बेचन झाको दोहोरो नागरिकता रहेको खुल्यो रहस्य

बेचन झाको दोहोरो नागरिकता रहेको खुल्यो रहस्य

एजेन्सी

@antaranganews

२०८१ साउन १५ गते मङ्गलबार ११:२५

सुरुका दिनमा श्रीमतीको नामबाटै नेपालमा व्यवसाय सुरु गरेका झाले पछि पुराना तराई क्षेत्रका कांग्रेस नेता एवं पूर्वमन्त्री वेदानन्द झाको परिवारसँग जोडिएका थिए ।

प्रहरीले माग्यो भारतीय पक्षसँग जानकारी

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको रहस्य प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता र भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेसँगै त्यस्तो खुलासा भएको हो ।
झालाई नेपाल प्रहरीको विशेष ब्यूरोको टोलीले पक्राउ गरेर १५ असारमा काठमाडौं ल्याएको थियो । त्यसै दिनदेखि उनी प्रहरी हिरासतमा रहेका छन् । झाले २०६३ को चैत १४ गते घुम्ती टोलीमार्फत वीरगञ्जबाट जन्मको आधारमा नेपाली नागरिकता लिएको देखिन्छ । नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज मात्र लेखिएको छ, वडानं र टोल उल्लेख छैन ।
तर, झाको व्यक्तिगत विवरणका आधारमा भारतको निर्वाचन आयोगको मतदाता सेवा पोर्टलमा हेर्दा उनी सन् २०२४ को लोकसभा चुनावमा बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ निर्वाचन क्षेत्रमा मतदाता रहेको देखिन्छ । पोर्टलमा उनको उमेर ६४ उल्लेख छ भने मतदान केन्द्र मरुकिया प्राथमिक स्कुल भएको उल्लेख छ ।
विस्तृत विवरणमा उनको आफन्तको नाममा दुखनमोचन झा लेखिएको छ ।
२०६३ सालमा लिएको नेपाली नागरिकताको प्रमाण–पत्रमा पनि उनको बुबाको नाम दुखमोचन झा नै लेखिएको ।
उनका छोरा विभांशुशेखर झाले ३० असारमा बुबालाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतलमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । तर, जिल्ला अदालतबाट म्याद लिएरै हिरासतमा राखेको देखिएको भन्दै सर्वोच्चले साउन ९ गते रिट निवेदन खारेज गरिदिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानमा उनले अधिकांश प्रश्नमा इन्कारी जवाफ दिएका छन् ।
बेचन झाको जन्म भारती भएर उतै रहे पनि लामो समयदेखि नेपालमा व्यवसाय गर्दै आएको देखिन्छ अनुसन्धानमा संलग्न एक अधिकृतले भने । उनका अनुसार बेचन झाको पृष्ठभूमि हेर्दा उनको जन्म भारतमै भएपनि लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दै आएको देखिन्छ । यद्यपि, बेचनले नागरिकता आवश्यकता अनुसार दुवैतिरको चलाइरहेको देखिएको त्यो स्रोतले बताएको छ ।
त्यसैगरी निवेदन दिएका छोरा विभांशुशेखर झाले पनि सन् २०२४ को भारतीय लोकसभा निर्वाचनमा योग्य मतदाताको रुपमा उल्लेख छ ।४० वर्षका उनको मतदान केन्द्र पनि मरुकियाको प्राथमिक स्कुल नै रहेको मतदाता सेवा पोर्टलमा उल्लेख छ ।
अर्का छोरा जिष्याशुशेषर झा र पत्नी चन्द्रिका देवीको पनि मतदाता नामावलीमा नाम उल्लेख छ ।
झाको दोहोरो नागरिकताबारे छानबिन भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताउनु भएको छ । उहाँका अनुसार भारतमा पनि नागरिकता रहेको भन्ने खुलेपछि कूटनीतिक च्यानलमार्फत नै विवरण माग गर्दै पत्राचार गरिएको छ । उहाँले भन्नुभयो, ‘उपत्यका प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयसम्म पुगेर भारतीय पक्षसँग आधिकारिक विवरण माग्छौं ।’
बेचनका बुबा भारतीय नागरिक नै भएकोमा अनुसन्धानका संलग्न अधिकृतहरू ढुक्क देखिन्छन् । उनीहरूका अनुसार नेपाली नागरिकसँग विवाह गरेपछि बेचनले यता पहुँच बढाएको खुलेको छ’, ती अधिकृत भन्छन्, ‘विवाहपछि उनी पुराना तराई क्षेत्रका कांग्रेस नेता एवं पूर्वमन्त्री वेदानन्द झाको परिवारसँग जोडिएका थिए ।’
जानकारहरू भन्छन् उनले सुरुका दिनमा श्रीमतीको नामबाटै नेपालमा व्यवसाय सुरु गरेका थिए । सामान्य ठेक्कापट्टा हुँदै पछि उनी विद्युतका सामग्रीको ठेक्कापट्टामा सक्रिय रहन थाले । सुरुमा भारतमा उत्पादन हुने विद्युतका उपकरणको आयातकर्ताका रुपमा काम थालेका झाले पछि अन्य मुलुकबाट पनि सामान ल्याउने थालेका हुन् । त्यसै क्रममा विभिन्न नेपाली व्यवसायी, कर्मचारी लगायतसँग उनी जोडिदै आएका हुन् ।

प्रकाशित मिति २०८१ श्रावण १५, मंगलवार ११:२५ गते
हजुरको प्रतिक्रिया