पहिरोले अबरुद्ध नागढुंगा सडक एकतर्फी खुल्यो : घाँसीकुवामा बन्द

पहिरोले अबरुद्ध नागढुंगा सडक एकतर्फी खुल्यो : घाँसीकुवामा बन्द

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ ५ गते बुधबार ०७:२८

घाँसीकुवामा १ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध भएको हो, सडक खुलाउनका लागि प्रहरी परिचालन गरिएको छ ।

नागढुंगामा वैकल्पिक मार्ग प्रयोगका लागि प्रहरीले समन्वय गरिरहेको जनाएको छ ।

डुम्रे(तनहुँ)– भारी वर्षा जारी रहँदा पहिरो खस्ने क्रम जारी रहेका कारण अवरुद्ध नागढुंगा सडक एकतर्फी खुलेको छ । आज भदौ ५ गते बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको ट्राफिक प्रहरीले जनाएको हो । यता घाँसी कुवामा गएको पहिरोका कारण पृथ्वी राजमार्ग भने अवरुद्ध हुन पुगेको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका– २ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको प्रहरी वृत्त थानकोटले जनाएको छ । सो प्रहरी वृत्तका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको छ ।
पहिरोका कारण पश्चिम भूभागबाट काठमाडौं भित्रने काठमाडौंबाट पश्चिम जाने सवारी साधन रोकिएका छन् ।
प्रहरीले काठमाडौंबाट बाहिरिने सवारी साधनलाई चेकप्वइन्टभन्दा अगाडि नै रोकेर राखेको छ ।
तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताउनु भयो । उहाँका अनुसार पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुन सक्ने सम्भावना छ । उहाँले भन्नुभयो, ‘सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने स्थिति छ ।’ उहाँले थप भन्नुभयो, ‘नागढुंगा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । जसका कारण काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान दिनभर ठप्प रहेको छ ।’
अहिले काठमाडौं उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको उहाँले उल्लेख गर्नुभयो ।
वैकल्पिक मार्ग प्रयोगका लागि प्रहरीले समन्वय गरिरहेको जनाएको छ ।
घाँसीकुवामा पहिरोले पृथ्वी राजमार्ग ठप्प :
यसैबीच, तनहुँको व्यास नगरपालिका– १२ घाँसीकुवा सडक खण्डमा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । निरन्तरको वर्षापछि आजै साँझ खसेको पहिरोले राजमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
‘पहिरो ठूलै गएको छ । पहिरो पन्छाउन समन्वय गर्दैछौं ।’ जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले बताउनु भयो । उहाँका अनुसार सडक खुल्न ४÷५ घण्टा पनि लाग्न सक्छ ।
१ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध भएको हो, सडक खुलाउनका लागि प्रहरी परिचालन गरिएको छ । घाँसीकुवामा साँझ ६ बजे ढिस्कोसहितको पहिरो खसेको तनहुँ प्रहरी भनाइ छ ।

प्रकाशित मिति २०८१ भाद्र ५, बुधबार १९:२८ गते
हजुरको प्रतिक्रिया