काँग्रेस महामन्त्री विश्वप्रकाशद्वारा देउवालाई आग्रह : अब प्रधानमन्त्री नबन्नुस्

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ १६ गते आईतबार ०९:०९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नबन्न सल्लाह दिनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा शर्माले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न भदौ...

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नबन्न सल्लाह दिनु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा शर्माले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न भदौ १६ गते आग्रह गर्नु भएको हो ।
शर्माले प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरूमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड थियो । त्यसो गर्दा, ‘एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं’, शर्माले भन्नुभयो ।
महामन्त्री शर्माले प्रधानमन्त्रीमा देउवाको विकल्पमा ६ नेताको नाम लिनु भएको थियो । उहाँहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिनु भएको थियो ।
देउवासँग आग्रह गर्दै शर्माले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रुपले साथ दिनुपर्छ । तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न ।’
शर्माले भन्नुभयो, ‘एमालेसँग असार १७ गते भएको ७ बुँदे सहमति अनुसार २०८३ असारसम्म केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसको सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रूपले प्रधानमन्त्रीलाई साथ दिनुपर्छ तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नु हुँदैन । आफ्नो पुस्ताका कोही एक नेतालाई उहाँले प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्छ ।’
सभापति देउवाले त्यागबाहेक अरू सबै गरिसकेको उल्लेख गर्दै सभापति देउवाकै अघि शर्माले भन्नुभयो, ‘उहाँले गर्न बाँकी त्याग छ त्यो पनि अब ०८३ असारमा पुगेर गर्नुपर्छ ।’
सभापति देउवाको नेतृत्वमा भएका कामको स्मरण गर्दै महामन्त्री शर्माले प्रशंसा पनि गरेका थिए ।
‘देउवाको नेतृत्वमा कमैया मुक्ति, कदमजम, दलित आयोग र महिला आयोग निर्माण, संविधान कार्यान्वयन, संसद विघटनविरुद्ध आन्दोलन सफलता हासिल भयो ियी सबै कर्मका लागि उहाँले प्रशंसा र बधाई पाउनुपर्छ,’ अन्तिममा महामन्त्री शर्माले भन्नुभएको थियो । शर्माले थप भन्नुभयो, ‘जेल, नेल, संघर्ष सबै बेहोर्नुभयो अब त्याग पनि गर्नुस् ।’
महामन्त्री शर्माले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने गरी व्यक्ति बहिर्गमन नीतिसमेत प्रस्ताव गर्नु भएको थियो । उक्त प्रस्तावलाई बल पुग्ने गरी महामन्त्री शर्माले सभापति देउवालाई छैटौं पटक प्रधानमन्त्री नबन्न आग्रह गर्नु भएको थियो ।
तर कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यो सुझावलाई इन्कार गरिदिनु भएको छ । शर्माले बोल्दाबोल्दै प्रतिवाद गर्दै देउवाले भने, ‘तपाईंले भनेर मैले त्याग गर्ने हो ?’
विश्वप्रकाशलाई देउवाले भन्नुभयो, ‘अहिल्यै त्याग गर्न सक्दिनँ ।’ सभापति देउवाले कुनै पद छाड्न मन छैन भने कसरी छाड्ने भन्ने प्रति प्रश्न समेत गर्नु भएको थियो । ‘तपाईंले प्रधानमन्त्री त्याग गर भन्नुभयो, ठीक छ त्यो तपाईंको विचार हो । तर कसैले छोड् अब भन्दैमा मैले छाड्नु पर्छ भन्ने छैन नि ! म अहिल्यै छाड्दिनँ । मैले छाड्नेवाला छैन भनेपछि यस्तो कुरा गर्न मिल्छ ?’
महामन्त्री शर्मालाई लक्षित गर्दै सभापति देउवाले चुनौतीपूर्ण शैलीमा भन्नुभयो, ‘प्रधानमन्त्री हुन पहिले संसदीय दल नेता बन्नुपर्ने, छाड्दिनँ, अविश्वास प्रस्ताव ल्याउनुस् ।’
२०७९ पुस ६ गते भएको संसदीय दल नेता चुनावमा महामन्त्री गगन थापालाई हराउँदै सभापति देउवा संसदीय दल नेता चुनिनु भएको हो ।
गत असार १७ गते कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच पहिलो दुई वर्ष ओली प्रधानमन्त्री र त्यसपछि चुनाव गराउने गरी डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने लिखित सहमति छ ।

प्रकाशित मिति २०८१ भाद्र १६, आईतवार २१:०९ गते
हजुरको प्रतिक्रिया