खानीगाउँ(लमजुङ)– मर्स्याङ्दी नदी करिडोरका १४ स्थानीय तहका प्रमुखहरू सो क्षेत्रमा एकीकृत विकास गर्न सहमत भएका छन् । यसअघि गठित अन्तरपालिका समन्वय समितिको वैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेसँगै त्यस्तो खुलासा साउन १५ गते भएको हो ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका– ५ को यहाँ स्थित रकगार्डेन, खानीगाउँमा सञ्चालित बैठकले त्यस्तो निर्णय गरेको हो । सो बैठकमा मर्स्याङ्दी नदी करिडोरमा रहेका चार जिल्ला मनाङ, लमजुङ, तनहुँ र गोरखाका गरी १४ स्थानीय तहहरूका प्रमुख तथा अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृतहरूले सहभागिता रहेको थियो । ‘बैठकले जतिसक्दो छिटो सुन्दरबार नगरपालिकामा विज्ञ सहितको बृहत शैक्षिक गोष्ठि सञ्चालन गर्ने निर्णय समेत गरेको’ मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार बैठकले करिडोरका पालिकाहरू विचको सहकार्यलाई मजवुद बनाउदै लैजाने निर्णय गरेको छ । उहाँले भन्नुभयो, ‘त्यस विषयमा सो क्षेत्रका पालिका प्रमुखहरू सबै सकरात्मक देखिएको, अघिल्लो बैठकले निर्देशन गरे अनुसार शिक्षा सम्वन्धी तयार पारेको कार्यपत्र प्रस्तुत गरी सुझाव सहित पारित गरेको छ ।’
वर्तमान शिक्षाको अवस्था, चुनौती, समस्या, भावी कार्यदिशा लगायतको विषयलाई समेटेर कार्यपत्र तयार पारिएको थियो । बैठकमा लमजुङको सुन्दरबजार नगरपालिकाको संयोजनमा गठित शिक्षा समितिले तयार पारेको कार्यपत्र उपर छलफल गरि सुझाव सहित पारित गरिएको बैठकका सहभागीको भनाइ छ ।
अन्तरपालिका समन्वय समितिका संयोजक एवम् भानु नगरपालिका तनहुँका मेयर आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले मर्स्याङ्दी नदी करिडोरका साझा विकासको अवधारणाका साथ अघि बढ्ने यसअघिको सहमतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार सो विषयमा अवगत गराउन गण्डकी प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका प्रधानमन्त्री र केही महत्वपूर्ण मन्त्रालयका मन्त्रीहरूलाई भेट्ने र करिडोर अन्तर्गतका पालिकामा साझा विकासको योजनावद्ध विकासमा निकट भविष्यमै छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
स्थानीय तहहरूको दिगो र सन्तुलित विकासका लागि यो समन्वय समितिले आर्थिक, सामाजिक, सांस्कृतिक शैक्षिक तथा भौगोलिक विकासका दृष्टिकोणले विद्यमान सम्भावना र चुनौतीको सामूहिक अभ्यास गरी नतिजा हासिल गर्ने उद्देश्य लिएको भानु नगरपालिकाका आनन्दराज त्रिपाठीले बताउनु भयो । उहाँका अनुसार सोही उद्देश्य प्राप्तिका लागि समन्वय समिति गठन गरि काम गर्दै आएको छ । उहाँले भन्नुभयो, ‘समितिबाट चयन भएका साझा चुनौती र सम्भावनाको वस्तुगत विश्लेषण गरी सामूहिक उद्देश्य प्राप्त गर्न समिति लागिपरेको छ ।’
मर्स्याङ्दी नदी करिडोरका अन्तरपालिका समन्वय समितिमा मर्स्याङ्दी नदि करिडोर अन्तर्गत रहेका मनाङ, लमजुङ, तनहूँ र गोरखा जिल्लाका १४ वटा स्थानीय तह आवद्ध भएका छन् । सो बैठकमा ती पालिकाका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागिता थियो ।
मर्स्याङ्दी करिडोर समन्वय समितिमा तनहुँ जिल्लाका भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, गोरखा जिल्लाका पालुङटार नगरपालिका, गोर्खा नगरपालिका, शहीद लखन गाउँपालिका रहेका छन् । यसैगरी, सो समितिमा मनाङको सदरमुकाम रहेको चामे गाउँपालिका, मनाङको प्रवेश नाका रहेको नासों गाउँपालिका र ङिस्याङ गाउँपालिका रहेका छन् । लमजुङको राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका, बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका समेत १४ पालिका रहेका छन् ।
सामुहिक उद्देश्य प्राप्त गर्न समय समयमा अन्तरपालिका समन्वयतात्मक छलफल र बैठकको आयोजना गरिँदै आएको हो । उक्त समन्वय समितिको आगामी बैठक कार्तिक महिनामा मनाङको चामे गाउँपालिकामा बस्ने निर्णय गरिएको बैठकका सहभागीहरूको भनाइ छ ।
प्रकाशित मिति २०८१ श्रावण १७, बिहीबार ११:५० गते