पुतलीबजार(स्याङ्जा)– स्याङ्जा जिल्लामै पहिलो पटक आयोजित कविता महोत्सव ‘राष्ट्रिय खुल्ला कविता प्रतियोगिताक– २०८१’मा सिन्धुपाल्चोक पहिलो भएको छ । सो जिल्लाका कवि सुन्दर शिरीष उत्कृष्ट छनौट भएको प्रतियोगिताको पुरस्कार वितरण समारोहमा साउन ३० गते घोषणा गरिएको हो ।
‘नेपाली भाषा, कला, संस्कृती, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान’ भन्ने मूल नाराका साथ सो कविता महोत्सव एवम् प्रतियोगिताको आयोजना गरिएको हो । पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाको आयोजना तथा पुतलीबजार प्रज्ञा प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानको सह–आयोजनामा भएको कविता मार्फत साहित्यिक उन्नयन गरी स्याङ्जा जिल्लालाई साहित्यिक जिल्लाको पहिचान बनाउने सो महोत्सव तथा प्रतियोगिताको उद्देश्य रहेको आयोजकको भनाइ छ ।
उक्त कविता महोत्सव एवम् खुला कविता प्रतियोगितामा उत्कृष्ट २० प्रतिस्पर्धी मध्येबाट ‘देश फर्किरहेको देश’ शिर्षकको कविता सर्जक सुन्दर शिरीष उत्कृष्ट अर्थात पहिलो हुनु भएको हो । शिरिषको कविताको शीर्षक ‘देश फर्किरहेको देश’ रहेको थियो । यसैगरी, झापाका राजन सुवेदी दिपकको ‘हराएको देश’ दोस्रो, बाँकेकी चन्द्रावती अधिकारीको ‘म आए’ तेस्रो हुनुको साथै तनहुँका विनायक पन्तको ‘ब्रह्माण्ड मस्तिष्क’ शीर्षक र स्याङ्जाकी सम्झना थापा मगरको ‘सम्झनु त्यही मेरो देश हो’ शीर्षकको कविताले सान्त्वना स्थान हासिल गरेको कविता महोत्सव एवम् प्रतियोगिताका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा कविता प्रतियोगिताका पहिलो स्थान हासिल गर्नेलाई १५ हजार ५५५, दोस्रोलाई ११ हजार १११, तेस्रोलाई ७ हजार ७७७ र सान्त्वना स्थान हासिल गर्ने दुईलाई जनही ३ हजार ३३३ रुपियाँ नगदसहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
स्याङ्जा पुतलीबजार नगरपालिका– १ स्थित सिटीहलमा पुष्प–चन्द्र ट्रष्टका संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम नागरिक कुलपति कविवर स्व. केदारमान व्यथित र निष्ठाका पर्याय स्व. पुष्पमान श्रेष्ठको सम्झनामा महोत्सव आयोजना गरिएको हो ।
कविता महोत्सव समारोहमा उत्कृष्ट कविताका रूपमा छनौट भएका २० प्रतिस्पर्धीले स्वयं कविता वाचन गरेका थिए र निर्णायक मण्डलले उत्कृष्ट तीन कविता छनौट गरेको बताए । सो प्रतियोगितामा अमेरिका, बेलायत र मलेशिया सहित नेपालका ६ प्रदेश, ४८ जिल्लाबाट प्राप्त भएका १९९ कवितामध्ये निर्णायक मण्डलले पाँच प्रदेश र १४ जिल्लाका २० कवितालाई उत्कृष्ट कविताको रुपमा वाचनको लागि छनौट गरेको थियो ।
उक्त कविता महोत्सव तथा प्रतियोगिता सङ्गै पुष्प–चन्द्र ट्रष्टले विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिका स्थित ४ वटा सामुदायिक विद्यालयका पाँच सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
त्यस्तै, ट्रस्टले पुष्प–चन्द्र स्मृति सेवा पुरस्कार– २०८१ बाट फेदिखोला गाउँपालिका स्थित अमोर सेवा नेपाल(बालगृह) र एसईई परिक्षा २०८१ मा जिपिए ४.० ल्याई स्याङ्जा जिल्ला उत्कृष्ट भएका सुसान मरासिनीलाई सम्मान गरेको हो ।
नेवाः परम्पराको लाखे लगायत सांस्कृतिक, विभिन्न जातजातिका भेषभूषा, झाँकी प्रदर्शन सहित साहित्यिक सोभायात्रा गरी सिटीहलमा भएको उक्त समारोह करिब पाँच सय जनाको उपस्तिथिमा भब्यताका साथ सम्पन्न भएको आयोजकको दावी छ ।
तेस्रो स्थान हासिल गर्ने चन्द्रावती लमजुङे चेली :
उक्त प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल चन्द्रावती अधिकारी पोखरेल लमजुङको ऐतिहासिक थलो दुराडाँडाकी चेली हुनुहुन्छ । छन्द कविताका अतिरिक्त गजल, चारु, मुक्तक, गीत, सुसेली, साइनो, खोरिया, कोपिला लगायतका २ दर्जन भन्दा बढी लघुतम विधामा साधनारत उहाँले गायन तथा बाचनका क्षेत्रमा पनि आफ्नो नाम उचो बनाउँदै आउनु भएको छ ।
तोयनाथ स्मृती तथा हलोक्रान्ती प्रतिष्ठान, कर्मदा सिर्जना मञ्च नेपाल तथा दुराडाँडा कला साहिय प्रतिष्ठानको समेत उहाँ आजीवन सदस्य हुनुहुन्छ ।
हाल कोहोलपुर नगरपालिका– १० बाँकेमा रहेको त्रिभुवन मा.वि.को स्थायी शिक्षिकामा कार्यरत उहाँ सुसेली विधामा राष्ट्रियस्तरको प्रतियोगितामा प्रथम हुनु भई सुसेली गीत रेकर्ड गराउन सफल हुनु भएको छ भने दर्जनौं सम्मानबाट सम्मानित उहाँ त्यत्तिनै संस्थामा आबद्ध हुनुहुन्छ ।
प्रकाशित मिति २०८१ श्रावण ३२, शुक्रबार १९:०८ गते