अन्तरङ्ग समाचार प्रभाव : अप्सराको परिवारका लागि सहारा बन्दै सहयोगी हातहरू

अन्तरङ्ग समाचार प्रभाव : अप्सराको परिवारका लागि सहारा बन्दै सहयोगी हातहरू

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन ९ गते बुधबार ०७:५४

सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीले अप्सराकी जेठी छोरी रसिला विकलाई सुन्दरबजार चेम्बर अफ कमर्शको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको हो ।

सुन्दरबजार चेम्बर अफ कमर्शको पहलमा थालिएको अर्थ संकलन अभियानमार्फत संकलित ३५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

सुन्दरबजार(लमजुङ)– स्थानीय नगरपालिका– ६ खत्रीठाँटीकी अप्सरा विक, जस्ले गरीबीको पीडा सहन गर्न नसकी आत्महत्या गरेकी थिइन् । उनको परिवारका लागि सहयोगी हातहरू सहारा बनिरहेका छन् । सुन्दरबजारचेम्बर अफ कमर्शको पहलमा थालिएको अर्थ संकलन अभियानमार्फत संकलन भएको ३५ हजार रुपैयाँ उनकी जेठी छोरी रसिला विकलाई साउन ८ गते हस्तान्तरण गरिएसँगै सो खुलासा भएको हो ।
सो रकम बराबरको चेक सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीले रसिला विकलाई सुन्दरबजार चेम्बर अफ कमर्शको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको सुन्दरबजार चेम्बर अफ कमर्शका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भयो ।
अन्तरङ्ग न्यूजडटकममा ‘गरीबीको पीडा सहन गर्न नसकी आत्महत्या गरेकी अप्सराको काजकिरिया खर्चको पनि अभाव’ शीर्षक समाचार प्रकाशित भएपछि सो सहयोग जुटेको हो । सो प्रयोजनका लागि सुन्दरबजार नगरपालिका– ९ फेदीकुना टोल निवासी हाल कतारमा कार्यरत वरिष्ठ समाजसेवी कर्ण तामाङले १५ हजार रुपैयाँ सहयोग साउन ३ गते र सुन्दरबजार नगरपालिका– ७ तार्कुटारमा स्थायी घर भै हाल सिड्नी अष्ट्रेलियामा रहनु हुने वरिष्ठ समाजसेवी सविन मिश्रले २० हजार रुपैयाँ साउन ६ गते आर्थिक सहयोग सुन्दरबजार चेम्बरलाई प्रदान गर्नु भएको थियो ।
चार छोरीकी आमा ३६ वर्षीया अप्सरा विकका श्रीमानको मानसिक सन्तुलन विग्रिएपछि कमाई परिवार पाल्ने उनको पेशा बन्द भएको थियो । जसका कारणले श्रीमान्को उपचार खर्च, आफू सहित श्रीमान् र छोरीको पालनपोषण, छोरीको शिक्षादीक्षा लगायतका कार्य सबै अप्सराको काँधमा आएपछि उनले त्यो बोझ थेग्न नसकेपछि गत असार २९ गते आत्महत्या गरेकी थिइन् ।

सो समाचार प्रकाशन भए लगत्तै अन्तरङ्गका सहसम्पादक चन्द्रकान्त पौडेल जो अपाङ्ग अभियन्ता समेत हुनुहुन्छ– ले अप्सराकी कान्छी छोरीलाई प्लस टुसम्म पढाई दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यसपछि अन्य समाचारमाध्यममा पनि त्यो घट्नाले स्थान पायो । फलस्वरुप अन्यत्रबाट पनि त्यो परिवारलाई सहयोग जुटिरहेको जानकारीमा आएको छ । अप्सराका छिमेकी समेत रहनु भएका रास्वपा सुन्दरबजार नगर सभापति श्याम केसीमार्फत ८ हजार रुपैयाँ हस्तान्तरण गरिएको सामाजिक सञ्जाल फेसबुकमा आइसकेको छ भने उनका साना छोरीलाई पठाउने गण्डकी प्रदेशको बालकालिका हेरचाह केन्द्रले प्रतिवद्धता व्यक्त गरेको छ । यस प्रकार सिर्जना भएको दबाबका कारण उनीहरु पढिरहेको विद्याज्योति  माविले समेत निःशुल्क पठाउने भएको बताइएको छ ।
सो घट्ना बारेमा अन्तरङ्ग न्यूजडटकममा विभिन्न मितिमा आधा दर्जन समाचार प्रकाशित भइसकेको छ ।

प्रकाशित मिति २०८१ श्रावण ९, बुधबार ०७:५४ गते
हजुरको प्रतिक्रिया