काठमाडौँ– सौर्य एयरलाइन्सको काठमाडौँबाट पोखराका लागि उडेको जहाज विहान करिब ११ बजेतिर साउन ९ गते दुर्घटना भएको छ । जहाज विमानस्थलबाट उड्ने बित्तिकै असन्तुलित भएर तल भूइँमा खसेको प्रत्यक्षदर्शीले बताए । उनीहरूका अनुसार दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।
सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनु भएको छ । उहाँका अनुसार सो जहावमा १९ जना सवार रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उहाँले भन्नुभयो, ‘जहाजबाट धुवाँ आएको देखिएको छ, उद्धारका लागि प्रहरी परिचालन गरिसकिएको छ ।’
सो जहाजमा सवार दुई जनाको शव फेला परेको उद्धारकर्ताहरूले बताएका छन् । उनीहरूले २ जनाको शव घटनास्थलमा फेला परेको बताएका हुन् । जहाजमा सवारहरू केहीलाई उद्धार गरेर अस्पताल पठाइएको र अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ ।
जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।
जहाजका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताउनु भएको छ ।
प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति २०८१ श्रावण ९, बुधबार १२:२८ गते