खत्रीठाँटी(लमजुङ)– लमजुङमा गरीबीको पीडा सहन गर्न नसकी आत्महत्या गर्न बाध्य भएकी सुन्दरबजार नगरपालिका– ६ खत्रीठाँटीकी अप्सरा विकको परिवारले झण्डै दुई लाख रुपैयाँ नगद सहयोग पाएको छ । अप्सराको छिमेकीसमेत रहनु् भएका राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक धर्म केसीले आफूमार्फत संकलन भएको ४९ हजार रुपैयाँ हस्तान्तरण क्रममा त्यस्तो जानकारी त्यो परिवारले साउन २७ गते दिएको हो ।
अन्तरङ्ग न्यूज डटकममा ‘गरीबीको पीडा सहन गर्न नसकी आत्महत्या गरेकी अप्सराको काजकिरिया खर्चको पनि अभाव’ शीर्षक समाचार प्रकाशित भएपछि उक्त सहयोग रकम जुटेको हो ।
चार छोरीकी आमा ३६ वर्षीया अप्सराले गरीबीको पीडा सहन गर्न नसकी गत असारको अन्तिम सातामा आत्महत्या गरेकी थिइन् । उनको खत्रीठाँटी स्थित घरमै गएर एक कार्यक्रम गरी अप्सराको स्वर्गीय आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धाञ्जली अर्पण गर्दै धर्म केसीले आफ्नो बैंक खातामा संकलन भएको २३ हजार रुपैयाँको चेक अप्साराका चार छोरीहरूलाई संयुक्त रुपमा सोही वडाका अध्यक्ष दिनेशबाबु कोइरालाले हस्तान्तरण गर्नु भएको थियो । सोही क्रममा धर्म केसीले आफ्नो साथमा संकलन भएको नगदमा आफूले समेत पाँच हजार रुपैयाँ थप गरी १३ हजार रुपैयाँ नगद केसीले उनीहरूलाई हस्तान्तरण गर्नु भयो ।
त्यस अवसरमा केसीले दुःख लुकाउन नहुने र आपसमा बाड्नु पर्ने बताउनु भयो । उहाँले हामीभन्दा पनि बढी पीडा सहन गर्नेहरु कति छन्, यस्तो बेलामा सहयोग गर्ने समाज तथा सहयोगी दाजुभाइहरू छन् भन्ने प्रेरणा लिएर अघि बढ्नु पर्छ हरेश खानु हुँदैन भन्नुभयो । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले अप्सराका छोरीहरूको पढाईको वस्तुस्थितिका बारेमा बुझ्दै उनीहरूलाई थप मेहनतका साथ पढेर समाजमा गर्व गर्न लायकको व्यक्तित्व बनाउनु पर्छ, केही परेमा सहयोग गर्न हामी तयार छौ भन्ने उनीहरूलाई ढाडस दिने काम गर्नु भएको थियो ।
उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रमका अवसरमा रास्वपाका सुन्दरबजार नगरका सभापति श्याम केसी, जिल्ला सल्लाहकार परिषदका जिल्ला सचिव बाबुराम अधिकारी लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा धर्म केसीका साथीहरूले अप्सराकी जेठी छोरी रसिलाका नाउँमा रहेको बैंक खातामा पठाएको नगद १३ हजार रुपैयाँसमेत कुल ४९ हजार रुपैयाँ धर्म केसीमार्फत आफ्नो परिवारले पाएको अप्सराकी माहिली छोरी रुपसिनाले जानकारी दिइन् । उनका अनुसार आज(साउन २७ गते)का दिनसम्म हामीले पुगनपुग दुई रुपैयाँ पायौं होला, सबै हिसाव गर्न बाँकी छ । उनले भनिन्, ‘बैंक खाता बेसीशहरमा भएको हुँदा पनि दिनदिनै कति जम्मा भयो ? भन्ने थाहा हुँदैन, १०– १२ दिनमा बैंकमा गएर हेर्ने गरेकी छु ।’
त्यो परिवारलाई सहयोग गर्नेमा सुन्दरबजार चेम्बर अफ कमर्श, स्थानीय कालिका युवा क्लबमार्फत उपलब्ध नगद सहयोगका साथमा सोही वडा कार्यालयले चामल, दाल, चिनी लगायतका खाद्यान्न सहयोग गरेका थिए । यसैगरी, रास्वपा सुन्दरबजारका अध्यक्ष श्याम केसीले आठ हजार रुपैयाँ सहयोग गर्नु भएको थियो ।
