काठमाडौँ– सौर्य एयरलाइन्सको जहाजमा सवार यात्रु र चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको एयरलाइन्सले जनाएको छ । सवार मध्ये एक विदेशी नागरिक भएको पुष्टि हुन आएको छ ।
जहाजमा १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले बताउउनु भयो । उहाँका अनुसार दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । उहाँले भन्नुभयो, ‘विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल थिए ।’
विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्यामविन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति जारी गर्दै १८ जनाको शव घटनास्थलबाट संकलन गरिएको जानकारी दिएको छ । दुर्घटनामा क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट निकालिएको शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
पाइलट शाक्यको केएमसीमा उपचार हुँदै :
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । शाक्यलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका लागि पुर्याइएको अस्पतालका एक अधिकारीले बताए । शाक्यलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य अवस्थाबारे भन्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।
प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज आजै बिहान ११ः११ मिनेटमा जहाज पोखराका लागि उडेको हो ।
जहाज उड्न बित्तिकै दाहिनेतिर मोठिन गई रनवेको पूर्वमा दुर्घटना भएको हो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताउनु भयो ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।
प्रकाशित मिति २०८१ श्रावण ९, बुधबार १३:३१ गते