सुन्दरबजार– लमजुङको सुन्दरबजारमा घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व भब्य रुपमा मनाइएको छ । सुन्दरबजार नेवाः खलःको आयोजनामा सो पर्व साउन १८ गते मनाइएको हो ।
यो पर्व नेवाः समुदायले प्रत्येक वर्षको श्रावण कृष्ण चतुदर्शीका दिन मनाउने प्रचलन छ । नेपारी संस्कृतिमा महत्वपूर्ण चाडपर्व मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी नेवार समुदायको भएको सुन्दरबजार नेवाः खलःका निबर्तमान अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले बताउनु भयो ।
परापूर्वकालदेखि नेवा समुदायले मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप तीनखुट्टे राक्षसको स्वरूप बनाई उभ्याइने चलन छ ।
सो दिन बिहानै केटाकेटीले बाटामा डोरी टाँगेर पैसा माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै खोलामा लागि जलाउने चलन छ । सोही परम्परा अनुसार आज सुन्दरबजारका नेवाः खलःले राक्षसको प्रतीक घिसार्दै पाउँदी खोला दोभानमा लगि जलाउने काम गरेको नेवाः खलःका सदस्य लक्ष्मणबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८१ श्रावण १८, शुक्रबार २१:२५ गते