बेसीशहर– लमजुङ सुनचाँदी व्यवसायी संघको नवौँ साधारण सभा एवम् चौथौं अधिवेशन विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । अधिवेशनले संघको जिल्ला अध्यक्षमा यहाँको भिमसेन स्थान स्थित जयलक्ष्मी सुनचाँदी पसलका प्रोपाइटर विश्वकर्मालाई अध्यक्षमा साउन २६ गते सर्वसम्मत चयन गरेको हो ।
नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर सुनार, उपाध्यक्षमा तोत्रबहादुर सुनार, सचिवमा बलराम विश्वकर्मा, सहसचिवमा सुनिल सुनार र कोषाध्यक्षमा डिलबहादुर सुनार चयन हुनुभएको छ । समितिको सदस्यहरूमा गणेशबहादुर विश्वकर्मा, विपुल विश्वकर्मा, बाबुराम सुनार, सुन्तली सुनार रहेको कार्यालय सचिव सरोज विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला कार्यसमिति सदस्यमा हर्कबहादुर खाती र प्रकाश विश्वकर्मा पनि मनोनित गरिएको छु ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाईलीको प्रमुख आतिथ्तामा भएको हो । सो साधरणसभा एवम् अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष रसाईलीले सुनचाँदी व्यवसायीहरुले सुनसम्बन्धी मुद्दाहरूमा निकै समस्या झेल्नुपरेको बताउँदै व्यवसायीको पक्षमा वकालत गर्ने गरी महासंघले त्यस्तो समस्या परेमा पाँच मिनेटभित्र कानुन व्यवसायी उपलब्ध गराइने उहाँले बताउनुभयो । देशको जुनसुकै कुनाका समस्यालाई सम्बन्धित जिल्लामै रहेर वकालत गर्दै आएका कानुन व्यवसायीलाई उपलब्ध गराइने उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष रसाइलीले आफू अध्यक्ष भएपछि भइपरी आउने समस्या समधानका लागि राहत कोष स्थापना गर्ने, व्यावसायीलाई आन्तरिक लेखा परीक्षण सञ्चालन गर्ने, व्यावसयीहरूको आधिकारीक मापदण्ड अर्थात आचारसंहिता निर्माण गर्ने लगायतका कामलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो । भन्सारमा लाग्ने राजस्व कम गर्नका लागि सरकारसँग पहल गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले आचारसंहिता निर्माण गरेर सम्वन्धित निकायमा पेश गरिएको भन्दै भदौ १ गते सवै व्यवसायीको हातहातमा आउने गरि काम अगाडि बढेको बताउनुभयो । महासंघले निर्देशिका निर्माणको प्रक्रिया पनि अगाडि बढाएको उहाँले उल्लेख गर्नुभयो । सुनचाँदी व्यावसायीलाई अनुगमनको नाउँमा प्रशासनले बारम्बार दुःख दिने गरेको स्मरण गर्दै बैंक र प्रशासनले व्यावसायीलाई निकै दुःख दिने गरेको गुनासो बढेकाले छ, त्यस्तो समस्या समधानका लागि महासंघ प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सुनचाँदी महासंघका बिशिष्ट सदस्य मोहनकुमार सुनार, गण्डकी प्रदेश सभापती चन्द्र किशोर गौतम, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधी, छिमेकी जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष एवम् प्रतिनिधी, राष्ट्रिय बाणिज्य बैंक बेसीशहर शाखा प्रमुख धर्मप्रसाद खनाल, लमजुङ सुनचाँदी व्यवसायी संघका सल्लाहकार मनिलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संघले कार्यालय सचिव सरोज विश्वकर्मालाई नगद सहित सम्मान गरेको छ । रेडियो मस्र्याङदीका बजार प्रमुख समेत रहेका विश्वकर्मालाई कार्यालय व्यवस्थापन सँगै संघको हितमा उल्लेखनीय योगदान पु¥याएको भन्दै नगद १० हजार पाँच रुपैया सहित सम्मान गरिएको संघका अध्यक्ष देवबहादुर विश्वकर्माले बताउनु भयो ।
लमजुङ सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष देवबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्र तथा गण्डकी प्रदेशबाट उपस्थित पदाधिकारीहरूलाई समेत सम्मान गरिएको थियो ।
उद्घाटन सत्रमा संघका प्रथम उपाध्यक्ष बमबहादुर विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव कृष्णबहादुर सुनारले गर्नुभएको थियो । साधारण सभाको उद्घाटन सत्र पश्चात भएको वन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रकाशित मिति २०८१ श्रावण २८, सोमबार १७:५५ गते