तीजको पावन अवसरमा मध्यनेपालका तीन स्थानमा तीज गीत प्रतियोगिता

तीजको पावन अवसरमा मध्यनेपालका तीन स्थानमा तीज गीत प्रतियोगिता

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ २२ गते शनिवार ०९:३८

वडानं– ४ मा लमजुङ उद्योग बाणिज्य संघ सोतीपसल दुईपिप्ले इकाईले, वडानं– ५ मा वडा समितिले र वडानं– ६ को भोर्लेटार इकाईले तीजको अवसरमा मुनु स्मृति खुला तीज प्रतियोगिता आयोजना गरेका हुन् ।

तीजको अवसरमा आयोजित ती प्रतियोगितामा पहिलो हुने टिमलाई समीभञ्ज्याङमा २५ हजार, दुईपिप्लेमा २० हजार र भोर्लेटारमा १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

दुईपिप्ले(लमजुङ)– नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीजको पावन अवसरमा मध्यनेपाल नगरपालिकाको तीन स्थानमा खुला तीज गीत प्रतियोगिता सम्पन्न भएका छन् । नगरपालिका– ४ को दुईपिप्ले वडानं ५ को समीभञ्ज्याङ र वडानं– ६ को भोर्लेटारमा भदौ २१ गते ती तीज गीत प्रतियोगिता सम्पन्न भएको हो ।
वडानं– ४ मा लमजुङ उद्योग बाणिज्य संघ सोतीपसल दुईपिप्ले इकाईले, वडानं– ५ मा वडा समितिले र वडानं– ६ भोर्लेटारमा लमजुङ उद्योग बाणिज्य संघ भोर्लेटार इकाईले तीजको अवसरमा मुनु स्मृति खुला तीज प्रतियोगिता आयोजना गरेका हुन् ।
दुईपिप्लेमा भएको कार्यक्रमको सोही नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले उदघाटन गर्नु भएको थियो । सो प्रतियोगितामा तनहुँ र कास्कीका समेत २३ टिमले भाग लिएका थिए । लमजुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विकाश श्रेष्ठको विशेष आतिथ्यता रहेको प्रतियोगितामा कुभिण्डे टोल सुधार आमा समूहका तारा श्रेष्ठको समूह पहिलो भएको थियो । यसैगरी, भैरवकाली माविका कक्षा– १० का छात्रा पशुपती थापाको नेतृत्वको टोली दोस्रो तथा सिर्जनशील आमा समूहका सुशीला विकको टोली र विपिचोक दिदी बहिनी आमा समूहका मीना श्रेष्ठको टोलीले तेस्रो स्थान हासिल गरेको प्रतियोगिताको निर्णायक समितिका संयोजक नवराज पराजुलीले बताउनु भयो ।
उहाँका अनुसार पहिलो, दोस्रो र तेस्रो समूहलाई पुरस्कार स्वरुप क्रमशः २० हजार, १० हजार र ५/५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । उहाँले भन्नुभयो, ‘सो प्रतियोगिताको पहिलो पुरस्कार भक्तपुर निवासी बलराम सयजुले, दोस्रो पुरस्कार सोही नगरपालिका– ४ निवासी नवराज गौतमले, तेस्रो पुरस्कार सोही वडाका सदस्य टिकाबहादुर पण्डित र सौगात एग्रोभेटका प्रोपाइटर रमेश भट्टराईले प्रायोजन गर्नु भएको आयोजक समितिका अध्यक्ष रमेशचन्द्र भट्टराईले बताउनु भयो ।
उहाँका अनुसार गीत तथा नृत्यमा विजयी हुनेहरूलाई सोही वडाका अध्यक्ष रामबहादुर श्रेष्ठ तथा कार्यक्रमका सभापती भट्टराईले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । सो अवसरमा इकाईका पूर्वअध्यक्ष मानकुमारी अचार्य, महिला प्रतिनिधि तारा श्रेष्ठले शुभकामना व्यक्त गर्नु भएको थियो ।
समीभञ्ज्याङमा पहिलो पुरस्कार २५ हजार :
यसैगरी, वडानं– ५ को समीभञ्ज्याङमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा १४ टिमले भाग लिएका थिए । सो प्रतियोगितामा पनि तनहुँ र कास्कीका समेत टोली सहभागी भएको आयोजकको भनाइ छ । सोही नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले उदघाटन गर्नु भएको सो प्रतियोगितामा मध्यनेपाल नगरपालिका – ७ का शिवशक्ति आमा समूहका पहिलो, सोही नगरपालिका– ५ को जुनकीरी आमा समूहका जालुमाया केसीको नेतृत्वको टोली दोस्रो, मध्यनेपाल नगरपालिका– ३ का जनकल्याण आमा समूहका शान्ता साँखीको नेतृत्वको टोली तेस्रो भएको थियो । यसैगरी, सान्त्वना स्थान हासिल गर्ने तीन समूहलाई पनि पुरस्कृत भएको आयोजक समितिका अध्यक्ष ओमवीर गुरुङले बताउनु भयो । उहाँका अनुसार सान्त्वना स्थान हासिल गर्ने समूहहरूमा शिवशक्ति दिदी बहिनी आमा समूह मध्यनेपाल– ७, दिव्यमाया कुमाल नेतृत्वको नमूना आमा समूह मध्यनेपाल– ४ र सोही वडाको माझी उत्थान संघका सरस्वती माझी नेतृत्वको टोली रहेका थिए ।
