हेटौंडा– यहाँकी १५ वर्षकै उमेरमा प्रेम विवाह गरेकी किशोरीको ८औं वर्षमा हत्या भएको छ । त्यो पनि आफ्नै श्रीमानबाटै । उनी हेटौंडा– ११ थाना भर्याङकी हुन् । उनको हेटौंडा उपमहानगरपालिका– १०, बसपार्कस्थित रत्न होटलमा भदौ ९ गते हत्या भएको हो । एलिसा न्यौपाने यतिबेला मात्र २३ वर्षीया युवती थिइन् । उनको शव भदौ १० गतेमात्रै होटलको कोठा नम्बर २०५ मा फेला परेको थियो । उनको हत्या होटलमै भएको प्रारम्भिक अनुसन्धानबाट गरिएको भदौ १३ गते प्रहरीले जनाएको छ ।
घट्ना अनुसन्धानमै रहेकाले आरोपितको परिचय खुलाउन मिल्दैन, तर घटनामा संलग्नको पहिचान भएर उनको खोजी भइरहेको छ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनु भयो । उहाँका अनुसार अडियो र भिडियोको समेतका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरेर समिरकी आमा र श्रीमतीसँग सोधपुछ गरिसकेको छ । उहाँले भन्नुभयो, ‘त्यो झगडाको क्रममा निस्किएको आवेगको बोली हो वा योजनाबद्ध घटना थियो भन्ने विषयमा अनुसन्धान गरेर एउटा निष्कर्षमा पुग्छौं ।’ उनको रगताम्मे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको परिवारका सदस्यका अनुसार एलिसा ९ भदौमा मात्रै काठमाडौंबाट हेटौंडा फर्किएकी थिइन् । त्यही रात उनको हत्या भएको थियो । एलिसाका परिवारले भने हेटौंडा– ४, कमलडाँडाका समीर खानले हत्या गरेको आरोप लगाई किटानी जाहेरी दिने तयारीमा छ । परिवारका अनुसार एलिसा र समीर ७÷८ वर्षदेखि श्रीमान श्रीमतीका रुपमा बस्दै आएका थिए । एलिसाको हत्या पछि समीर फरार (भूमिगत) छन् ।
एलिसाको हत्या भएको दुई दिन पछि अर्थात् भदौ ११ गतेसम्म खानले एलिसाका १७ वर्षीय भाइसँग सामाजिक सञ्जालमा कुराकानी गरेको समेत भेटिएको छ । एलियाको परिवारले सामाजिक सञ्जालमा कुराकानीमा समीरले आफूले अञ्जानमै हत्या हुन पुगेको स्वीकारेको बताइएको छ । उनले एलिसाका भाइसँग ह्वाट्सएपमा लेखेका छन्, ‘सरी, पाप भयो, मेरो सानो गल्तीले ज्यान गयो झगडा पर्दा, बाँकी अब कुरा चौकी जान्छु म आफैं ।’
एलिसाले भाइसँगको फोन सम्पर्कलाई पनि रेकर्डमा राखेकाले घर झगडामा भएका कुराकानी सुनिन्छ । एलिसाले आफ्ना भाइसँग मात्रै नियमित कुरा गर्ने गरेकी थिइन् ।
एलिसा र उनका भाइ सानै हुँदा आमा दोस्रो विवाह गरेर गइन्, बाबुको मृत्यु हुन गएको थियो । एलिसाका भिनाजु गणेशबहादुर खत्रीले उनीहरूलाई लालनपालन र शिक्षादीक्षाको व्यवस्था गर्नु भएको थियो ।
एलिसा भाइ हेटौंडामै एक सामाजिक संस्थामा आश्रय लिएर अध्ययन गरिरहेका छन् । उनी भन्छन्, ‘मेरो परिवार भन्नु दिदी मात्रै हुनुहुन्थ्यो । अब मेरो भन्नु कोही छैन । दोषीलाई कडा कारबाही हुनुपर्छ ।’
भिडियो फुटेजमा समीरले एलिसालाई घरमा लगेपछि झगडा परेको देखिन्छ । घर झगडाको क्रममा समीरकी आमाले ‘यसलाई जहाँबाट ल्याएको त्यहीँ लगेर मार्नु’ भन्ने शब्द प्रयोग गरेकी छन् । भिडियोबाट समीर, उनको परिवार र एलिसाबीच विवाद भएको बुझिन्छ । त्यसै दिन हेटौंडाको होटलमा एलिसाको हत्या भएको थियो ।
प्रहरीका अनुसार भदौ ९ गते साँझ करिब ५ बजे २८/३० वर्षका पुरुष र २२/२३ वर्षकी महिला होटलको २०५ नं.को कोठामा बसेकोमा रातिनै ९ बजेको समयमा पुरुष कोठाबाट निस्किएका थिए । युवकले युवतीलाई दुई वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेको प्रहरीले जनाएको छ ।
महिला सोही कोठामा रहेकोमा भोलिपल्ट बिहान अबेरसम्म कोठाबाट महिला बाहिर ननिस्किएपछि होटल सञ्चालक नवीन राना मगरले प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो । उहाँकै नेतृत्वमा गएको प्रहरी टोलीले झ्याल खोली बाहिरबाट हेर्दा खाटमाथि उत्तानो परी सिरकले मुख छोपिएको अवस्थामा महिलाको शव फेला परेको हो । उक्त कोठाको भुईँको विभिन्न स्थानमा रगतको दाग देखिएको र भित्रबाट ढोकामा चुकुल लगाएको अवस्थामा पाइएको प्रहरी भनाइ छ । मृतक न्यौपानेका आफन्तले पहिचान गरेपछि घटनाको बारेमा थप अनुसन्धान अघि बढेर जारी रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
समीर–एलिसा सम्बन्ध :
एलिसाले १५ वर्षको उमेरमा समिरसँग भागेर(प्रेम) विवाह गरेको पारिवारिक स्रोत अर्थात भिनाजु गणेशबहादुर खत्रीको भनाइ छ । बिहे गरेपछि मेरो घर २– ३ पटक आए । पछिल्ला वर्षमा भने कुनै सम्पर्क थिएन खत्रीले बताउनु भयो । उहाँका अनुसार १५ वर्ष जतिको थिइन् समीरसँग भागेर पोखरातिर गएर होटल चलाएको भन्थिन मलाई । उहाँले भन्नुभएको थियो, ‘समीरको पहिल्यै श्रीमती र बालबच्चा रहेको बारेमा एलिसाको जानकारीमा थिएन, सायद उनीहरूको झगडाको कारण यही थियो ।’
खत्रीका अनुसार समीरले विगतमा एलिसालाई घरमै लगेर राखेको र सुरुआती दिनमा दुवै श्रीमती मिलेर बसेको पनि थिए । तर विस्तारै सम्बन्ध बिग्रिएन थाल्यो । त्यसपछि एलिसा र समीर काठमाडौं गएर बसेका थिए । समीर काठमाडौंमा वैदेशिक रोजगारीको एजेन्ट काम गर्थे । त्यो क्रममा एलिसा दुबई गएकी थिइन् ।
प्रकाशित मिति २०८१ भाद्र १३, बिहीबार १९:३२ गते