सुन्दरबजार(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङद्वारा एकै दिन दुई कार्यक्रम गरिएको छ । प्रतिष्ठानको एक प्रतिनिधि टोलीले प्रतिष्ठानका सल्लाहकार स्व. नरेन्द्रराज ढुंगानाको निवास तथा कार्यकारी सदस्य मीना गुरुङको निवास सोही नगरपालिका– ८ को पैह्रेमा साउन १० गते गरेको हो ।
प्रतिष्ठानका सल्लाहकार स्व. नरेन्द्रराज ढुंगानाको निवासमा उहाँकी सहधर्मिणी सीता ढुंगानालाई भेट्न पुगेको हो । प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’को नेतृत्वमा सुन्दरबजार नगरपालिका– ७ को बरेटार स्थित उहाँको निवासमा भेटघाटका लागि टोली पुगेको हो ।
सो अवसरमा सीता ढुंगानाको स्वास्थ्य स्थितिको जानकारी दिदै सल्लाहकार ढुंगानाको स्वर्गारोहणपछिको पारिवारिक वस्तुस्थितिका बारेमा जानकारी लिने काम गरेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार उक्त अवसरमा सल्लाहकार स्व. नरेन्द्रराज ढुंगानाले प्रतिष्ठानले सञ्चालन गर्ने गरी स्थापना गर्नु भएको ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति पुरस्कारको संरक्षकका रुपमा सीता ढुंगानालाई सम्मान गर्ने काम पनि भयो ।
गत शिवरात्रीका अवसरमा करापुटारमा आयोजित प्रतिष्ठानको ठाडाभोका प्रस्तुति कार्यक्रममा सो सम्मान पत्र सीता ढुंगानालाई प्रदान गर्ने तयारी गरिएकोमा त्यस समय स्वास्थ्यका कारण उहाँ उपस्थिति हुन सक्नु भएको थिएन । त्यसैकारण थाति रहेको सो सम्मान पत्र आज उहाँलाई प्रदान गरिएको हो प्रतिष्ठानका उपाध्यक्ष सीता दुराले बताउनु भयो ।
सीता ढुंगानालाई प्रतिष्ठानका संरक्षक बुद्धिमा दुरा ‘धम्पु’ले उहाँलाई दोसल्ला ओढाउनु भएको थियो भने अध्यक्ष नवराज पहाडीले सम्मान गर्नुको औचित्यमा प्रकाश पार्नु हुँदै सम्मानपत्र वाचन गर्दै उहाँलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष सीता दुरा, कार्यकारी सदस्य कृष्ण केसी(खत्रीठाँटी) र वरिष्ठ आजीवन सदस्य मीनबहादुर तामाङको सहभागिता थियो ।
ठाडोभाका लोककला प्रतिष्ठानद्वारा समवेदना व्यक्त :
यसैबीच, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य मीना गुरुङलाई प्रतिष्ठानको एक टोलीले उहाँको निवासमा पुगेर समवेदना व्यक्त गरेको छ । उहाँकी ममतामयी आमा काशीमायाको ७४ वर्षको उमेरमा अचानक स्वर्गारोहण भएकोमा समवेदना व्यक्त गर्न प्रतिष्ठानको एक टोली उहाँको निवासमा हिजै पुगेको हो ।
सो स्थानमा पनि टोली प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’को नेतृत्वमा सुन्दरबजार नगरपालिका– ९ को पैह्र स्थित मीना निवासमा पुगेको हो । सो टोलीमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, उपाध्यक्ष सीता दुरा, कोषाध्यक्ष सीता गुरुङ, कार्यकारी सदस्य कृष्ण केसी(खत्रीठाँटी), सुधा ढकाल, वरिष्ठ आजीवन सदस्यद्वय मीनबहादुर तामाङ र तैमाया गुरुङ, गायक सदस्यद्वय बुद्धिमाया गुरुङ र पानमाया गुरुङको सहभागिता रहेको थियो ।
सो अवसरमा गुरुङ संस्कार संस्कृति अनुसार शोकाकुल मीनालाई स्याइँ, स्याइँ (सातो बोलाउने कार्य) गरिएको थियो । त्यसैगरी, प्रतिष्ठानकातर्फबाट उहाँलाई समवेदना पत्र समेत हस्तान्तरण गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष पहाडी, संरक्षक धम्पु सहितका उपस्थिति पदाधिकारीहरू तथा सदस्यले संयुक्त रुपमा सो समवेदनापत्र हस्तान्तरण गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ श्रावण ११, शुक्रबार ०७:३८ गते