घैँटीको मूल्य लिएर आए नारायण

घैँटीको मूल्य लिएर आए नारायण

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ ४ गते मङ्गलबार ०९:४०

पोखरा, भदौ ४ गते । साहित्यकार नारायण मरासिनीको सातौँ कृति ‘घैँटीको मूल्य’ कथा सङ्ग्रह मङ्गलवार पोखरामा सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शन विभाग प्रमुख डा. कृष्णराज अधिकारीले कृतिको लोकार्पण गर्दै प्रगतिवादी...

पोखरा, भदौ ४ गते । साहित्यकार नारायण मरासिनीको सातौँ कृति ‘घैँटीको मूल्य’ कथा सङ्ग्रह मङ्गलवार पोखरामा सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शन विभाग प्रमुख डा. कृष्णराज अधिकारीले कृतिको लोकार्पण गर्दै प्रगतिवादी साहित्यिक क्षेत्रमा अध्ययन संस्कृतिमा कमी आएको टिप्पणी गरे । उनले सङ्ख्यात्मक रूपमा धेरै कृतिहरू प्रकाशन भए पनि गुणात्मक दृष्टिबाट कमजोर कृतिले हल्ला मच्चाउने गरेको धारणा राखे । नारायण मरासिनीले हल्लाभन्दा बाहिर रहेर असल साहित्य सिर्जनामा आफूलाई समर्पण गर्दै आएको भन्दै ‘घैँटीको मूल्य’ ले प्रगतिवादी साहित्यिक क्षेत्रमा विशेष महत्त्व राख्ने डा. अधिकारीको भनाइ थियो ।

कृतिको समीक्षा गर्दै मार्क्सवादी चिन्तक रामराज रेग्मीले कृतिमा घटनाप्रधान र चरित्रप्रधान गरी जम्मा १४ कथा समेटिएको बताए । सामन्तहरूको अत्याचारको विरोध गर्दै प्रगतिवादी चिन्तनमा स्पष्ट उभिएका कथा कृतिमा समेटिएको भन्दै रेग्मीले सफल प्रगतिवादी आख्यानकारका रूपमा मरासिनीलाई चिनाए । राजनीतिक दलभित्र देखिएका सामन्तवादी चरित्रको पर्दाफास गर्न कथाहरू सफल भएका उनको भनाइ थियो ।

कथाकार मरासिनीले आफूले देखेका र भोगेका घटनालाई कथामा उतार्ने प्रयास गरेको बताए । यसअघि उनका तीजको कोसेली (तीजगीत सँगालो), समयका धब्बाहरू (मुक्तक सङ्ग्रह), साने (खण्डकाव्य), रणभूमिबाट (कविता सङ्ग्रह), हेडसरका कथा (लघुकथा सङ्ग्रह) र बिहेको निम्तो (कथा सङ्ग्रह) गरी ६ कृति प्रकाशित छन् । पोखराका विभिन्न साहित्यिक संस्थामा आबद्ध मरासिनी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभाका सदस्यसमेत हुन् ।

गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षताम भएको कार्यक्रममा साहित्य शृङ्खलाकी अध्यक्ष लक्ष्मी थापा, धनबहादुर नेपाली, लोकबहादुर थापा, परशुराम कोइराला,  झलकपाणि तिवारी, बाबुराम पन्त, गेहेन्द्रेश्वर कोइराला, रघुनाथ अधिकारीलगायतले शुभकामना दिएका थिए । उपाध्यक्ष पदमराज ढकालले स्वागत गरेका कार्यक्रमको सञ्चालन कोषाध्यक्ष विजया सुवेदीले गरेकी थिइन् ।

प्रकाशित मिति २०८१ भाद्र ४, मंगलवार २१:४० गते
हजुरको प्रतिक्रिया