बेसीशहर– नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा लमजुङको कार्यालय भवन शिलन्यास भएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले भदौ २१ गते शिलन्यास गर्नुभएको हो ।
बेसिशहर–८ को दनाई फाँटमा उक्त भवन निर्माण गर्न लागिएको हो । मन्त्री गुरुङले शिलन्यास मन्तव्यमा रेडक्रस जस्तो मानवीय सेवामा सक्रिय सस्ँथाको आफ्नै भवन हुन आवश्यक रहेको औंल्याउनु भयो । उहाँले रेडक्रसका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट अपेक्षित बजेट विनियोजन गर्न नसकेको भन्दै मन्त्री गुरुङले सम्भव भएसम्म चालु आर्थिक वर्ष वा अर्को आर्थिक वर्षमा भएपनि यथाशक्य बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भवन निर्माणका लागि व्यवस्थापन भएको जुन श्रोत साधनको छ त्यसले मात्रै लक्ष्य अनुरुपको उपलब्धी हासिल गर्न कठिन हुने भन्दै त्यसका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भवन निर्माणको लागि हालसम्म प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच लाख रुपैया बजेट विनियोजन गरेको छ । भवन निर्माणका लागि आवश्यक अन्य रकम जुटाउन अभियान सञ्चालन भएको रेडक्रस शाखा कार्यालय प्रमुख श्रीकान्त घिमिरेले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि रकम अभाव नभएमा दुई वर्ष भित्र निर्माण सक्ने लक्ष्य छ । चार तलाको हुने उक्त भवनको निर्माण लागत दुइ करोड लाग्ने जिल्ला शाखाले जनाएको छ । निर्माण हुने भवनको चारतला मध्य तलका दुइतला व्यवसायिक प्रयोजनका लागि भाडामा दिने तेस्रो तलामा कार्यालय र स्टोर आदि सञ्चालन गर्ने तथा अन्तिम तलामा हल निर्माण गरिने रेडक्रसको लक्ष्य छ ।
रेडक्रस जिल्ला शाखाले चालु आर्थिक वर्षमा मात्रै पनि समावेसी उत्थानशील समाजका लागि सशक्तिकरण कार्यक्रम र नेपाल रेडक्रस सोसाईटी तथा डेनिस युवा नेतृत्व आदान प्रदान कार्यक्रम अन्तर्गत गतिविधी सञ्चालन गरिरहेको रेडक्रस जिल्ला शाखा कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले समावेशी उत्थानशील समाजका लागि सशक्तिकरण कार्यक्रम अन्तर्गत दुधपोखरी गाउँपालिका अन्तर्गत स्थानीय लक्षित समुदायलाई नेतृत्व विकास तालिम एवम् व्यवसायिक उद्यमशीलताका लागि सहयोग कार्यक्रम सञ्चालन गरेको छ । त्यसैगरी युवा नेतृत्व आदान प्रदान कार्यक्रम अन्तर्गत सामाजिक आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित जिल्लाका नौवटा विद्यालय र समुदायमा विभिन्न गतिविधी सञ्चालन गरेको गौलीको भनाइ छ ।
२०२६ सालमा तदर्थ समिति गठन गरी जिल्लामा शुरु भएको रेडक्रस अभियानले ५४ बसन्त पार गरिसकेको छ । रेडक्रसले जिल्लामा विपद व्यवस्थापन, प्राथमिक उपचार, रक्तदान सेवा, एम्वुलेन्स सेवा सहित विपन्न नागरिकहरूका बीचमा समावेशी उत्थानशील एवम् सशक्तिकरण सम्वन्धी विभिन्न गतिविधी सञ्चालन गर्दै आएको छ ।
रेडक्रस सोसाईटी जिल्ला शाखा सभापती ऋषिराम घिमिरेको अध्यक्षतामा भएको थियो भने सो अवसरमा रेडक्रस सोसाईटी गण्डकी प्रदेश समिति कोषाध्यक्ष नारायणप्रसाद घिमीरे, शाखाका पूर्वसभापती दिपकराज बराल लगायत शाखा पदाधिकारी सहित शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस जिल्ला शाखाको भवन निर्माणका लागि स्थानीय मधुविलास अधिकारीले ११ लाख मुल्य बरावरको एक आना जग्गा रेडक्रसलाई प्रदान गर्नु भएको थियो । साथै रेडक्रसले सोही स्थानमा उहाँको थप चार आना जग्गा खरिद गरी पाँच आना जग्गामा भवन निर्माणको प्रक्रिया अघि बढाएको हो ।
प्रकाशित मिति २०८१ भाद्र २३, आईतवार २२:३८ गते