स्वर्णिम वाग्लेको उदघोष : मेरो देशभक्ति मेरो दैनिकी

स्वर्णिम वाग्लेको उदघोष : मेरो देशभक्ति मेरो दैनिकी

एजेन्सी

@antaranganews

२०८१ साउन १५ गते मङ्गलबार ०६:३९

प्रधानमन्त्री नरेन्द्र मोदी १० वर्षअघि यहीँ बोलेर जानुभयो । २ वर्षअघि उहाँलाई भेट हुँदा–महामहिम एचईटी, हाइवे, इन्फोवे, ट्रान्सवे, त्यत्रो एजेण्डा लिनुभएको थियो तर त्यसले गति लिएन नि ! भनेर मैले उहाँलाई भनेँ । त्यतिखेर विदेशमन्त्री जयशंकर हुनुहुन्थ्यो, नाकाबन्दी लगाएर इन्डियाले हिस्टोरिक ब्लन्डर गरेको छ भनेको छु ।

मध्य रातमा खुफिया एजेन्सी प्रमुखलाई बोलाउने छैनौँ : स्वर्णिम

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न लागिएको भन्दै खेद व्यक्त गर्नु भएको छ । रास्वपाका उपसभापति समेत रहनु भएका सांसद वाग्लेले प्रतिनिधि सभा बैठकमा विशेष समयमा आफ्नो राष्ट्रिय स्वाभिमानमाथि प्रश्न नगर्न आग्रहका साथ हिजोको बैठकमा एमाले सांसद रघुजी पन्तले लगाएका आरोपहरूको जवाफ दिदै साउन १५ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा युवा शक्ति र विदेशमा पढेको, अनुभव हासिल गरेको शक्ति भएको भन्दै उनीहरूलाई भ्रष्टाचारको आरोप लगाउन नसकिने भएको हुँदा अराष्ट्रिय भन्ने लाञ्छना लगाउन लागिएको बताउनु भएको छ । पञ्चायतकालमा कांग्रेस, कम्युनिष्टलाई अराष्ट्रिय तत्व भनिन्थ्यो भन्ने स्मरण गर्दै अहिले रास्वपालाई अराष्ट्रिय तत्वको रुपमा भाष्य निर्माण गर्न खोजिएकोप्रति आपत्ती व्यक्त गर्दै यसप्रति उहाँले खेद व्यक्त गर्नु भएको छ ।
उहाँले भन्नुभएको छ, ‘अरुको राष्ट्रवाद कागज र भाषणमा होला, मेरो देशभक्ति मेरो दैनिकीमा झल्कन्छ ।’ एमाले सांसद पन्तले २०८० साल फागुन २१ गते पार्टीको बैठकमा सांसद वाग्लेले भारतको पक्षधरता लिँदै अभिव्यक्ति दिएको आरोप लगाउँदै उहाँको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाउनु भएको थियो । त्यसको जवाफमा वाग्लेले आफू र आफ्नो दल राजनीतिमा नयाँ संस्कार स्थापित गर्न आएको बताउँदै नयाँ दललाई पञ्चायत कालमा काँग्रेस कम्युनिष्टलाई जस्तो ‘अराष्ट्रिय तत्त्व’ भन्ने जस्तो व्यवहार नगर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, ‘आफू र आफ्नो दललाई कुनै खुफिया प्रमुखलाई मध्यरातमा भेट्न आवश्यक छैन ।’
सांसद वाग्लेको भनाई जस्ताको त्यस्तै :
