आँबुखैरेनी (तनहुँ) – तनहुँको आँबुखैरेनी गाउँपलिका–२, ऐनापहरामा भएको यात्रुबाहक बस दुर्घटनामा २७ जना यात्रुको शव फेला परेको छ । ४३ जना यात्रु रहेको बस भदौ ७ गते दिँउसो मर्स्याङ्दी नदीमा खसेर दुर्घट्ना भएको हो । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट करिब दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा दुर्घट्नाग्रस्त भएको हो । उक्त बसका यात्रुहरूमध्य २७ जनाको निधन भएको छ भने १६ जनाको उपचार भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनु भयो ।
उहाँका अनुसार चालक दलका दुई जना र ४१ यात्रु भारतीय नागरिक रहेका थिए । उहाँले भन्नुभयो १५ महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
त्यसैगरी घटनामा १६ जना घाइते भएका सबैलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो । दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको हो । पछि थप चार जनालाई पनि हेलिकप्टरमै राखेर शिक्षण अस्पतालमा पठाइएको हो ।
दुर्घटना भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । दुर्घटनामा परेको बस शनिबार मात्रै निकालिने सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले बताउनु भयो ।
तनहुँ सदरमुकाम दमौलीमै पोस्टमार्टम हुने भए पनि भारतीय दूताबासको आग्रहमा पोखरा पठाउन लागिएको हो । पोखरा भारतीय दूताबासको कन्सुलर कार्यालय रहेकाले पनि पोखरा लग्न चाहेको प्रशासनले जनाएको छ ।
दुर्घटनामा चालकसहित ४३ जना परेको र सबैको उद्धार भइसकेको प्रजिअ गौतमले बताउनुभयो ।
उहाँका अनुसार गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौं हिँडेको थियो ।
दुर्घटनामा मृत्यु र घाइते हुनेको नामावलीः
अनंत ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चंदना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकश कोखी, रेखा कोखी, संदिप सरोडे, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह, नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादे ।
प्रकाशित मिति २०८१ भाद्र ७, शुक्रबार २२:४० गते