पोखरा– गण्डकी प्रदेशमा सत्तासिन दुई दल काँग्रेस र एमालेका बीच भागबन्डा मिलाउन मन्त्रालय फुटाइएको छ । अब गण्डकीमा मन्त्रालयको संख्या भदौ १६ गतेबाट फेरि नौ पुगेको छ । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाइएको हो ।
मन्त्रिपरिषद्को आज सम्पन्न बैठकको निर्णय सुनाउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आवश्यकता, कार्यभार र औचित्यताको आधारमा मन्त्रालय विभाजन गरिएको बताउनु भयो । उहाँका अनुसार कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको हो ।
हाल कायम रहेका सातमध्ये उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरण र सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्यलाई नयाँ मन्त्रालय कायम गरिएको हो । नेकपा (एमाले) लाई सरकारमा ल्याउन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दुइटा मन्त्रालय फुटाउँदै विस्तार गर्नु भएको हो ।
मन्त्रालयको संख्या ९ बनाएसँगै एमाले चार मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । तथावि एमालेले पाउने मन्त्रालयको टुंगो लाग्न बाँकी नै छ ।
अहिले गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित सामाजिक विकासमा विन्दुकुमार थापा, भौतिक पूर्वाधारमा दीपक मनाङे (राजीव गुरुङ), ऊर्जा, जलस्रोत तथा खानेपानीमा फणिन्द्र देवकोटा र अर्थ मन्त्रालयमा डा. टकराज गुरुङ मन्त्रीमा बहाल हुनुहुन्छ ।
भूमि व्यवस्था तथा कृषि मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय भने मुख्यमन्त्री आफैँले सम्हादै आउनु भएको छ ।
मुख्यमन्त्री पाण्डेले एमालेबाट चार मन्त्री थपिँदा कार्यविभाजन पनि हेरफेर हुने छ भने एक–दुई दिनभित्रै एमाले सरकारमा सामेल हुने बताउनु भयो ।
भागबण्डा अनुसार कांग्रेसको भागमा मुख्यमन्त्रीसहितको पाँच मन्त्रालय परेका छन् । तर, अब कांग्रेसबाट नयाँ मन्त्री थपिने छैनन् । किनभने कांग्रेसको भागमा परेका मन्त्रालयमध्ये तीनजना कांग्रेसबाटै मन्त्री बनेका छन् । बाँकी नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र निर्वाचित दीपक मनाङे समेत मन्त्रीमा बहाल हुनुहुन्छ ।
गत जेठ २८ गते विश्वासको मत लिँदा मुख्यमन्त्री पाण्डेलाई देवकोटा र मनाङेले साथ लिनु भएको थियो । त्यसैकारण पनि उहाँहरू दुवैलाई मुख्यमन्त्री पाण्डेले हटाउन चाहनु भएको छैन ।
केन्द्रमा गठबन्धन तलमाथि भइहाले पनि आफ्नो सरकार टिक्ने गरी मुख्यमन्त्री पाण्डेलेएमालेले दुई मन्त्रीलाई हटाउनुपर्ने माग राखे पनि त्यसलाई इन्कार गर्दै आउनु भएको छ ।
कांग्रेसले पाएका मन्त्रालयबाटै देवकोटा र गुरूङलाई मन्त्रीमा निरन्तरता दिने तयारी चलिरहेको बताइन्छ ।
प्रकाशित मिति २०८१ भाद्र १६, आईतवार २०:०८ गते