बबेसीशहर– लमजुङमा गत असार ११ गते राती गएको पहिरोमा परी ज्यान गुमाउने पाँच जना र घरबास गुमाउने तथा घाइते परिवारलाई ११ लाख बढीको आर्थिक सहयोग गरेको छ । सो रकम एक कार्यक्रमका बीच संविधानसभाका सदस्य जमिन्द्रमान घलेले साउन ११ गते वितरण गर्नु भएको हो ।
क्व्होलासोथार गाउँपालिका– ३ बगुमका चार जना र दोर्दी गाउँपालिका– ९ हिलेटक्सरमा एक जनाले ज्यान गुमाएका थिए भने घरघडेरीको नाम निसान समेत नरहने गरी पहिरोले बास उठाएका तीन परिवार, घर भएर पनि बस्न नहुने अवस्था भई विस्थापित अवस्थामा रहेको दुई परिवारलाई र पहिरोमा पनि घाइते भएकाहरुको उपचारका लागि सो राहत रकम वितरण गरिएको हो ।
पहिरोबाट पिडित परिवारलाई राहतका लागि लमजुङ घर भई रोजगारीको शिलशिलामा हङकङकमा रहेका १२७ जनाले संकलन गरी पठाएको ११ लाख २३ हजार ५ सय ४० रुपैया पिडित परिवारलाई राहत स्वरुप वितरण गरिएको लमजुङ सेवा समिति हङकङ, सम्र्पक समिति लमजुङका अध्यक्ष मिना गुरुङले बताउनु भयो । उहाँका अनुसार समितिले मृतकका परिवारलाई एक÷एक लाखका दरले ५ लाख वितरण गरेको छ ।
उहाँले भन्नुभयो, ‘पहिरोले घर पूर्ण क्षति भएको क्व्होलासोथर ३ परिवारलाई १ लाखका दरले ३ लाख, पहिरोबाट घरमा आशिंक क्षति भएका दोर्दीका १ र पहिरोको जोखिम भई विस्थापित भएका क्वहोलासोथरका ५ गरी ६ परिवारलाई ४० हजारका दरले २ लाख ४० हजार वितरण गरिएको छ ।’
सोही दिनमा पहिरोमा परी घाइते भएका दोर्दी र क्वहोलासोथरका एक÷एक जनालाई २३ हजारका दरले उपचार खर्च प्रदान गरिएको लमजुङ सेवा समिति हङकङ, सम्र्पक समिति लमजुङका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार क्होलासोथरकै डुलुमाया गुरुङलाई पहिरोको जोखिमले विस्थापित हुनुपरेकाले २० हजार प्रदान गरिएको छ । मृतक, घर पूर्ण क्षति, आशिंक क्षति, विस्थापित परिवार र घाइतेलाई वितरण गरी बाँकी रहेको १७ हजार ५ सय रुपैया अभिभावकसहित बहिनी र घर दुवै गुमाएका बगुमका निरज गुरुङलाई प्रदान गरिएको मिना गुरुङले बताउनु भयो । उहाँका अनुसार आमा, बहिनी र घर गुमाएका निरजले तीन लाख १७ हजार ५ सय ४० रुपैया राहत रकम पाएका छन् ।
पिडित परिवारलाई राहत वितरण कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवाराज अधिकारी, क्वहोलासोथर गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङले दाताहरूको सहयोगप्रति कृतज्ञतासहित धन्यवाद ज्ञापन गर्नु भएको थियो । पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारीसहित जिल्लाका क्रियाशील पत्रकारहरूको रोहवरमा लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङका संरक्षक जमिन्द्रमान घले, सचिव मेघेन्द्र पोख्रेल, लमजुङ सेवा समिति हङकङका सहसचिव दिनेश गुरुङ, कार्यसमिति सदस्य पुष्पादेवी गुरुङ र पूर्व कार्यसमिति सदस्य तिलकवहादुर क्षेत्रीले संयुक्त रुपमा राहत रकम वितरण गर्नुभएको थियो ।
सो कार्यक्रममा लमजुङ सेवा समिति हङकङका पूर्व सल्लाहाकार एवं बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामवहादुर गुरुङले विदेशमा बसेर पैसा कमाउन सजिलो नभएको भन्दै आफ्नै पालामा समाजको गतिविधि सुरु भएको हो तर म भने गाउँ फर्केर समाजसेवा गर्ने क्रममा बेसीशहर खानेपानी उपभोक्ता समिितको अध्यक्ष भएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा क्होलासोथार गाउँपालिका– ३ का वडाअध्यक्ष आशवीर गुरुङ, दोर्दी गाउँपालिको– ९ का वडा अध्यक्ष आशीष तामाङ, पिडित परिवारका सदस्यहरूको सहभागिता थियो ।
अनौपचारिक रुपमा सञ्चालन गरिएको सो कार्र्यक्रममा लमजुङ सेवा समिति हङकङ, सम्र्पक समिति लमजुङका अध्यक्ष मिना गुरुङले कार्यक्रम सञ्चालन गर्नु हुँदै सो समितिले गर्दै आएका विविध गतिविधिकाबारेमा समेत जानकारी दिनुभएको थियो ।
प्रकाशित मिति २०८१ श्रावण ११, शुक्रबार १९:४० गते