बेसीशहर– लमजुङमा गुरुङ समुदायको विरासत बोकेको पुर्ख्यौली दावी गरिएको ‘उमे लिपी’ एक कार्यक्रम बीच यहाँ साउन २६ गते सार्वजनिक गर्नुभएको हो । उहाँले यो लिपिको खोजमा छ वर्ष विताएको जानकारी दिनुभयो ।
उहाँले सो लिपीबारेमा जानकारी गराउँदै सो सम्बन्धमा तयार पारिएको कार्यपत्र सहितको प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । उहाँले गुरुङ जातिको ऐतिहासिक पृष्ठभूमि, उमे लिपीको इतिहास र विकासक्रमकाबारेमा जानकारीका साथ उमे लिपी र गुरुङका (खेमा) पुर्खाहरूको अन्तरसम्बन्ध, उमे लिपी गुरुङको पुख्र्यौली लिपी भन्ने आधारहरू समेत प्रस्तुत गर्नुभएको थियो । गुरुङ जाति प्रारम्भमा हिमाली भेगमा बसोबास गर्ने आदिम सभ्यता बोकेको जाति मानिने भएकाले यसको भाषा, धर्म, संस्कृति, लिपी खोज अनुसन्धान पनि हिमाली जिल्ला अर्थात् पुर्ख्यौली थातथलोबाट प्रारम्भ गरिएको अभियन्ता गुरुङले जानकारी दिनुभयो ।
आफ्नो प्रस्तुतिका क्रममा अभियन्ता खेमजङ्गले यस कार्यमा आफूले छ वर्ष विताएको जानकारी दिदै लमजुङका गुरुङ गाउँ मनाङदेखि मुस्ताङका पनि सबै गुरुङ बस्तीमा आफू पुगेर त्यहाँका पुराना पाका मानिसलाई भेट गरी यसलाई अन्तिम रुप दिएको बताउनु भयो । उहाँका अनुसार यो लिपि तयार गर्ने कार्यमा स्वदेशी एक जना र विदेशी दुई जना प्राध्यापकले सहयोग रहेको थियो । त्यस्तै, एक जना क्यामेरा म्यान, कम्प्युटर चालक लगायत अन्य तीन जनाको पनि विशेष सहयोग रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो पहिलो चरणको कार्य गुरुङको पुर्ख्यौली थलोमा यो लिपि सार्वजनिक भएको छ । यसपछि यसको ठूलो कार्यक्रम गण्डकी प्रदेशस्तरको पोखरामा, गण्डकी प्रज्ञाप्रतिष्ठानसँग मिलेर गर्ने योजना रहेको छ ।’ यस बारेमा गण्डकी प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङसँग पनि कुराकानी भएको छ । यो लिपिले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषाको प्रयोगमा समेत मद्दत पुग्ने विश्वास रहेको अभियन्ता गुरुङको भनाइ छ । पोखरापछि काठमाडौंमा बृहत कार्यक्रम गरी यस लिपिलाई दर्ता गर्ने योजना आफ्नो रहेको अभियन्ता गुरुङले सुनाउनु भयो ।
अर्को एक प्रसङ्गमा आफू निवृत्त भएर आएपछि गुरुङको केन्द्रीय समितिमा पुग्दा पनि सधैं लिपि छैन मात्र भन्ने तर खोजी कार्यमा कोही नलाग्ने गरे पाएँ । त्यसपछि एकजनाले निजी ‘खेमा लिपि’लाई लिएर आए, केन्द्रीय समितिले लहडको भरमा त्यसलाई पारित गरेको हुँदा आफू यस कार्यमा लागेको हो । यसले मान्यता पाउन २– ४ वर्ष लाग्न सक्छ तर गुरुङको विरासत प्राप्त लिपि नै यही हो, उनले दावाका साथ भने । यो लिपिको खोजमूलक कार्यमा गत कार्तिक महिनादेखि यता मात्रा आठ लाख रुपैयाँ खर्च लागेको अनुमान छ अभियन्ता खेमजङ्ग गुरुङले उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा लुम्बिनी विश्व विद्यालयका प्राध्यापक डा. पुष्पबहादुर गुरुङले मनाङ मुस्ताङसँग गुरुङ भाषा, लिपी, धर्म र संस्कृतिको सम्वन्धबारे जानकारी गराउनुभएको थियो । यसैगरी, डा. बालकृष्ण बरालले कुनै पनि लिपी एक जाति तथा समूह विषेशको नभई साझा हने भन्दै एउटै लिपीलाई धेरै भाषाले प्रयोग गर्दै आएको बताउँदै भाषालाई बचाउन सकिए संस्कार संस्कृतिलाई जोगाउन नसकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा मस्र्याङ्दी क्याम्पसका उपप्राध्यापक विनोद न्यौपानेले भाषा÷लिपीको खोजी निकै महत्वपूर्ण कार्य भएकाले पुख्र्यौली थलोमा पुगेर गरिएको अध्ययन गर्नु थप महत्वपूर्ण हुने बताउनुभयो । यस्तका खोजमूलक अनुसन्धानले जातीय संस्कार, संस्कृति, भाषा साथै लिपीको संरक्षणमा सहयोग पुग्ने उहाँको धारणा थियो ।
कार्यक्रममा पुरातनवादी तमू बज्रायानी लामा गुरु रुद्रप्रसाद गुरुङ, काठमाडौंस्थित नार गुम्बाका सल्लाहकार तथा उमे लिपीका ज्ञाता रिन्जिङ लामा, तमू बोन्पो लम संघका केन्द्रीय अध्यक्ष चोकबहादुर लेम तमू लगायतको सहभागिता रहेको थियो ।
बेसीशहरस्थित ५ वटै टोलका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी कार्यक्रमको सञ्चालन पत्रकार सविना चेपाङले गर्नुभएको थियो ।
प्रकाशित मिति २०८१ श्रावण ३१, बिहीबार १५:३९ गते