
लमजुङ । लमजुङको पूर्वी क्षेत्रको लेकमा पर्यटकीय प्रवद्र्धन गर्नका लागि जिल्लाको पूर्वीक्षेत्रमा रहेको दोर्दी गाउँपालिकाको मेमे पोखरी लेकमा धर्मशाला निर्माण गरिएको छ । दोर्दी गाउँपालिकाको पहलमा भेडी गोठमा आधारित पर्यटनको विकास गर्ने उद्देश्यले सो पोखरी निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
सो क्षेत्रमा पर्यटकीय आकर्षण बढाउन समुद्री सतहबाट ४ हजार ५ सय मिटर उचाईमा रहेको मेमे पोखरीमा धर्मशाला निर्माण गरिएको हो । गत आर्थिक वर्ष २०८०÷८१ मा ८ लाख रुपैयाँ बजेट विनियोजन गरी धर्मशाला निर्माण गरिएको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मेमेपोखरी नजिक बस्न मिल्ने गरी शौचालय, पानी धारासहितको धर्मशाला निर्माण गरिएको छ ।
लेकमा खासगरी भेडी गोठसँग पर्यटनलाई रमाउन सक्ने वातावरण बनाउनका लागि यो क्षेत्रमा त्यसप्रकारको पर्यटन विकास गर्न लागेको पालिका अध्यक्ष अधिकारीको भनाइ छ । उहाँका अनुसार सो धर्मशालामा सहजतापूर्वक ५० हजार र असहज स्थितिमा एकसय जनासम्मले गुजारा गर्न मिल्छ ।
विभिन्न वनमा चरेका भेडीको दूध, मोही, घिउ औषधीय गुणले युक्त मानिन्छ । यो क्षेत्रमा भेडीगोठमा आधारित पर्यटनको विस्तार गर्ने गाउँपालिकाको लक्ष्य छ अध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘धर्मशालन निमाण भएसँगै पर्यटकीयस्थल मेमे पोखरी अध्ययन अवलोकन, मनोरञ्जनका लागि जानेहरूको लागि सहज हुने छ ।’
मेमे पोखरीबाट उत्तरतर्फ हिमचुली हिमालसमेत देख्न सकिन्छ । त्यस्तै दक्षिणतर्फ विभिन्न टार टरेली तथा पूर्वपश्चिममा महाभारत शृंखलाका हरियाली दृश्यहरूको अवलोकन गर्न सकिने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार मेमे पोखरी धार्मिक र प्राकृतिक हिसावले पनि पर्यटकको आकर्षणको नयाँ गन्तव्य बन्ने सम्भावना बढी रहेको हुँदा धर्मशालाको निर्माण गरिएको हो ।
लमजुङको पूर्व उत्तरी क्षेत्रमा रहेको मेमे पोखरीमा वर्षको एकपटक जनैपूर्णिमाको अवसरमा परम्परागत रुपमा ठूलो मेला लाग्ने दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छा घलेले बताउनु भयो । उहाँका अनुसार स्वच्छ मनले मेमे पोखरीको यात्रा गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ । मेमे पोखरी दोर्दी गाउँपालिकाले विस्तार गर्न लागेका आधा दर्जन भित्रका पर्यटकीय गन्तव्य मध्ये एक हो ।
मेमेपोखरीमा पुग्न लमजुङको बेसीशहरबाट सो नगरपालिका– ११ को चिति हुँदै बराहपोखरी भएर ३ दिनमा पुग्न सकिन्छ । यस्तै, दोर्दी गाउँपालिकाको टापगाउँ, सिमीताँजे, नौथरक्षेत्रबाट पनि पैदल यात्राको सुविधा छ । साथै लमजुङको गोरखा सीमा जोडिएको दूधपोखरी गाउँपालिकाबाट मेमेपोखरीमा दुई दिनको पैदल यात्रामा पुग्न सकिन्छ ।
प्रकाशित मिति २०८१ भाद्र १९, बुधबार १०:४० गते