काठमाडौं– नेपाल पूर्वप्रहरी कलाकार संघले गीत, संगीत र कलाका गुरुहरूको स्मृतिमा कलासाधनामा स्थापित स्रष्टाहरूलाई पुरस्कार र सम्मान अर्पण गरेको छ । गुरुपूर्णिमाको पावन अवसरका सन्दर्भमा नेपाल प्रज्ञाप्रतिष्ठान स्थित सिद्धिचरणप्रवचन कक्षमा आयोजित कार्यक्रममा उक्त सम्मान गरिएको हो ।
सम्मानित हुनुहुनेहरूमा गीतकार श्रीपुरुष ढकाललाई, संगीतकार शिलाबहादुर मोक्तानलाई, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहुन्छ । उहाँहरूलाई क्रमशः चेतन कार्की गीति वाङ्मय पुरस्कार २०८१, गोपाल योन्जन संगीत साधना पुरस्कार २०८१ र हाडा एन्ड पाल हास्यवाङ्मय पुरस्कार २०८१ प्रदान गरिएको हो । कार्यक्रमका प्रमुखअतिथि अवकाशप्राप्त प्रहरी महानिरीक्षक दुर्लभकुमार थापाले उहाँहरूलाई ती पुरस्कार हस्तान्तरण गर्नु भएको हो । कलाकार हरिवंश आचार्य अस्वस्थ भै अनुपस्थित भएकोमा उहाँका छोरा मोहित आचार्यले उक्त सम्मान पुरस्कार लिनु भएको थियो ।
‘सानालाई माया स्रष्टालाई सम्मान, लोक संस्कृति बचाउने हाम्रो अभियान’ मूल उद्देश्य बोकेको नेपाल पूर्वप्रहरी कलाकार संघले कलसंस्कृतिको उत्थानका लागि समयसयमका यस्ता ऐतिहासिक कार्य गर्दै आएको छ ।
कार्यक्रममा सर्जक, कलाकार गुरुका परिवारका तर्फबाट श्रीमती गंगा कार्की, श्रीमती रेन्चन योन्जन, राजपाल थापाका सुपुत्र कपिल थापा र श्रीमती हाडाको उपस्थिति रहेको थियो ।
यसैगरी कलाकार नीर शाह, बसुन्धरा भुषाल, भूवन चन्द थापा, चैत्यदेवीले पुरस्कृत साधकहरूलाई क्रमशः सम्मान गर्नु भएको थियो ।
संस्थापक संरक्षक क्षेत्रबहादुर गुरुङबाट स्वागत गर्नु भएको थियो भने संस्थाको वरिष्ठ सल्लाहकार कलाकार तथा पुरस्कार संस्थापक मिथिला शर्मा बोहराले सम्पूर्ण गुरुहरूप्रति आभार र श्रद्धा व्यक्त गर्दै गुरुहरूको ऋण कहिल्यै पनि तिर्न नसकिने औल्याउनु भएको थियो । उहाँले थप भन्नुभयो, ‘गुरुभेटी चढाएर उहाँहरूले देखाएको मार्गमा हिड्ने प्रयास मात्रै हो ।’
राष्ट्रगानबाट प्रारम्भ गरिएको कार्यक्रममा दिवंगत पूर्वप्रहरी कलाकारहरूलाई सम्झदै एक मिनेट मौनधारण गरिएको थियो । संघका कोषाध्यक्ष गीता गुरुङबाट कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।
अभिनन्दन र पुरस्कार वितरण पछि संस्थाका संरक्षक कलाकार क्षेत्रबहादुर गुरुङको टिमले नेपाली शिरपोश टोपीको गीत गाएर कार्यक्रम समाप्त भएको थियो ।
प्रकाशित मिति २०८१ श्रावण १५, मंगलवार ०८:५७ गते