बेसीशहर– लमजुङको जिल्ला सदरमुकामको यहाँस्थित मर्स्याङदी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा सोही क्याम्पसका प्रमुख हरीबाबु थापाको ऐतिहासिक निरन्तरता कायमै रहने भएको छ । उच्च अदालत पोखराले यसअघि जारी अल्पकालीन अन्तिम आदेशको रिट सदरको फैसला गरेसँग थापा क्याम्पस प्रमुखमा भदौ ११ गतेदेखि कायमै हुनुहुने भएको हो ।
थापा पछिल्ला ३१ वर्ष अर्थात २०५१ सालको पुुुस ७ गतेदेखि सो क्याम्पसको प्रमुखमा निरन्तर रहँदै आउनु भएको छ । तर मर्स्याङदी बहुमुखी क्याम्पस सञ्चालक समितिले प्रमुख थापालाई गत पुस १८ गते स्थानीय कालिका सहकारीको ठगी काण्डमा मुछिएको सार्वजनिक भएसँगै वखास्त गर्ने निर्णय गरेको थियो ।
अधिवक्ता समेत रहेका सञ्चालक समितिका अध्यक्ष कृष्णवहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले क्याम्पस प्रमुख थापालाई पौष १८ गते बर्खास्त गर्ने निर्णय गरेको थियो । समितिको निर्णयमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो सामुदायिक क्याम्पसमा त्रिवि नियमावली र क्याम्पसको विधान अनुसार फौजदारी अभियोग लागेका व्यक्तिलाई क्याम्पस प्रमुख राख्न नमिल्ने उल्लेख गरिएको थियो ।
प्रमुख थापाले सो निर्णय अन्यायपूर्ण भएको भन्दै उच्च अदालत पोखरामा रिट दायर गर्नु भएको थियो । उच्च अदालतले सो रिटबारे सुनुवाई गर्दै पुस २५ गते सञ्चालक समितिको सो निर्णय तत्काल कार्यन्वयन नगर्नु अल्पकालीन अन्तरिम आदेश भएको थियो । त्यसै आदेशको आधारमा मुद्धाको अन्तिम किनारा नलागेसम्म कायम गर्नु भन्दै माघ ४ गते अर्को आदेश दिएको थियो ।
स्मरणीय छ, गत असोज १० गते क्याम्पस प्रमुख पदमा भएको निर्वाचनमा थापा र सोही क्याम्पसका सहायक क्याम्पस प्रमुख पदम राउत बीच चुनावी प्रतिष्पर्धा भएको थियो । मत मरिणाम अनुसार थापा एक मतले निर्वाचित भई पुनः क्याम्पस प्रमुखको नियुक्ति हुनु भएको थियो ।
पराजित उम्मेदार राउतले नियम विपरित थापा आंफैले मतदान गरेको दावी सहित उच्च अदालत पोखरामा रिट दिन पुग्नु भएको थियो । क्याम्पस प्रमुख थापाको कार्यकाल असोज ६ गते नै समाप्त भएको र समयावधि सकिएपछि पनि थापाले निर्वाचनमा मताधिकारको प्रयोग गरी परिणाम प्रभावित पारेको राउतले उजुरीमा जिकिर गर्नु भएको थियो ।
सोही उजुरीको आधारमा उच्च अदालत पोखराले तत्कालका लागि क्याम्पस प्रमुख थापालाई नियुक्तिको निर्णय कार्यन्वयन नगर्न उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । निवेदक राउतको त्यो रिट उच्च अदालतले खारेज गरेपछि थापा पुनः क्याम्पस प्रमुख हुनु भएको थियो ।
प्रकाशित मिति २०८१ भाद्र १४, शुक्रबार ०७:४१ गते