बेसीशहर– आज १७ औं पुस्तकालय दिवसमा जेष्ठ नागरिकका कुण्ठा तथा पीडा छताछुल्ल भए । सो दिवसको अवसरमा यहाँ स्थित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले आफ्नो सभाकक्षमा आयोजना गरेको जेष्ठ नागरिकसँग अन्तरक्रिया कार्यक्रममा पी व्यथा र पीडा छताछुल्ल भएका हुन् । निमित्त प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भदौ १५ गते गरिएको हो ।
उहाँले जेष्ठ नागरिकको लागि राज्यले तयार गरेको नियम कानुनबाट उपलब्ध सुविधाका बारेमा जानकारी दिनु भएको थियो । उहाँले जेष्ठ नागरिकहरू एक्लै वा समूहमा आफ्नो कार्यालयमा आउनु भएमा के कस्तो सेवा आवश्यक पर्ने हो, त्यसका बारेमा कानुनको अधिनमा रहेर आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिनु भयो ।
निप्रजिअ सुयलले आफू राइनास नगरपालिकामा प्रमुख कार्यकारी अधिकृत हुँदाको अवस्थामा नगरपालिकाको सहयोगमा धमिलिकुवामा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माणसहित केही बाध्यवादनका सामग्री समेत उपलब्ध गराएको जानकारी दिनुभएको थियो । त्यस्तो केन्द्रको खाँचो यहाँ पनि देखेको उल्लेख गर्नु भयो ।
सो अवसरमा आयोजक पुस्तकालयको सल्लाहकार समितिका संयोजक तेजनारायण अधिकारीले नेपालको वर्तमानमा जुन क्षेत्रमा पनि निराशा छाएको छ र अध्याँरोनै अध्याँरो देखिन्छ तर पनि त्यसमा पनि चाँदीको घेरा हामीले देखेका छौं, आशावादी हुनुपर्छ भोलिका दिनमा अवश्य पनि राम्रो हुन्छ भन्नुभयो ।
यसैगरी, पत्रकार महासंघका संस्थापक अध्यक्ष एवम् सामाजिक व्यक्तित्व नवराज पहाडीले पुरस्तकालय दिवसमा जेष्ठ नागरिकलाई सम्झनु खुशीको कुरा हो तर हाम्रो समाजमा प्रतिदिन पठन संस्कृति खस्कदो र जेष्ठ नागरिकप्रतिको आदरसम्मान पनि खस्कदो छ । मोवाइलमा संसार भएर पनि त्यसका नकारात्मक कुरामा रुमलिनु भन्दा पुस्तकालयमा आएर ज्ञान गुनका कुरा सिक्नु जरुरी छ । हिजोका दिनमा हजुरबा÷आमाहरू कम पढेलेखेका भए पनि उहाँहरूले सुनेर सिकेको भरमा सुनाउनु भएका ज्ञानगुनका कुराले समाजमा इमान्दारिता र अनुशासन फैलाउन वातावरण बनाएको त्यो पनि हिजोआज छैन । जेष्ठ नागरिकको सम्मान गर्नेवातावरण बन्नु पर्छ र बनोस् भन्नेमा जोड दिनुभयो ।
यसैगरी, भोटेओडार सामुदायिक पुस्तकालयका अध्यक्ष वसन्त खनालले पुस्तकालयहरू नाफामुखी संस्था होइनन्, यस्ता कार्यक्रम गर्न स्थानीय सरकारले सहयोग गर्नु पर्ने हो तर त्यस्तो वातावरण बन्न सकेको देखिदैन, यो दुःखद स्थिति हो, यसतर्फ हामी पहल गरौं र सहयोग पाउने स्थितिको सुनिश्चित गरौं भन्नुभयो ।
सोही पुस्कालयका अध्यक्ष नाराइनबहादुर सुयलको अध्यक्षतामा गरिएको कार्यक्रममा पुस्तकालयका कार्यकारी सदस्य रमाराज खनियाले स्वागत मन्तव्य राख्नु भएको थियो । आध्यात्मिक गुरु देवीदास बराल, पुस्तकालयका सदस्य सीता श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको सो कार्यक्रमको सञ्चालन पुस्तकालयका सञ्चालक समितिका महासचिव अमृतबहादुर थापाले गर्नु भएको थियो ।
यस्ता कार्यक्रमहरूमा स्थानीय सरकारको प्राथमिकतामा नपर्नु दुःखद पक्ष रहेकोमा कार्यक्रमका सहभागीहरू प्रायः सहमत थिए ।
जेष्ठ नागरिक समाजका व्यथा तथा पीडाहरू :
कार्यक्रम पछि गरिएको अन्तरक्रियामा जेष्ठ नागरिक समाजको खाँचो रहेकोमा सबैको जोड थियो । अन्य पालिकाहरू राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका, मर्स्याङ्दी गाउँपालिका, क्ब्होलासोथर गाउँपालिकाबाट सहयोग पाएपनि बेसीशहर नगरपालिकाबाट उपेक्षित हुनुपरेको धेरैको गुनासो थियो । सो अवसरमा प्रत्येक वडामा हरेक वर्ष कम्तिमा एकलाख रुपैयाँ जेष्ठ नागरिकका लागि खर्चिनु पर्छ तर त्यो रकम केमा खर्च भइरहेको छ ? जानकारी हुँदैन भन्ने गुनासो आएको थियो । त्यस्तै वडावडामा समितिको खाचो रहेको पनि बताइयो ।
जेष्ठ नागरिक समाजका जिल्ला कोषाध्यक्ष हरिप्रसाद अधिकारीले हामीलाई साक्षी राख र तिम्रा मन परेको मानिस (जेष्ठ नागरिक)लाई सुविधा देउ हामी बोल्दैनौ भन्दा समेत सुनुवाई नभएको गुनासो गर्नु भयो । त्यसपछि जिल्ला समितिलाई नटेर्ने पालिकाहरूले वडासमितिलाई टेर्छन् ? भन्ने प्रश्न पनि उठेको थियो ।
त्यसैगरी, जेष्ठ नागरिक भएता पनि बसमा सुविधा नहुने, जेष्ठ नागरिक लेखेको सिटमा १५– १८– २२ वर्षका लेर्केहरू ढसमस्स हुन्छन् तर जेष्ठनागरिकलाई सिट छाड्दैनन्, जेष्ठ नागरिक कार्डको बरु काठमाडौंमा कदर हुन्छ बसमा चढ्दा पाँच रुपैया भने पनि छुट दिइन्छ तर जिल्लामा पाइदैन उल्टो दुर्व्यवहार सहन गर्नु पर्छ भन्ने सहभागीहरूको गुनासो थियो ।
प्रकाशित मिति २०८१ भाद्र १५, शनिबार १५:४९ गते