काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम स्वीकृत नगर्ने निर्णय गरेको छ । बसेको बैठकले प्रधानको नाम साउन १४ गते अस्वीकार गरेको हो ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० का नियम २६ उपनियम ५ बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय भएको सार्वजनिक भएको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले बताउनु भयो । उहाँका अनुसार निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानले आफ्नो नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ ।
असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइका क्रममा एक महिलाले प्रधानले आफूलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् । पीडितले उजुरी दिएपछि प्रधान विवादित भएका थिए । उनको उच्च नैतिक चरित्र नदेखिएको भन्दै विवाद भएको थियो । समितिबाट आफ्नो नाम अस्वीकृत हुने निश्चित भएपछि उनले फिर्ताको निवेदन दर्ता गरेका थिए ।
समितिले उजुरीकर्ता महिला र प्रधानसँग पनि यसबारेमा छलफल गरे पनि निर्णय गर्न ढिलाइ गरिरहेको थियो ।
त्यसपछि प्रधानले आफैं नाम फिर्ता लिएर संसदीय समितिको सचिवालयमा निवेदन दिएका थिए । अन्तिममा त्यसै निवेदनलाई आधार बनाएर समितिले प्रधानको नाम अनुमोदन नहुने निर्णय गरेको हो ।
प्रकाशित मिति २०८१ श्रावण १४, सोमबार १९:५६ गते