काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा नयाँ महामन्त्री र प्रवक्ताको खोजी सुरु भएको छ । पार्टी प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि रिक्ता स्थानपूर्तिका लागि सो दलमा ती पदका लागि उपयूक्त पत्रको खोजी सुरु भएको हो ।
हाल सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले कार्यवाहक महामन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ भने मनिष झाले कार्यवाहक प्रवक्ता भएर भूमिका निर्वाह गरिरहनु भएको छ । पार्टीले उहाँहरूलाई दुबैलाई नै पूर्ण जिम्मेवारी दिने वा नयाँ महामन्त्री र प्रवक्ता नियुक्त गर्ने बारेमा निर्णय गर्न बाँकी छ ।
उपसभापति डोलप्रसाद(डीपी) अर्यालले असोजको राष्ट्रिय भेलाभन्दा अघि महामन्त्री र प्रवक्तामा नयाँ जिम्मेवारी दिने कुनै तयारी पार्टीले नगरेको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको ध्यान राष्ट्रिय भेला र प्रदेशमा भेलामा छ, त्यसको तयारीमै पार्टी नेतृत्व व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘राष्ट्रिय भेला अघि नयाँ जिम्मेवारी तोकेर जाने कुनै तयारी छैन ।’
रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ । हालसम्म प्रदेशस्तरका चारवटा भेलाहरू सम्पन्न भइसकेका छन् ।
पार्टीमा कवीन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य तीन सहमहामन्त्रीहरू हुनुहुन्छ । उनीहरूमध्ये अहिले बुर्लाकोटी कार्यवाहक महामन्त्री भएर काम गरिरहेका हुन् । श्रेष्ठ र आचार्य पनि महामन्त्रीमा आकांक्षी देखिनु स्वभाविक भएको बताइन्छ । यसैगरी, पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा सांसद शिशिर खनालले पनि महामन्त्रीका रुपमा आफूलाई हेरेको बताइन्छ ।
प्रवक्ताका लागि कार्यवाहक प्रवक्ता झाको नै बढी आकांक्षा देखान्छ ।
पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र वुर्लाकोटीले यसबारेमा निर्णय गर्ने अधिकार विधानले सभापति लामिछानेलाई दिएको छ ।
त्यसो त आउँदो बैशाखमा महाधिवेशन हुने भएको हुँदा यो बीचमा ती पद कसैलाई सुम्पनु उपयुक्त नहुने मत पनि पार्टी भित्र रहेको बताइएको छ ।
यसअघि रास्वपाले पार्टी अनुशासन विपरीत काम गरेका कारण तत्कालीन पार्टी महामन्त्री र प्रवक्ता रहनु भएको मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।
रास्वपा मधेस प्रदेशको विस्तारित बैठक सर्लाहीमा सुरु :
यसैबीच, रास्वपाको मधेस प्रदेशको विस्तारित बैठक सर्लाहीको लालबन्दीमा सुरु भएको छ । विस्तारित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता एवं सांसद मनिष झा लगायतका नेताहरू सहभागी हुनुहुन्छ ।
विस्तारित बैठकमा प्रदेश समितिका पदाधिकारी र सदस्य, विभागका प्रमुख र सदस्य तथा जिल्ला संयोजक र सह संयोजकलगायत झन्डै ३ सय नेता कार्यकर्ता सहभागी रहेका छन् । बैठकमा सभापति लामिछानेले २०७९ को निर्वाचनका उम्मेदवारसँग पनि छुट्टै छलफल गर्ने कार्यक्रम रहेको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनु भयो ।
कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनीको नेपालगन्ज, कोशीको इटहरी, बागमतीको कीर्तिपुरमा प्रदेशस्तरीय बैठक समापन गरेर सो पार्टीले मधेस प्रदेशमा विस्तारित बैठक आयोजना गरेको हो । मधेसपछि सुदूरपश्चिम र गण्डकीमा एक साताभित्र बैठक गर्ने रास्वपाको तयारी छ ।
प्रकाशित मिति २०८१ भाद्र २०, बिहीबार १९:३५ गते