लमजुङ– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा परम्परागत रोपाई जात्रा प्रदर्शन गरिएको छ । रोपाईजात्रा नेवार जातिको विशेष पर्व हो । हरेक वर्ष कृष्ण जन्माष्टमीका दिनमा यो जात्राको प्रदर्शन गर्ने परम्परा अनुसार भदौ १० गतेका दिन सो जात्राको प्रदर्शन गरिएको हो ।
बेसीशहर नेवाः खलःको आयोजनामा भएको रोपाई जात्रामा सहभागी कलाकारहरू हलगोरु, हली, व्याडे, रोपाहारे, बाउसे, भाला, घोडा लगायतको अभिनय गरेका थिए । जात्रामा गाउने बजाउने समेत गरी करिब दुई सय कलाकार सहभागी भएको अनुमान छ बेसीशहर नेवाः खलःका सचिव विमल श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार हरेक वर्ष कृष्ण जन्माष्टमीका दिनमा रोपाई जात्रा गर्ने गरिएको छ ।
सो अवसरमा केही पुरुषहरूले महिलाहरूका भेषभुषा लगाएर अभियन गरेको पनि देखिन्थ्यो प्रत्यक्षदर्शीले भने ।
रोपाई जात्राको साथमा नागे नाच पनि प्रदर्शन गरिएको थियो । नागे नाचमा एउटा मात्र सनाई बजाएर नाच्ने गरिन्छ ।
यो कतिऔं रोपाई जात्रा होला ? भन्ने जिज्ञासामा बेसीशहर नेवाः खलःका सल्लाहकार रामलाल श्रेष्ठले यो त हामी जन्मनु अघिदेखिनै चलिआएको परम्परागत संस्कृति हो जिजुबाजेहरूले सुरु गरेको भन्नुभयो ।
यो नेवारी समुदायको परम्परागत रीतिरिवाज हो बेसीशहर नेवाः खलःका अध्यक्ष बालचन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पानीको समेत परवाह नगरी मानिसहरू यसरी झुम्मिएका छन्, यसबाट पनि यो पर्वको महत्व झल्कन्छ ।’
नेवारी कला संस्कृतिको उत्कृष्ठ नमूना हो ‘रोपाई जात्रा’ भन्दै बेसीशहरमा रहेका छ नेवारी गुठीहरूको यो संयुक्त कार्यक्रम हो लमजुङ उद्योग वाणिज्य संघका महासचिव समेत रहनु भएका विपिन श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो पर्व नेवारजातिको भएपनि अन्य जातजातिकाहरू पनि सहभागी हुनुृभएको पाउँदा गर्वको अनुभव भएको छ, उहाँहरू यसरी सहभागी हुनु भएकोमा म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु आयोजककोतर्फबाट ।’
दिउँसो करिब १ बजे भीमसेनस्थानबाट सुरु भएको रोपाईजात्रा बेसीशहरका मुख्यटोलहरू पुरानो बैंक चोक, मनाङे चौतारा, चक्रपथ, घलेगाउँ चोक हुँदै फेरि पुरानो बैंक चोकमा आएको थियो । त्रिवेणी टोलबाट ओख्ले फाँट झरेर क्याम्पर रोड हुँदै प्रशासन चोक, मालपोत चोक सेरा बजार हुँदै विदाईं चौतारामा पुगेर रोपाई जात्रा प्रशर्दन गर्ने टोली फर्केको थियो । फर्कने क्रममा फिल्महल चोक हुँदै सेरा चौतारा झ्याङखोला, नारायण स्थान चोकबाट पुनः भीमसेन स्थान चोकमा पुगेर जात्रा बिसर्जन गरिएको थियो ।
भीमसेन स्थानमा नेवारी परम्परा अनुसार विधिपूर्वक पुजाआजा गरी सुरु गरिएको रोपाई जात्रा साँझ ७ बजे समापन गरिएको हो । समापन गर्दा भकारी थाप्ने र मकैको खोया राखेर त्यसमा टेक्दै दुई तीन पटक अघिपछि गर्दै नाचेपछि रोपाई जात्रा समापन गर्ने प्रचलन रहेको बेसीशहर नेवाः खलःका सचिव श्रेष्ठले जानकारी दिनु भयो । प्रस्तुत छ, उक्त जात्राको फोटो फिचर :



प्रकाशित मिति २०८१ भाद्र १०, सोमबार २१:२३ गते