लमजुङ– माध्यामिक शिक्षा (एसईई) पूरक परीक्षा लमजुङ जिल्लामा पनि जारी छ । साउन २३ गतेबाट सुरु भएको सो परीक्षाको आज २४ गते दोस्रो दिन हो ।
हिजो पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको थियो भने आज दोस्रो दिन नेपालीको परीक्षा भएको हो ।
जिल्लामा सञ्चालन भएको पूरक परीक्षाका लागि हिजो अंग्रेजी विषयको परीक्षा दिन ३६० जना परीक्षार्थीहरूले आवेदन फारम भरेपनी ३५२ जना मात्र परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख बिरबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम बेसीशहर स्थित जनविकास माध्यमिक विद्यालय र भोटेओडारको भक्ति नमूना माध्यामिक विद्यालयलाई एसईई पुरक परीक्षा संचालन गरिरहेको छ ।
गुरुङले भन्नुभयो, ‘पहिलो दिन जनविकास माध्यमिक विद्यालयमा ५ जना र भक्ति नमूना माध्यामिक विद्यालयमा ३ जना गरी जम्मा ८ जना प्रशिक्षार्थी परीक्षामा सहभागी भएनन् ।’ त्यस्तै आज दोस्रो दिन नेपाली विषयको परीक्षामा ६ जना अनुपस्थित रहे । आज ९१ जना सहभागी भएका मध्ये जनविकास माविमा ४४ जना र भक्ति नमूनामा ४७ जना रहेका छन् ।
दुबै केन्द्रको परीक्षाको अनुगमन गर्दै पहिलो र दोस्रो दिनको परीक्षा शान्त वातावरणमा सञ्चालन भएको आफूले पाएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला परीक्षा संयोजक बुद्धबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार बाँकी दिनका परीक्षाहरू पनि यसरी नै शान्त वातावरणमा सम्पन्न गर्न सम्बन्धित केन्द्राध्यक्षहरूलाई निर्देशन दिइएको छ ।
भोलि गणित विषयको परीक्षा :
परीक्षा बोर्डको निर्धारित कार्यक्रम अनुसार भोलि साउन २५ गते गणित विषयको परीक्षा हुने भएको छ । लमजुङबाट भोलिको परीक्षामा ६८१ जना सहभागी हुने कार्यक्रम रहेको जानकारीमा आएको छ । तीमध्ये बेसीशहर परीक्षा केन्द्रमा ३६२ जना र भोटेओडार परीक्षा केन्द्रमा ३१९ जना परीक्षार्थी भाग लिने भएका छन् ।
होम सेन्टर नपर्दा विलखबन्द :
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एइइई)को परीक्षाको नियमिततर्फ पुरकको परीक्षा केन्द्र रहेका दुवै विद्यालय जनविकास र भक्ति नमूनाले न्यून संख्यामा मात्र विद्यार्थी उतीर्ण गराउने सकेका थिए । होम सेन्टर भए पछि विद्यार्थीलाई निर्धक्क लेख्न दिने वातावरण बनाई धेरै परीक्षार्थी उतीर्ण गराउने दाउमा रहेको दुवै विद्यालय होम सेन्टर नपरेपछि भने विलखबन्दमा परेको बुझिन आएको छ । यसैले परीक्षाको मर्यादाका मात्रा निर्धारण गर्ने आंकलन समेत गरिएको छ ।
सायद त्यही कारण एक केन्द्राध्यक्षले पत्रकारलाई परीक्षा प्रवेश कक्षमा प्रवेश समेत निषेध गरेका थिए । तर पछि प्रजिअ गुरुङसँग सम्पर्क गरेपछि भने पत्रकारले परीक्षा हलमा प्रवेश पाएका थिए ।
कुन परीक्षा केन्द्रमा कुन कुल विद्यालय ?
भक्ति नमूना परीक्षा केन्द्रमा जिल्लाका दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिका, सुन्दरबजार नगरपालिका र राइनास नगरपालिका, बेसीशहर नगरपालिकाको जनविकास माध्यमिक विद्यालय र जिल्ला भित्रका सम्पूर्ण प्राविधिक विद्यालयका प्रशिक्षार्थीहरूले परीक्षा दिएका छन् । जिल्ला सदरमुकामको जनविकास माध्यमिक विद्यालय परीक्षा केन्द्रमा जिल्लाका मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोथार गाउँपालिका, बेसीशहर नगरपालिकाका अन्य विद्यालय, सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकाका सबै विद्यालय भक्ति नमूना माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एइइई)को पुरक परीक्षामा देशभरबाट दुई लाख ५२ हजार प्रशिक्षार्थी सामेल भएका छन् । यो वर्ष धेरै विद्यार्र्थी फेल भएको हुँदा उनीहरू सबैले परीक्षा दिन पाउने प्रवन्ध गर्नका लागि निवर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्नु भएको थियो । मन्त्री श्रेष्ठको सोही निर्णयको निर्देशनबाट परीक्षा बोर्डले एसइईमा एनजी अर्थात् ‘ननग्रेड’ आएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराएको हो ।
विराट न्यौपानेको सहयोगमा ।
प्रकाशित मिति २०८१ श्रावण २४, बिहीबार १९:५३ गते