‘सो प्रतियोगितामा पहिलो हुने टिमलाई २५ हजार, दोस्रो हुने टिमलाई १५ हजार, तेस्रो हुने टिमलाई १० हजार र सान्त्वना स्थान हासिल गर्ने टिमलाई ३/३ हजार रुपैयाँका दरले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको आयोजक समितिका अध्यक्ष ओमवीर गुरुङले बताउनु भयो । उहाँका अनुसार सो पुरस्कार र प्रमाणपत्र नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, वडानं ७ का अध्यक्ष हिराबहादुर गुरुङले वितरण गर्नु भएको थियो ।
वडाध्यक्ष ओमबीर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा महिला व्यवसायी सरला श्रेष्ठले स्वागत गर्नु भएको थियो भने सञ्चालन सम्झना माविका शिक्षक नन्दमाया गुरुङले गर्नु भएको थियो ।
भोर्लेटारमा लमजुङ र कास्कीका नौवटा समूह सहभागी :
उता, वडानं– ६, भोर्लेटारमा लमजुङ उद्योग बाणिज्य संघ भोर्लेटार ईकाईको आयोजनामा भएको उक्त प्रतियोगिताको मुनु स्मृति प्रतिष्ठानका संयोजक मेघनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पौडेलले उदघाटन गर्नु भएको सो प्रतियोगितामा लमजुङ र कास्कीका गरी जम्मा नौवटा समूहले भाग लिएका थिए ।
उक्त प्रतियोगितामा मध्यनेपाल– ७, रामबजारको शिवशक्ती दिदी बहिनी ब्राम्हण समाज पहिलो भई नगद १५ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्यो । मध्यनेपाल– ६ रानीपानीको नारायणी आमा समूहले दोस्रो स्थान हासिल गरी नगद १० हजार रुपैयाँ सहित प्रमाण पत्र पाएको आयोजक समितिका अध्यक्ष सरोज पौडेलले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा राधाकृष्ण आमा समूह लामासोती तेश्रो तथा कास्कीको स्यास्त्री समूहले सान्त्वना स्थान हासिल गरे । ती समुहलाई क्रमशः नगद ६ हजार रुपैयाँ र तीन हजार रुपैयाँका साथमा प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट शव्द रचनातर्फ लमजुङ पानी आमा समूह पुरस्कृत भएको छ भने उत्कृष्ट भेष भुषामा भगवती आमा समूह पुरस्कृत भएको छ । त्यस्तै, उत्कृष्ट नृत्यमा कुशुमाकर मावि पुरस्कृत भएको छ । ती तीन वटै समूहले पुरस्कार स्वरुप एक÷एक हजार पाँचसय रुपैयाका दरले नगद र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिताका विजेता कलाकारहरूलाई अयोजक समितिका अध्यक्ष सरोज पौडेल तथा कार्यक्रमका प्रमुख अतिथि मेघनाथ पौडेलले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
प्रतियोगितासँगै कार्यक्रममा समसामयिक विषयमा अप्रतियोगी तीज गीतहरू पनि गाइएको थियो भने लोकगायिका तथा ठाडोभाका गायिका सावित्री शाही ठकुरीको विशेष प्रस्तुति रहेको थियो । त्यस्तै, कास्कीको रुपा गाउँपालिका– १ स्थित फल्याङकोट नेवाः खलको लाखे नाच समेत प्रस्तुत गरिएको थियो ।
मध्यनेपाल नगरपालिकाको व्यवस्थापनमा भएको सो प्रतियोगिता आयोजक लउवासंघ भोर्लेटार इकाईका अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा भएको थियो भने सोही ईकाईका सदस्य सुशील अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
तीन वटै स्थानमा राखिएको प्रतियोगिताका सहभागीहरूले राजनीतिमा निरासा, राज्य उदासिन भएको, केही हप्ता अघि भएका ठूला बस दुर्घटना र प्लोन दुर्घटना, खेतबारी बाँझा राखेर विदेशीने प्रवृत्तीलगायतका समसामयिक घट्नाक्रमलाई गीत मार्फत प्रस्तुत गरेको प्रत्यक्षदर्शीहरूले बताए ।

प्रकाशित मिति २०८१ भाद्र २२, शनिबार ०९:३८ गते
हजुरको प्रतिक्रिया