काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य साउन ३१ गतेदेखि राति १२ बजेदेखि लागू भएको हो ।
योसँगै खाना पकाउने एलपि ग्यास र गाडी भाडा कहिले घट्छ ? भन्ने प्रश्न आम जिज्ञासाको प्रश्न बनेको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रुपैयाँले घटेर आएको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किने बापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गर्छ ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ र डिजेलको मूल्य १५२.५० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यी क्षेत्रमा अब पेट्रोलको भाउ १६४ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५४ रूपैयाँ पर्नेछ ।
यसैगरी, तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ पर्नेछ ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।
आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्ने जनाएको छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ ।
प्रकाशित मिति २०८१ श्रावण ३२, शुक्रबार ०६:४० गते