काठमाडौं– सर्वोच्च अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । अनुसन्धानका लागि थुनामै रहेका उनी प्रहरीका सामु मुख खोल्न कप्ट्याइँ गरिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा सबैभन्दा महत्वका साथ खोजिएका आरोपी हुन्, बेचन झा । असार १४ गते पक्राउ परेका झालाई प्रहरीले हिरासतमा राखेर नक्कली शरणार्थी प्रकरणमा उनको संलग्नताबारे अनुसन्धान गरिरहेको छ ।
झाकातर्फबाट छोरा दिव्यांशु शेखर झाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘कानुनबमोजिम गर्न’ साउन १० गते आदेश जारी गरेसँगै अब प्रहरीलाई थुनामै राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ । उनी पक्रिए पछि सत्ताको वर्तमान गठबन्धन बनाउनु पर्ने बाध्यता ठूला दललाई आइ लागेको हो । फलस्वरुप सत्ता परिवर्तन भएता पनि अनुसन्धान पूरा हुनुअघि नै थुनामुक्त हुने झाको प्रयास असफल हुन गएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त रहेका झा भारतमा बस्दै आएका थिए । प्रहरीले उनलाई भारतबाटै पक्राउ गरी ल्याएको हो । पक्राउ परी अनुसन्धान जारी रहेका बेला उनका छोरा दिव्यांशुले सर्वोच्चमा गत असार ३० गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
आर्थिक वर्षान्तपछि अदालतमा हुने काम–कारबाही केही समय रोकिने भएकाले उनको पालो ढिला आएको सर्वोच्च प्रशासनले जनाएको छ । बन्दीप्रत्यक्षीकरणका मुद्दा नियमित रूपमा हेर्दै आएको थियो । तर, बेचनको मुद्दामा आज मात्र आदेश भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा सबैभन्दा महत्वका साथ खोजिएका आरोपी हुन्, बेचन झा । उनबाट सो प्रकरणको सबै गुह्य खुल्ने बताइएको थियो तर उनी प्रहरीसँग बोल्नै मानेका छैनन् । उनलाई पक्राउ गर्न २०७९ चैतदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खटिएको थियो ।
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार छोरा प्रतीक थापा र बेचन झा एकसाथ पक्राउ परेका हुन् । उनीहरू एकै ठाउँबाट पक्राउ नपरे पनि संयोग उनीहरू एकसाथ पक्राउ गर्न प्रहरी सफल भयो ।
प्रहरीले थापालाई कपनबाट पक्राउ गरेको हो । झालाई भने प्रहरीको विशेष ब्युरोको टोलीले भारतबाटै पक्राउ गरी नेपाल ल्याएको प्रहरी उच्च स्रोतको भनाइ छ ।
प्रहरीसँग बोल्नै मान्दैनन् बेचन झा !
भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीलाई लागेको थियो, बेचन झा पक्राउ परेपछि अनुसन्धानको दायरा खुल्दै जानेछ । जसकारण प्रहरीले चलाखीपूर्वक त्यतिबेला बेचन झाको वतन नखुलेको भन्दै खुलेका बखत अनुसन्धान गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझायो ।
त्यहीकारण प्रहरीले नक्कली भुटानी प्रकरणमा जोडिएका उनलाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति पाएको हो । तर, झा पक्राउ परेपनि झाबाट शरणार्थी प्रकरणको कुनै प्रमाण भने प्रहरी फेला पार्न सकेको छैन । प्रहरीसँगको प्रारम्भिक बयानमा भने उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफू अनभिज्ञ रहेको भन्दै कुनै कुरा बताउन चाहेका छैनन् ।
न त उनले राजनीतिक दलका नेताहरूसँगको सम्बन्ध स्वीकार गरेका छन् । त्यसैले झाले बोकेका दुई वटा मोवाइल फोन परीक्षण गर्न प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको जनाएको छ । एक अनुसन्धान अधिकारीले भने, ‘नक्कली भुटानी शरणार्थीबारे केही जानकारी छैन भनी बेचन झा पन्छिन खोज्छन् । हामीले प्रारम्भिक सोधपुछका क्रममा धेरै प्रयाय ग¥यौँ । तर, केही खुल्लाजस्तो छैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझीदेखि बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । जिल्ला अदालतले पक्राउ परेकामध्ये अधिकांशलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सो मुद्दामा गत मंसिरमा उच्च अदालत पाटनले भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।
सो मुद्दामा न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका, उनकै स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, हरिभक्त महर्जन र रामशरण केसीलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।
टोपबहादुर रायमाझीसहित नक्कली भुटानी प्रकरणका मुख्यआरोपी दाङका सन्देश शर्मा र सुनसरीका केशव दुलालसहितका १० आरोपी सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा विज्ञ डा. इन्द्रजित राई, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी र पूर्वसांसद आङटावा शेर्पा भने पुर्पक्षका लागि थुनामै छन् ।
बेचन झाको कनेक्सन ?
