लमजुङ– डुम्रे–बेँसीसहर सडक खण्डको उदीपुर पहिरो फेरि बल्झिएको छ । विगतका तीन वर्षदेखि सो पहिरोले उत्तरी लमजुङ र मनाङवासीलाई दुःख दिइरहेको छ । आज भदौ १६ गते विहानदेखि अवरुद्ध डुम्रे–बेसीशहर सडक करिब चार घण्टामा एकतर्फी खुलेको छ ।
गए रातिदेखि परेको ठूलो पानीका कारणले चलेको पहिरोले विहान ८ बजेदेखि सडक अवरुद्ध भएको हो । लेदो बगिरहेको र पानी नरोकिएको कारणले पनि पहिरो पन्छाउन कठिन भएको लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताउनु भएको छ । ‘एउटाले डोजरले पहिरो पन्छाउन नसक्ने स्थिति भएपछि दुई वटा डोजर प्रयोग गरी एक्जाभेटरको समेत सहयोगले एकतर्फी बाटो खोलिएको छ ।’ उहाँले भन्नुभयो, ‘करिब चार घण्टा दुईतर्फी नै सडक अवरुद्ध भयो, ऐले एकतर्फी खोलेका छौं ।’ तर पानी परेमा कुनै पनि बेला फेरि पहिरो चल्ने र सडक अवरुद्ध हुन सक्ने स्थिति रहेको हुँदा पहिरोको छेउछाउ आएपछि होसियारी पूर्वक आवत जावत गर्न यात्रु महानुभावहरू सबैमा अनुरोध गर्दछु प्रजिअ गुरुङले भन्नु भएको छ ।
उहाँले खहरे खोलामा आउने बाडीले स्कूल जाने आउने बेलामा नानीबाबुहरूलाई समस्या हुन सक्ने देखिएको छ, यसतर्फ अभिभावकको ध्यानाकर्षण गर्दै आफैले विद्यालय छुट्टी हुने बेलामा आफ्ना बाबुनानी लिन गइदिन अनुरोध गर्दछु भन्नुभएको छ ।
पहिरोले डुम्रे–बेसीशहर सडकको उदीपुर खण्ड अवरुद्ध हुन थालेको यो पहिलो पटक भने होइन । सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको हो । विगतका वर्षमा उदीपुरको द्यौराली डाँडामा चलेको पहिरोले दुःख दिने गरेको थियो । ऐले सो पहिरो रोकिए पनि त्यसको उत्तरतर्फ फेरि पहिलो चल्न थालेको हो । लेदो सहितको गेग्¥यान आएको र पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको थियो । सडक अवरुद्ध भएका कारण सवारीसाधन तथा यात्रुहरू सडकमै अलपत्र परेका थिए ।
यो स्थानमा विगत तीन वर्षअघिदेखि बर्षेनी पहिरो खस्न थालेको हो । बेसीशहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेसीशहर आउने यात्रीलाई समस्या भएको छ । यो सडक हिमाल पारीको जिल्ला मनाङ जाने पनि एकमात्र सडक हो । बर्षा सुरु भएयता दर्जनौँपटक यो सडकका विभिन्न स्थानमा पहिरो जाँदा पटकपटक सडक अवरुद्ध भई यात्रीलाई सास्ती हुन गएको छ ।
प्रकाशित मिति २०८१ भाद्र १६, आईतवार १४:११ गते