त्यस बाहेक गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत साना दुई छोरीलाई प्लस टुसम्म पढ्ने प्रवन्ध गरिएको छ । लमजुङका अपाङ्ग अभियानकर्मी चन्द्रकान्त पौडेलले कान्छी छोरीलाई सरकारी विद्यालयमा प्लस टुसम्म पठाउने व्यक्त गर्नु भएको प्रतिवद्धतालाई अब उनले प्लस टु उतीर्ण नगर्दासम्म वार्षिक २५ हजार रुपैयाँ त्यो परिवारलाई प्रदान गर्ने जानकारी दिनु भएको छ ।
साथै आफ्नो परिवारमा छिटफुट सहयोग आउने क्रम जारी रहेको रुपसिनाले बताइन् । उनले आफू र आफ्नो परिवारलाई यस्तो दुःख परेको बेलामा सहयोग गर्ने दाताहरू सबैप्रति धन्यवाद व्यक्त गरेकी छन् । ‘हाम्रो साँझ विहानको छाक समेत बस्ने स्थिति बनिरहेको थियो, आमाले त्यस्तो अवस्थामा हामीलाई छाडेर जाँदा, एकातिर त्यो पीडा अर्कोतिर उनको काजकिरिया समेत के कसरी गर्ने ? खर्च नभएर अन्योल थियो, बाबाको अवस्था पनि(बिरामी) त्यस्तै ।’
उनले भनिन्, ‘सानी बैनीले त बुझ्ने बेला भएको थिएन, हामी तीन बहिनीहरूसँगै बसेर रुन्थ्यौं ।’ आमाले छाडेर गएको तेस्रो दिन अचानक पत्रकार पहाडी हाम्रोमा आउनु भयो, हाम्रा बारेमा विभिन्न कुराहरू सोध्नु भयो, कहिल्यै नदेखेको मान्छे आएर के के कुरा किन सोधिरहेको छ ? भन्ने पनि हामीलाई लाग्यो, पहिलो पटक भएर कति कुरा भन्न पनि सकिएन, उहाँले हाम्रो दुःख र पीडाका बारेमा अन्तरङ्ग न्यूज डटकम, राजधानी, आदर्शसमाज दैनिक, अन्तरङ्ग साप्ताहिकमा समाचार लेखीदिनु भएको हुँदा राम्रो भएको छ । अन्यथा आज हाम्रो अवस्था कस्तो हुन्थ्यो होला ? अब त आमा नभए पनि हाम्रा लागि समाज रहेछ, सञ्चारमाध्यम हाम्रा अभिभावक हुँदारहेछन् भन्ने लागेको छ रुपसिनाले थप सुनाइन् । उनले भनिन् ‘पत्रकार पहाडीले हामीलाई लगानु भएको गुण हामी जीवनभर तिरेर सक्ने छैनौं ।’
अप्सराका श्रीमान् रुपबहादुर विकले आरनको कामबाट कमाई गरी परिवारको पालनपोषण गर्ने तथा छोरीहरू पढाउने काम गरिआउनु भएको रहेछ । उहाँको मानसिक सन्तुलन खल्बलिएरपछि उपचारमा पनि धेरै खर्च भएछ, आजका दिनमा पनि मासिक २ हजार २५ सय रुपैयाँको औषधि खानु पर्ने, त्यो औषधि पनि यतातिर नपाएर काठमाडौंबाट मगाउनु पर्ने रहेछ । चार छोरीमध्ये जेठी रसिलाले कक्षा १२ को पढाई पुरा गरी नतिजाको प्रतिक्षा गरिरहेकी, माहिली रुसविना कक्षा १२ मा भर्नाको तयारीमा रहिछन् । यसैगरी, साहिली रोजिना कक्षा– १० मा र कान्छी छोरी कक्षा– ३ मा अध्ययन गरिरहेकी रहेछन् । उनीहरू चारैजना दिदी बहिनी सामुदायिक भएर पनि बोर्डिङ शैलीमा पढाई गर्ने स्थानीय विद्याज्योति माविमा अध्ययन गर्दा रहेछन् ।
श्रीमान्को उपचार गर्न बैंकबाट लिएको दुई लाख ५० हजारको किस्ता तिर्न सक्ने, छोरीहरूको पढाई खर्च बेहोर्न तथा लवाई खवाई गर्न तथा श्रीमान्को उपचार गर्न खर्च जुटाउन सक्ने अवस्था नदेखेपछि अप्सराले आत्महत्या गरेको खुल्न आएको थियो ।
प्रकाशित मिति २०८१ श्रावण २७, आईतवार १८:२४ गते