अनुसन्धानका खटिएका प्रहरीका अनुसार, बेचन झाको सम्पर्क राजनीतिक दलका उपल्ला तहका नेताहरूसँग देखिएको थियो । शरणार्थी प्रकरणमा पक्राउ परेर हाल उच्च अदालतको आदेशले छुटेका रामशरण केसीसँगसमेत उनको निकट सम्बन्ध देखिएको थियो । प्रहरीले केसीको साथबाट झाकै नामका काटिएको दुई करोडको चेक समेत बरामद गरेको थियो ।
बयानमा समेत केसीले शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू मिलाउने जिम्मा झाले लिएको र सोही कारण चेक काटेको बयान दिएका थिए । झाले केसीसँग आफू भारतीय दूतावास नजिकको भनी परिचय दिएको खुलेको थियो । प्रहरी स्रोतका अनुसार, झाको सम्बन्ध नेपाली कांग्रेसका उच्च नेतासँग देखिएको छ । त्यसबाहेक सचिव टेकनारायण पाण्डेसँग पनि उनको सम्बन्ध खुलेको थियो । गिरोहका सदस्यहरूलाई गृहका अधिकारीसँग सम्बन्ध समेत उनैले बनाइदिएको प्रहरीको दाबी छ । गृहमन्त्री बालकृष्ण खाँण र सचिव पाण्डेलाई गिरोहसमक्ष भेट गराउने व्यक्ति नै झा रहेको अनुसन्धानमा खटिएका प्रहरीले बताउँदै आएका छन् ।
सरकार फेरिएसँगै बेचनको परिवार पुग्यो सर्वोच्चमा :
झाका तर्फबाट छोराले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा झालाई गैरकानुनी थुनामा राखिएको दाबी गरिएको छ । उनीहरूले झालाई तत्काल धरौटीमा वा हाजिर जमानीमा रिहा गर्न माग गरेका थिए ।
तर प्रहरीले भने उनीमाथि अन्तिम चरणको अनुसन्धान भइरहेको बताएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोगपत्र दायर गर्न अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार झाको बयान सकिएको छ । उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढेको प्रहरी स्रोतको भनाइ छ ।
झाविरुद्ध भने जिल्ला प्रहरी परिसर काठमाडौंले किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा थुनामा राखेर अनुसन्धान गर्न पहिलो पटक सात दिनको अनुमति पाएको प्रहरीले दोस्रो पटक म्याद थपका लागि गत असार २० अदालतमा प्रहरीले उपस्थित गराएको थियो । अब उनको पाँचांै पटकको म्याद थप गर्ने प्रहरीको तयारी छ ।
‘पहिलो चरणको बयान सकियो । आवश्यकता देखिएमा थप बयान गरिन्छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले बताउनु भयो । उहाँले थप भन्नुभयो, ‘सङ्गठित अपराध र ठगीमा अनुसन्धान भइरहेकाले समय लाग्छ ।’
जिल्ला अदालतबाट छुट्ने सम्भावना न्यून भएपछि झाको परिवार बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेको हो । झाका तर्फबाट छोरा दिव्यान्शु शेखर झाले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् । उक्त निवेदन असार ३० गते दर्ता भएको थियो ।
यसअघि पहिलो मुद्दा दायर भएर जिल्ला अदालतमा विचाराधीन छ । काठमाडौँ प्रहरी परिसरले यो मुद्दामा अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत यो दोस्रो चरणको अनुसन्धान हो ।
अरू तानिने सम्भावना कति ?
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई पक्राउ गरेको हो । उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट गर्दै नेपाल ल्याइएको थियो ।
झालाई अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरको जिम्मा लगाइएको थियो । त्यसपछि झा काठमाडौँ प्रहरीको अनुसन्धानमा छन् ।
झालाई पहिलो पटक असार १६ गते काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो, जसमा अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको थियो । त्यस्तै दोस्रो पटक असार २१ गते पाँच दिनको म्याद थप गर्ने आदेश जिल्ला अदालतले गरेको थियो । तेस्रो पटक जिल्ला अदालतले फेरि पाँच दिन म्याद थप गरेको थियो । तेस्रो पटक म्याद थप भइरहँदा दलहरू सरकार परिवर्तनको खेलमा व्यस्त थिए । असार २८ गते अदालतले सात दिन म्याद थप गरिदिएको थियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने सपनामा फस्दै गएका सर्वसाधारणलाई आश्वस्त तुल्याउने गरी मन्त्रिपरिषदरु्मै लगेर निर्णय गराउने र गृहमन्त्रीलाई पकडमा लिएर आवश्यक निर्देशन बाहिर ल्याउनेसम्मको भूमिकामा बेचन सक्रिय रहेको देखिने टेलिफोन संवाद लगायतका प्रमाणहरू अनुसन्धानका क्रममा जुटिरहेको प्रहरीको दाबी छ ।
झाको बयानका आधारमा अन्य व्यक्तिहरू पनि पक्राउ पर्छन् कि पर्दैनन् भनेर अहिले नै भन्न नमिल्ने प्रहरीको भनाइ छ ।
प्रकाशित मिति २०८१ श्रावण ११, शुक्रबार ०६:४५ गते