काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छाया सरकारमार्फत स्थानीय तहमा पार्टी निर्माण र सुशासनका लागि खबरदारी गर्ने अवधारणा ल्याएको छ । सो दलको केन्द्रीय समितिमा पेश गरेको छाया सरकार सञ्चालन कार्यविधिको मस्यौदामा वडा तहदेखि छाया सरकार गठन गर्न भदौ ११ गते प्रस्ताव गरिएको हो ।
सो सम्बन्धमा केन्द्रीय समितिको अर्को बैठकमा प्राप्त सुझाव समेत समेटेर पेश गर्ने भएको छ । पालिकास्तरको छाया सरकारमा संयोजक, सहसंयोजक र सचिवसहित ११ जना तथा वडा तहमा संयोजक, सहसंयोजक र सचिवसहित ५ जना रहने प्रावधान राखिने भएको छ । छाया सरकारको गठन प्रक्रिया यही भदौ महिनाबाट सुरु हुने कार्यबाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकारको अनुगमन, लेखाजोखा, खबरदारी र सहजीकरण गर्न छाया सरकार बनाउने अवधारणा ल्याएको हो । सो दलले कार्यविधि नै बनाएर विकासको प्राथमिकीकरण, जनप्रतिनिधिलाई आवश्यक सहयोग, कामको अनुगमन, मूल्यांकन, गतिविधिको निगरानी र खबरदारी छाया सरकारलाई परिचालन गर्ने भएको छ ।
राष्ट्रिय भेलाको तयारी तिब्र :
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेलाको तयारी तिब्र पारेको छ । आउँदो असोजको पहिलो साता यहाँ हुने राष्ट्रिय भेला व्यवस्थापनका लागि विभिन्न १४ वटा उपसमिति समेत गठन गरेको जनाएको छ ।
सो दिनको केन्द्रीय समिति बैठकले प्रतिनिधि, रजिष्ट्रेसन व्यवस्थापन उपसमिति, श्रोत व्यवस्थापन उपसमिति, यातायात तथा आवास उपसमिति, सुरक्षा तथा कानुन उपसमिति, स्वयंसेवक व्यवस्थापन उपसमिति, अडियो भिजुअल व्यवस्थापन उपसमिति, क्याटरिङ व्यवस्थापन उपसमिति गठन गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताउन्ु भयो । उहाँका अनुसार स्वास्थ्य क्लिनिक व्यवस्थापन उपसमिति, बुथ व्यवस्थापन उपसमिति, साँस्कृतिक कार्यक्रम तयारी उपसमिति, मिडिया संयोजन उपसमिति, दस्तावेजसम्बन्धी उपसमिति, आइटी व्यवस्थापन उपसमिति, राष्ट्रिय भेला ब्राण्डिङ उपसमिति बनाउने निर्णय बैठकले गरेको छ ।
उहाँले भन्नुभयो, ‘पार्टीले तयार गरेको स्थानीय छाया सरकार सञ्चालन कार्यविधि २०८१ को मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत गरिएको र त्यस उपर थप सुझाव लिने निर्णय भएको छ ।’
रास्वपा राष्ट्रिय महाधिवेशन पछि देशको शक्तिशाली पार्टी योजनामा रहेको छ । पहिलो पटक आयोजना गरिएको सो भेलामा देशभरबाट करिब १३ सय प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।
रास्वपाको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंमा हुने भएको छ । त्यस्तै, पहिलो महाधिवेशन आउँदो बैशाखको तेस्रो सातामा गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
यसैबीच, पार्टीको विधानको धारा ५६(३) बमोजिम पार्टी सदस्य डा. मुकुल ढकालको साधारण सदस्यता खारेजीको निर्णय गरेको पनि झाले जानकारी दिनुभयो ।
मुकुल ढकालको बरबराहट :
रास्वपाले साधारण सदस्यसमेत नरहने गरी सो दलका पूर्वमहामन्त्री समते रहेका मुकुल ढकाललाई निष्कासन गरेको छ । त्यसपछि होस गुम भएका उनी न्यायिक निकायले आफू माथिको कारबाही बदर गर्ने दाबी गरेका छन् । त्यतिमात्र हैन त्यसपछि पार्टीका सभापति रवि लामिछानेले राजीनामा दिन बाध्य हुन्छन् भन्ने बकम्फुुसे तर्क सामाजिक सञ्जालमा गरिरहेका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकले भदौ ११ गते साधारण सदस्यबाटै निष्कासन गरे पछि मुकुलले त्यस्तो प्रतिक्रिया आएको हो । सामाजिक सञ्जालमा मुकुलले लेखेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ ।’
उनी थप लेख्छन्– ‘रवि लामिछानेले आफूँविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पु¥याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरि पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषय उपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’
तर पार्टीका संस्थापक मात्र नभई आजसम्मका आशाका केन्द्रको रुपमा रहनु भएका सभापति उपर हिजो छ्याप्दै त्यही पार्टीमा हालीमुहाली गर्न सक्छु भन्ने सपना र तर्कलाई ‘भीरबाट खस्दै गरेको गाईलाई राम राम !’ भने भन्दा बेगर केही गर्न सकिएला र ?
प्रकाशित मिति २०८१ भाद्र १३, बिहीबार १५:२३ गते