काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको राष्ट्रिय भेला आउदो असोज १ र २ गते काठमाडौंमा आयोजना गर्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकले साउन ५ गते त्यस्तो निर्णय गरेको हो ।
स्थानीय तहको आसन्न उपनिर्वाचन लक्षित पार्टी गतिविधिलाई तीब्रता दिने केन्द्रीय समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘विधानको धारा ९५(३) अनुसार धारा २३ ले परिकल्पना गरेको केन्द्रीय परिषद् गठन गर्ने र राष्ट्रिय भेला गर्ने, असोज १ र २ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाका लागि सहभागी हुने प्रतिनिधिहरूको छनौट विधि पनि बैठकले तय गरेको छ ।
केन्द्रीय परिषद्का सदस्य, पालिका र निर्वाचन क्षेत्रका समितिका प्रतिनिधि, प्रदेश समिति÷विभाग, गत निर्वाचनका प्रत्यक्ष एवं समानुपातिक उम्मेदवार राष्ट्रिय भेलामा सहभागी हुनेछन् । प्रतिनिधि छनोटका लागि गरिएको निर्णय अनुसार १३ सय बढी प्रतिनिधि राष्ट्रिय भेलामा सहभागी हुने छन् ।
भदौ महिनाभित्र सातै प्रदेशमा संक्षिप्त प्रशिक्षण स्वरूप पार्टी सभापतिको उपस्थितिमा विस्तारित छलफलहरू आयोजना गर्ने पनि सो पार्टीले जनाएको छ ।
उपनिर्वाचनमा भाग लिने :
रास्वपाले यसअघि २०७९ वैशाखमा भएको स्थानीय तह र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएको थिएन । २०७९ साल वैशाख ३० मा भएको स्थानीय निर्वाचनपछि मात्र रास्वपा गठन भएकाले त्यसबेलाको निर्वाचनमा सहभागी हुन पाएको थिएन ।
२०७९ असार ७ गते रास्वपा आधिकारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएकाले त्यसअघि सो पार्टी निर्वाचनमा सहभागी हुन पाएको थिएन । तर रास्वपा गठनपछि २०७९ मङ्सिरमा भएको संसदीय निर्वाचनमा उसले प्रदेशमा उम्मेदवार नउठाई सङ्घीय संसदमा मात्र उम्मेदवार उठाएर २० सिट जितेको थियो ।
रास्वपाले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पनि भाग लिने निर्णय गर्दै स्थानीय तहको आसन्न उपनिर्वाचन लक्षित पार्टी गतिविधिलाई तीब्रता दिने निर्णय गरेको छ ।
रास्वपा प्रतिनिधिसभामा बाहेक अन्य दुई तहको संरचनामा प्रतिनिधि विहीन छ ।
निर्वाचन आयोगले मंसिरको दोस्रो सातातिर उपनिर्वाचन गर्दा ठीक हुने प्रस्ताव सरकारसमक्ष गरेको छ । निर्वाचन आयोगका अनुसार विभिन्न कारणले गर्दा देशभरका ३५ स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष पद रिक्त छन् ।
कर्णाली विशेष अभियान :
रास्वपाले कर्णाली विशेष अभियान सञ्चालन गर्ने भएको छ । सो अभियान अन्तर्गत भदौ १५ गते कर्णालीमा प्रदेश भेला आयोजना गरी संगठन निर्माण र विस्तारलाई निरन्तरता दिने जनाएको छ । असोज ३ गते संविधान दिवसका दिन संविधान संशोधनसँग सम्बन्धित नीति मन्थन कार्यक्रम आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।
विज्ञप्तिमा थप भनिएको छ, भ्रष्टाचार मुद्दाको हदम्याद, सरकारबाट शिक्षालगायतका क्षेत्रमा भएको राजनीतिकरणको निरन्तरता, असमावेशी मन्त्रिपरिषद् र स्वार्थ बाझिने गरी मन्त्री नियुक्ति, डेडिकेटेड एवम् ट्रंक लाइन विद्युतको महसुल उठाउन गरिएको आनाकानी र नीतिगत भ्रष्टाचारका सन्दर्भमा सदनमा आवाज थप बुलन्द गर्ने उल्लेख छ । यी विषयमा रास्वपाले नागरिक समाजलाई राष्ट्रहितका पक्षमा निष्पक्ष रुपमा बोल्न र दबाब दिन पनि आव्हान गर्ने तयारी गरेको जनाएको छ ।
सरकारलाई जवाफदेही बनाउने :
भ्रष्टाचारका मुद्दामा सरकारलाई जवाफदेही बनाउन दबाब सिर्जना गर्न नागरिक समाजलाई आह्वान गर्ने भएको छ । अनियमितताका प्रकरणमा नागरिक समाज मार्फत सरकारलाई दबाब दिन आह्वान गर्ने केन्द्रीय समितिको बैठकले निर्णय गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘भ्रष्टचार मुद्दाको हदम्याद, अख्तियारले निजी क्षेत्रलाई हेर्ने, शिक्षामा दलीयकरण गर्ने, स्वार्थ बाझिनेलाई मन्त्री बनाउने काम भएको छ, यी मुद्दाहरूमा संगठित रुपमा विरोध गर्ने निर्णय भएको छ ।’
सभापति रवि भदौ ७ गते बयान दिन जाने :
यसैबीच, पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका रास्वपाका सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने बताउनु भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा सभापति रविले आफूलाई भदौ ७ गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको जानकारी दिनु् भएको हो ।
‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु, गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’ सभापतिले भन्नुभएको एक सदस्यले बताए ।
यसैबीच, केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानको धारा ५६ (४) बमोजिम अन्तिम पटक स्पष्टीकरणको मौका दिने पनि रास्वपाले निर्णय गरेको छ ।
सङ्घीय संसदमा रास्वपाका २१ सांसद रहेका छन् ।
रास्वपा स्थानीय तह २०७९ को निर्वाचनपछि स्थापना भएको हो ।
प्रकाशित मिति २०८१ भाद्र ५, बुधबार २०:१५ गते