यालयमा कक्षा– ५ मा अध्ययन गर्न थाल्ने छन् अधिकारीले जानकारी दिनुभयो । छात्राबासका लागि लाग्ने बाँकी आधा रकमको चन्दा संकलन गरी अक्षयकोष बनाई सो कोषको व्याजबाट उनको छात्राबास खर्चको प्रवन्ध गर्ने योजना रहेको सो वडाका अध्यक्ष आशवीर गुरुङले बताउनु भयो । उहाँका अनुसार सो गाउँमा रहेको आदर्श युवा क्लबले त्यसका लागि चन्दा संकलन कार्य अभियानकै रुपमा अघि बढाई रहेको छ ।
उहाँले भन्नुभयो, ‘सो प्रयोजनका लागि तमू धिं साउदीबाट एक लाख ६० हजार २५ रुपैया प्राप्त भएको छ ।’ स्थानीय आमा समूह, विभिन्न क्षेत्र तथा संघसंस्थामा अनुरोध गरिएको छ र रकम संकलनको कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८१ श्रावण ७, सोमबार ०५:५७ गते