भूलमूले(लमजुङ)– दुई दिने हामखोला झरना ‘वाटरफल महोत्सव’ आकर्षक एवम् भव्य रुपमा यहाँ सम्पन्न भएको छ । भदौ ७ र ८ गते दुई दिनसम्म चलेको महोत्सवले उद्देश्य अनुसारको लक्ष्य हासिल गर्न सकेको आयोजक मर्स्याङ्दी गाउँपालिकाले जनाएको छ ।
हामखोला झरना ‘वाटरफल महोत्सव’को विशेषता तामझाम रहित हुनु, स्थानीय कलाकार र उत्पादनलाई प्रोत्साहन गर्नु रहेको थियो । महोत्सवमा ल्याइएको मोही खोसाखोस भयो । प्रति लिटरको ५० रुपैयाँ विक्री गर्दा पनि डेढ दुई घण्टामै सकिएको थियो । त्यस्तै कोदोको छ्याङ प्रति लिटर एक सय रुपैयामा विक्री भएको थियो । महोत्सवलाई करिब पाँच हजारद्वारा अवलोकन गरिएको अनुमान छ ।

लमजुङ जिल्लासँग सीमा जोडिएको मर्स्याङ्दी गाउँपालिका– ८ को भूलभूले र ङादी बजारको बीचमा सञ्चालन गरिएको हो । अन्नपूर्ण चक्रिय पदमार्गसँगै रहेको ‘हामखोला झरना’को प्रचार प्रसार गर्ने, खुदीदेखि ङादीसम्मको बजारलाई प्रमोट गर्ने र महोत्सवमार्फत गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको थियो । त्यो लक्ष्यको नजिक पुग्न सक्यौं भन्ने लागेको आयोजक मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार हामीले आशा गरेको भन्दा धेरै दर्शकका माझमा महोत्सवका कार्यक्रम पस्कने मौका पाइयो, यसलाई हामीले सफल भएको ठानेका छौं । उहाँले भन्नुभयो, ‘१०० प्रतिशत लक्ष्य हासिल गर्ने भन्ने त प्रायः हुन्न, ‘महोत्सवमा करिब पाँच हजार दर्शकले अवलोकन गरेको आंकलन गरिएको छ ।’

यो महोत्सवको विशेषता स्थानीय कलाकार र उत्पादनलाई प्रोत्साहित गर्ने थियो । मोहीको यौटा स्टल थियो, वरपरका किसानहरूले ल्याउनु भएको डेढ दुई घण्टा पनि मही रहेन भन्ने सुने अध्यक्ष गुरुङले भन्नुभयो । उहाँका अनुसार महीको मूल्य प्रतिलिटर ५० रुपैयाँ र कोदोको छ्याङको प्रति लिटर एक सय रुपैया थियो । ‘यसअघिका महोत्सवमा बढी तामझाम हुने, रक्सी वियरको प्रचारका ठूला बोर्ड राख्ने, स्थानीय कलाकारले मौका पाएन भन्ने जस्ता गुनासा सुन्नु पर्थो । त्यसलाई सय पटक हामीले ती सबै तामझाम लागयतका गुनासालाई सम्बोधन गर्यौं भन्ने लागेको छ ।’

संविधानसभाका सदस्य जमिन्द्रमान घलेले सो महोत्सवको उदघाटन गर्नु भएको हो । उहाँले यो महोत्सवले मर्स्याङ्दी गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवर्धनमा सघाउ पुर्याउने आशा लिएको बताउनु भएको थियो ।
सो महोत्सवको पहिलो दिन लोकप्रिय कलाकार खुस्बु गुरुङ लगायतका कलाकारहरुको प्रस्तुतीमा दर्शकहरू मन्त्रमुग्ध भएका थिए ।
यसैगरी, दोस्रो दिनमा पालिकाभित्र रहेका विभिन्न होम स्टे समुहहरूको नृत्य, स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत भएको थियो । प्रतिकुल मौसमको बावजुत प्रलय ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति गरेको थियो ।
यो वर्ष हामखोला झरना महोत्सव मनाइएको चौथो शृंखला हो । हामखोला व्यवस्थापन समितिले हामखोला झरनाको प्रचारप्रसार गर्न आयोजना गरेको महोत्सवमा सो विषयमा आधारित सांगीतिक प्रस्तुतिसमेत रहेको जनाएको छ ।

गाउँपालिका भित्र रहेका बिभिन्न विद्यालयका नृत्य, आमा समुह तथा क्लवहरूका नृत्य पनि सोही दिन प्रस्तुत गरिएको हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेम तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गदैै मर्स्याङ्दी गाउँपालिकाको आर्थिक सहयोगमा प्रत्येक वर्ष हामखोला झरना महोत्सव विगतका तीन वर्षदेखि गरिदै आएको छ ।
उहाँले भन्नुभयो, ‘निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरू निर्माण गरिएका छन् ।’ त्यो काम गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत संरचना निर्माण गरिनुका साथै झरनाबाट बगेको पानीमा पौडन चाहनेका लागि पोखरी समेत बनाइएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवलाई सफल बनाउन बेसीशहरदेखि हामखोलासम्म लमजुङ साईक्लिङ संघले साइकल र्याली समेत गराएको थियो ।
लमजुङका मात्र नभई तनहुँ र गोरखाबाट समेत दर्शकहरू आएका महोत्सव हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । महोत्सव तामाङको अध्यक्षतामा भएको थियो । ।
सदरमुकाम बेसीशहरबाट करिब ८ किलोमिटरको दुरीमा रहेको उक्त झरनामा बढी पर्यटक बेसीशहरबाटै पुग्ने गरेका छन् । बेसीशहरबाट ७ किलोमिटर दुरी सडक कालोपत्र रहेको छ, सो पार गरेपछि हामखोला झरनामा पुग्न सकिन्छ ।
यसअघि ०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो ।
प्रकाशित मिति २०८१ भाद्र ९, आईतवार २१:५८ गते