कांग्रेसका सचेतक सुशीलाले उठाएको विषयमा रास्वपाका सांसदद्वारा टेबुल ठोकेर समर्थन

कांग्रेसका सचेतक सुशीलाले उठाएको विषयमा रास्वपाका सांसदद्वारा टेबुल ठोकेर समर्थन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन ९ गते बुधबार ०८:१३

थिङले आफ्नै उदाहरण दिदै भन्नुभयो, ‘मैले कानुनमा स्नातक गरेको छु, सोसियोलोजीमा स्नातकोत्तर गरेको छु । तर, म कहिल्यै योग्य भइन । मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिइन, त्यसकारण हामी महिलाहरू कहिलेसम्म यो समानुपातिकको दर्जामा दर्ज हुने हो, हामीलाई कहिलेसम्म समान बनाउने हो ?’

थिङले उठाएको विषयमा रास्वपाका सांसदले मात्र हैन, अन्य दलका महिला सांसदले पनि समर्थन गर्नु भएको थियो ।

काठमाडौं– नेपाली कांग्रेसका सचेतक सुशीला थिङले उठाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले टेबुल ठोकेर स्वागत एवम् समर्थन गरेका छन् । संसद बैठकमा नेपाली कांग्रेसकी सचेतक समेत रहनु भएकी थिङले महिला प्रतिनिधित्वको विषय उठाउँदा रास्वपा सांसदहरूले टेबुल ठोकेर साउन ८ गते समर्थन गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा थिङले मन्त्रिपरिषद् निर्माण गर्दा संविधान कुल्चिनेक्रम जारी रहेको विषय उठाउँदै भन्नु भएको थियो, ‘मैले पढेको मनुस्मृतिमा यत्र नस्र्यस्य पुज्यन्ते रमन्ते तत्र देवता भन्ने थियो । यहाँ त यत्र पुरस्य पुज्यन्ते रमन्ते तत्र देवता जस्तो भयो, यो किन मैले भनिरहेको छु भने जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला मन्त्रिपरिषद्मा कहिले पनि देख्न नपाउने भयो । सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिस भएनन् ।’
थिङले आफ्नो भनाई राख्न नभ्याउँदै संसद्मा रास्वपाका अधिकांश सांसदले टेबुल ठोकेर समर्थन गरिरहेको दृश्य निकै रोचक थियो । त्योसँगसँगै महिला सांसदहरूले पनि थिङले उठाएको विषयमा समर्थन गरेका थिए ।
सचेतक थिङले अन्य क्षेत्रमा योग्य हुने महिला प्रतिनिधित्वमा किन समानुपातिकमा मात्र पर्छन् भन्दै प्रश्न उठाउनु भएको थियो । उहाँले भन्नुभयो, ‘मेरो उदाहरण प्रतिनिधिमुलक पात्रमा मात्र हो । मैले कानुनमा स्नातक गरेको छु, सोसियोलोजीमा स्नातकोत्तर गरेको छु । तर, म कहिल्यै योग्य भइन । मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिइन, त्यसकारण हामी महिलाहरू कहिलेसम्म यो समानुपातिकको दर्जामा दर्ज हुने हो, हामीलाई कहिलेसम्म समान बनाउने हो ?’
यसरी महिलाको सहभागीलाई सरकारले न्यून बनाएको भन्दै प्रश्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित प्रतिपक्षी दलका नेताहरूले टेबल ठोकेर समर्थन जनाएका थिए ।

प्रकाशित मिति २०८१ श्रावण ९, बुधबार ०८:१३ गते
हजुरको प्रतिक्रिया