काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्माण गर्न खोजेको नयाँ सांगठनिक संरचनामा क्यान्डिडेट क्लबमा वडाध्यक्षका आकांक्षी समेत आवद्ध हुनुपर्ने नीति तय गरिने भएको छ । भदौ ११ गते बसेको केन्द्रीय समिति बैठकमा पार्टीले तयार गरेको स्थानीय छाया सरकार सञ्चालन कार्यविधि २०८१ मस्यौदामा त्यस्तो उल्लेख छ ।
२०८४ को आमनिर्वाचनलाई लक्षित गरेर स्थानीय तहमा छाया सरकार सञ्चालन गर्ने कार्यविधि केन्द्रीय समिति बैठकमा भदौ १४ गते पेस गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँका अनुसार २०८४ को निर्वाचन हामी संघमात्र नभई स्थानीय तहमा पनि लड्ने भएको हुँदा अहिलेदेखिनै तयारी गर्न लागिएको हो । उहाँले भन्नुभयो, ‘कार्यविधिमा रास्वपाले स्मार्ट वडाध्यक्षको अवधारणा राखेको छ ।’
कार्यविधि सबै सदस्यलाई बाँडिसकेको का.वा. महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार आगामी केन्द्रीय समितिमा कार्यविधि पास गर्ने र राष्ट्रिय भेलाबाट अभियानको रूपमा लञ्च हुने छ । उहाँले भन्नुभयो, ‘राष्ट्रिय भेलामा यो अभियानको रूपमा लन्च हुन्छ । अनि एक्सनमा जान्छ ।’
नेपालमा सामाजिक सञ्जालमा बढी राजनीति भएको र राजनीतिले धरातल छोड्न थालेको झा बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालको स्ट्याटस र कमेन्ट हेरेर गरिने राजनीति सफल हुँदैन ।’
‘क्यान्डिडेट क्लब’ लिडरसिप एकेडेमीको अवधारणा पनि कार्यविधिमा राखेको झाको भनाइ छ । उहाँका अनुसार मस्यौदामा थप सुझाव लिने निर्णय बैठकले गरेको छ । यी तीन विषयले पार्टीलाई अबका सबै तहका निर्वाचनको तयारीलाई सहयोग गर्ने आंकलन रास्वपाको छ । पार्टीले देशभर रहेका ६७४३ वडामै छाया सरकारको अभ्यास गर्ने निर्णय गरेको झा बताउनु हुन्छ ।
उहाँले भन्नुभयो, ‘चुनाव आउनु दुई वर्ष अघि नै वडाध्यक्ष को हुन्छ ? कसको नेतृत्वमा चुनाव लड्ने ? चुनाव लड्नेको भिजन के हुने लगायत अहिले देखिनै वडा सञ्चालन कसरी गर्ने भनेर उसले सिक्दै जान्छ’ झाले भन्नुभयो । उहाँका अनुसार सो प्रावधान अनुसार स्मार्ट वडाध्यक्षले आफूलाई अहिलेबाटै वडाध्यक्षको तयारी गर्ने छन् । सोही प्रक्रिया गाउँ र नगरपालिकामा पनि लागू गर्नेगरी कार्यविधि तयारीमा रास्वपा जुटेको छ ।
झाले भन्नुभयो, ‘सङ्घीयताको सुन्दर पक्ष भनेकै स्थानीय तह हो । सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने स्थानीय तह नै अव्यवस्थित र भ्रष्ट छ । उत्तरदायी र अनुशासित स्थानीय सरकार हुन सकेको छैन ।’ त्यसलाई जिम्मेवार बनाउन हामीले चाहेका हौँ झाले उल्लेख गर्नु भयो ।
विगतमा पनि नेपाली कांग्रेस लगायत दलले सङ्घमा छाया सरकार गठन गरे पनि रास्वपाले भने स्थानीय तह अर्थात् वडाबाटै छाया सरकारको अभ्यास गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाको भनाइ छ ।
प्रकाशित मिति २०८१ भाद्र १५, शनिबार ०७:५१ गते