पोखरा– गण्डकी प्रदेश सभामा मनाङबाट सदस्य निर्वाचित हुनुभएका राजीव गुरुङ उर्फ दीपक मनाङेले कुनै दिन मन्त्रीका लागि पार्टी चहार्ने गरेपनि ऐले भने मन्त्रीपद त्याग गर्नु भएको छ । आज एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गर्नु भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई उहाँले स्वकीय सचिवमार्फत् भदौ १७ गते राजीनामा पठाउनु भएको हो ।
सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहनु भएका मनाङे पुनर्गठन पश्चात वन तथा वातावरण मन्त्रालय दिइएको थियो । मन्त्रालय फेरिएपछि असन्तुष्टी पोख्दै मनाङेले राजीनामा दिनु भएको हो । मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाउनु भएको हो ।
उहाँका अनुसार वनमा बजेट हुन्न, मन्त्रालय हामीले हेर्न पनि पाउँदैन, यो त केन्द्रले हेर्ने हो । उहाँले भन्नुभयो, ‘हामीले हेर्ने भनेको तितेपातीको झ्याङ हो, झण्डा हल्लाएर हिँडेर काम छैन ।’
अनौठो त के देखियो भने मनाङे मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी भए पनि कार्यभार सम्हाल्न चाहनु भएन । उहाँले आफ्नो वरीयता पनि घटाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।
उहाँले थप भन्नुभयो ‘वन मन्त्रालय काँंग्रेसको कोटामा परेको छ, म कांग्रेसको सांसद हैन, स्वतन्त्र सांसद हुँ । कांग्रेसको कोटाको मन्त्री कांग्रसकै सांसदलाई देऊ भनेको छु ।’
मनाङे मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाशबहादुर केसीले पाउनुु भएको छ ।
यसैबीच, गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ । मनाङेको राजीनामा स्वीकृत भएसँगै अब कांग्रेसबाट एक जना मन्त्री थपिने भएका छन् । अहिले कांग्रेसका मुख्यमन्त्रीसहित ३ मन्त्री छन्। उनीहरू सबै शेरबहादुर देउवा पक्षका हुन्, अब संस्थापन इतर समूहबाट मन्त्री बन्ने सम्भावना रहेको बताइन्छ ।
सरकारमा एमालेको साझेदारिता :
गण्डकी प्रदेश सरकारमा नेकपा एमालेले बल्ल सरकारमा साझेदार भएको छ । केन्द्रमा सत्ता समीकरण बनेको डेढ महिनापछि गण्डकीमा एमाले सरकारमा पसेको हो । आज एमालेका चार मन्त्रीलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहभागी गराउनु भएको हो । थपिएका चार मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ खुवाउनु भएसँगै नवनियुक्त मन्त्रीहरूले पदभार समेत ग्रहण गर्नु भएको छ ।
एमालेबाट सरकारमा सामेल चारै जना नयाँ अनुहारका हुनुहुन्छ । जसमा नवलपुरकी पद्मा जिसी श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी, बागलुङका कृष्णप्रसाद पाठकले स्वास्थ्य, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको सपथ लिनु भएको हो ।
स्मरणीय छ, संघको सत्ता समीकरण हेरफेर भएर एमाले अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनु भएको हो । ओलीले साउन ६ गते संसदबाट विश्वासको मत समेत प्राप्त गर्नु भएको हो । तर गण्डकीमा कांग्रेस नेतृत्वको सरकारमा सत्ता बाहिरै रहेको एमाले मुख्यमन्त्री पाण्डेसँग रुष्ट बनेका कारण मन्त्रीमण्डलले पूर्णता पाउन ढिला हुँदै आएको थियो ।
सर्वोच्चको परमादेशबाट नेपालको संविधानको धारा १६८ को उपाधार (३) बमोजिम जेठ १६ गते पाण्डे मुख्यमन्त्री बन्नु भएको हो । त्यही दिन नेपाली कांग्रेसबाट डा. टकराज गुरुङलाई आर्थिक मामिला र विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री नियुक्त गर्नु भएको थियो । विन्दुले स्वास्थ्य मन्त्रालय फुटाएपछि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
मुख्यमन्त्री पाण्डेले जेठ २९ गते विश्वासको मत पाए लगत्तै नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री तथा स्वतन्त्र हुँ भन्ने राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनाउनु भएको थियो । आजको पुनर्गठनमा फणीन्द्रको जिम्मेवारी हेरफेर भएको छैन तर मनाङेलाई वन तथा वातावरण मन्त्रालयमा सारिएकोमा उहाँ असन्तुष्ट भई राजीनामा दिनु भएको हो ।
एमालेले देवकोटा र मनाङेलाई हटाउन निरन्तर दबाब दिइरहे पनि मुख्यमन्त्री पाण्डेले आफ्नो संकटपूर्ण स्थितिमा विश्वासको मत दिनु भएका सारथीलाई हटाउन चाहनु भएन ।
त्यसपछि गण्डकीमा ७ मन्त्रालय रहेकोमा फुटाएर ९ बनाएपछि एमालेलाई ४ मन्त्रालय दिएसँगै एमाले गण्डकी सत्तामा साझेदार बन्न पुगेको हो ।
प्रकाशित मिति २०८१ भाद्र १७, सोमबार २०:१६ गते