‘नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारस्परिक सम्मान विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य डायस्पोरा, एसियाको उदाउँदो भूराजनीतिलाई आत्मसाथ गर्दै नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सधैँ अक्षुण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ । कुरो नबुझ्ने, बुझेपनि विषयान्तर गर्ने, हाकाहाकी झुटै बोल्ने । पञ्चायत कालमा कांग्रेस कम्युनिष्टलाई अराष्ट्रिय तत्त्व भनिन्थ्यो । २१ जनामा १९ जना हामी ५० मुनीका छौं । एउटा युवा शक्ति छ, विदेश पढेका छन् । अब यिनीहरूलाई भ्रष्टाचारको आरोप लगाउन त सक्नुहुन्न । अक्षमताको आरोप त लगाउन सक्नुहुन्न । पञ्चायत कालमा लगाएको अराष्ट्रिय तत्त्वको झैँ आरोप लगाइरहनु भएको छ त्यसको हामी डटेर सामना गर्छौं ।’
‘राष्ट्रको चिन्ता गर्ने राष्ट्रवाद भएको भए आज अफगानिस्तान पछि दोस्रो तन्नम देश नेपाल रहने थिएन । चीन ३५ वर्षअघि ३३३ डलरबाट अहिले प्रतिवर्ष प्रतिव्यक्ति आय १३ हजार पुगेको छ । नेपाल १८५ बाट १३ सयमा गएर अड्किएको छ । दसौँ लाख युवाहरू बाहिर गएका छन् । चरम नैराश्य छ । यो कस्तो खालको राष्ट्रवादले तपाईँहरूले यो देशलाई त्यहाँ पु¥याउनु भयो ? हामी छिमेकी राष्ट्रहरूको उन्नयनमा प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमतालाई अक्षृण राख्दै आर्थिक लाभ लिने, हाक्का हाक्की संवाद गर्ने, आँखामा आँखा जुधाएर कुराहरू राख्ने, प्रधानमन्त्री नरेन्द्र मोदी १० वर्षअघि यहीँ बोलेर जानुभयो । २ वर्षअघि उहाँलाई भेट हुँदा–महामहिम एचईटी, हाइवे, इन्फोवे, ट्रान्सवे, त्यत्रो एजेण्डा लिनुभएको थियो तर त्यसले गति लिएन नि ! भनेर मैले उहाँलाई भनेँ । त्यतिखेर विदेशमन्त्री जयशंकर हुनुहुन्थ्यो, नाकाबन्दी लगाएर इन्डियाले हिस्टोरिक ब्लन्डर गरेको छ भनेको छु । चीनका मन्त्रीहरूलाई नक्सा फिँजाएर एयर कनेक्टीभिटीमा हामी किन चुक्यौँ भनेको छु । अर्को महिना १२ रास्वपा सदस्यको नेतृत्व गरेर चिनियाँ नेतृत्वसँग आमने सामने बहस गर्छु ।’
यसैगरी गरी उहाँले भन्नुभएको छ, ‘हामीलाई मध्य रातमा खुफिया एजेन्सीका प्रमुखहरूलाई बोलाएर गोप्य मन्त्रणा गर्नुछैन । कुनै नदीनालाका सम्धीहरूलाई देखाएर राष्ट्रघातको जगमा पार्टी नै फुटाउने दुस्साहस गर्नु छैन । हामी नयाँ संस्कृति, नयाँ राजनीतिकको संस्कार बसाउन आएका छौँ ।’
उहाँको थप भनाई छ, ‘अरूको राष्ट्रवाद कागज र भाषणमा होला, मेरो देशभक्ति मेरो दैनिकीमा देखिन्छ । मेरो देशभक्ति उन्नत विकल्पहरू त्याग्दै मैले रोजेको असाधारण कर्ममा देखिन्छ । मेरो आग्रह छ, नयाँ शक्तिलाई गलाउने, झुकाउने, क्यारिकेचर बनाउँने, स्ट्रमान बनाएर झुट बोलेर पन्छाउन सकिन्छ भनेर कसैले नसोच्नुहोला । यसको लागि नैतिक उचाइ र वैचारिक बल चाहिन्छ, त्यो सायदै कम मानिसमा छ । त्यसैले तपाईँहरूले सक्नुहुन्न, यो कुरा गर्न सक्नुहुन्न । नेपालको हितलाई केन्द्रमा राखेर घण्टौँ बहस गर्न जोसुकैसँग तयार छौँ ।’

प्रकाशित मिति २०८१ श्रावण १५, मंगलवार १८:३९ गते
हजुरको प्रतिक्रिया