काठमाडौं– डेंगु संक्रमितहरू सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएका छन् । त्यसमा पनि छिमेकी तनहुँ जिल्ला बढी संक्रमित देखिएको तथ्यांक रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले भदौ ३ गते जनाएको छ ।
गण्डकी प्रदेशमा १ हजार ४४८, बागमतीमा ९२८ फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ । सो महाशाखाका अनुसार सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । अहिलेसम्म मुलुकका ७४ जिल्लामा डेंगु संक्रमित फेला परेका छन् ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने गर्दछ ।
महाशाखाको तथ्यांक अनुसार कोशीमा ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५, काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५, पर्वतमा १३६, मकानपुरमा ९०, गोरखामा ८५ जना डेंगु संक्रमित भेटिएका छन् ।
पछिल्ला दिनमा गण्डकी प्रदेशका जिल्लाहरूमा डेंगु फैलिने क्रम बिस्तारै बढ्दै छ ।
फरक सेरोटाइपको संक्रमण भएमा जटिलता बढी हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले बताउनु भएको छ । उहाँका अनुसार पहिलो पटक डेंगुको जुन सेरोटाइपले संक्रमण गरेकोमा अर्को पटक पुनः त्यही सेरोटाइपले संक्रमण गर्दैन । तर दोस्रो पटक–फरक खालको सेरोटाइपले संक्रमण गर्दा जटिलता बढी हुन्छ ।
जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप फैलिनुमा बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण हुन् ।
डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल मानिन्छ ।
डेंगु मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन् ।
धेरैमा डेंगु कडा हुँदैन तर, कसैकसैमा भने डेंगु संक्रणले जटिल अवस्था आउन सक्छ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटेलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिर्नुपर्ने हुन्छ ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भए पनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।
दुई दशक अघिसम्म काठमाडौं उपत्यकामा विरलै मात्र लामखुट्टे लाग्थ्यो । पहाडी र हिमाली जिल्लामा कीराहरूबाट सर्ने ‘कीटजन्य रोग’ सायदै फैलिने गरेको थियो । तर केही वर्षयता तराईका भू–भागमा मात्रै हुने भनिएका रोगहरू पहाड हुँदै हिमाली क्षेत्रसम्मै पुगिसकेका छन् ।
डेंगुबाट बच्ने उपाय :
डेंगु लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।
ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्ने पर्छ ।
बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई व्यवहारमा उतार्नुपर्छ ।
अब मनसुन बिस्तारै रोकिँदै गएसँगै डेंगुका बिरामी बढ्न सक्ने इडीसीडीका अधिकारीहरूले बताएका छन् । अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।
लमजुङका साउनमा मात्रै ३० जनामा डेंगी संक्रमण पुष्टि :
लमजुङमा गत एक महिनाको अवधिमा ३० जनामा डेंगीको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । सो कार्यालयका अनु्सार साउन महिनामा मात्रै १७ जना महिला र १३ जना पुरुष गरी ३० जनामा डेंगीको सक्रमण पुष्टि भएको हो ।
डेंगीको संक्रमण सबैभन्दा बढी राइनास नगरपालिका, बेसीशहर नगरपालिकाका ७ जना, सुन्दरबजार नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, दोर्दी गाउँपालिकाका ३ जना, मस्र्याङ्दी गाउँपालिकाका २ जना र मध्यनेपाल नगरपालिकाका १ जनाका साथै जिल्ला बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । यो समाचार तयार गर्दा भदौ ३ गते साँझसम्म दुधपोखरी गाउँपालिका र क्व्होलासोंथार गाउँपालिकामा संक्रमित पुष्टि नभएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रवीण खनालले बताउनुभयो ।
प्रकाशित मिति २०८१ भाद्र ३, सोमबार १८:४६ गते